- नवसाहित्य

संप्रस पौडेल
समाचार प्रमुखः नवसाहित्य
मङ्सिर १७, सोमबार । कथाकार विष्णु पादुकाले ‘माग्युद् खोना’ कथाका लागि प्रथम पुरस्कार प्राप्त गर्नु भएको छ । बाह्रखरी मिडियाले गरेको कथा प्रतियोगिताको छैटौँ संस्करणमा रु. १ लाख पुरस्कार राशिसहित पादुका विजेता हुनु भएको हो ।
आइतबार काठमाडौँमा आयोजित कार्यक्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले विजेता पादुकालाई पुरस्कार र ट्रफी प्रदान गर्नुभयो । प्रतियोगितामा प्रमेय भण्डारीको कथा ‘कृत्रिम सपना’ द्वितीय र विवेक धिमालको कथा ‘मैले देखेको विद्यालय’ ले तृतीय पुरस्कार प्राप्त गरेको छ । द्वितीय र तृतीय पुरस्कार राशि क्रमशः नगद रु ६० हजार र ४० हजार रहेको थियो ।
पुरस्कार वितरण कार्यक्रममा नेपालसहित विश्वका विभिन्न देशबाट प्राप्त ९ सय ३७ कथाहरूमध्ये उत्कृष्ट २५ कथा समावेश भएको ‘बाह्रखरी उत्कृष्ट कथा–२०८१’ पुस्तकको लोकार्पण समेत गरियो ।
प्रतियोगिताका उत्कृष्ट २५ कथाकारहरूमा क्रमशः अनिता पन्थी, अप्सना चौलागाईं, चेतनाथ आचार्य, जीतबहादुर कटुवाल, तोयम्, दीक्षित केसी, दुर्गा ढेंगा, देवेन्द्र खापुङ, ध्रुव अधिकारी, प्रमेय भण्डारी, भागवत खनाल, भूमिका थारू, मधुर भट्टराई, महेन्द्र महक, मिरमा, रमेशजङ्ग थापा, राधिका कल्पित, ललिता दोषी, विमला तिवारी, विवेक धिमाल, विष्णु पादुका, सपना अधिकारी, सुदीप चापागाईं, हर्कबहादुर लामगादे ‘रोहित’ र डा हिमलाल श्रेष्ठ समावेश हुनु भएको छ ।
फाइनप्रिन्टले बजारमा ल्याएको ‘बाह्रखरी उत्कृष्ट कथा–२०८१’ कथा सङ्ग्रहको सम्पादन आख्यानकार नयनराज पाण्डेले गर्नु भएको हो । छनोटअघि १२खरी मिडियाले कथा चयनका लागि आन्तरिक र बाह्य गरी दुई मूल्याङ्कन समिति गठन गरेको थियो । बाह्य निर्णायकहरूमा प्रा. डा. ज्ञानु पाण्डे संयोजक र साहित्यकार डा गीता त्रिपाठी र धीरेन्द्र प्रेमर्षि सदस्य रहनु भएको थियो ।
०००
प्रथम पुरस्कार प्राप्त कथा ‘माग्युद् खोना’ पढेपछि लेखक अनिता कोइराला लेख्नुहुन्छः
अहो! बिष्णु पादुकाले आज उज्यालो पारे सबै शिक्षक मौकाको फाइदा उठाउँदैन्न । समय फेरिनु पर्छ । गलत सामाजिक मूल्यमान्यता परिवर्तन हुनै पर्छ । नारीहरू हजुरआमाको पालादेखि नातिनीहरूको पालासम्म पनि उस्तै जीवन भोग्ने ? कथाकी पात्र यसरी बोल्छिन्,
“बीउ रोपेर हराउने मान्छेलाई के किसान भनिन्छ र सार् ?”
शान्तिको माला जप्ने भिक्षुदेखि ज्ञानको प्रकाश फैल्याउने गुरुसम्म बिउ रोपेर हराएका छ्न् हिमाली काखमा । किन लिप्त छ्न् बौद्धिकहरू विवश नारी देहको भोगमा ।
ज्ञान र विवेक आखिर किन चाहियो मान्छेलाई ? कुकुर समान छ चेतना । जुन समाजमा नहुनु पर्ने कार्य हुँदै आएको छ । परम्परा र प्रथाको नाममा आक्रान्त रोदन छ आमाले थामेको वंशमा ।
जहाँ गलत कार्य भइरहेछ त्यो थाहा हुँदा हुँदै किन चेतना गुमाउँछन् सचेतहरू ? किन अरूको विवशतामा मौका छोप्छन् राष्ट्र सेवकहरू ?
केही प्रश्न उठेको थियो ।
पढेलेखेका शिक्षित वर्गहरू किन यति अतृप्त भएका । हिमाली समाजमा महिलाहरू स्वतन्त्र छ्न् । यो समाजमा यो सबै सामान्य हो भन्ने किन लाग्छ सुकिला मान्छेलाई ? सुकिला मान्छेका फोहोरी चाहनाले कति दुखेको हुन्छ होला मातृ हृदय किन सोच्दैनन् ?
पिताविहीन सन्तान हुर्किँदैछ्न् हिमाली काखमा । यस्तै परम्परामा गर्व गर्ने हामीले मातृसत्ता छ हिमालमा भनेर ?