अर्जुन पराजुली हास्यव्यङ्ग्य क्षेत्रका उम्दा कवि हुनुहुन्छ । २०२० साउन ५ गते काभ्रेपलाञ्चोकको ज्याम्दीमा जन्मिनुभएका सिस्नुपानी नेपालका संस्थापकमध्ये एक उहाँ हाल सिस्नुपानी नेपालको उपाध्यक्ष हुनुहुन्छ । चरम गरिबीको बाल्यकालबाट गुज्रिएका पराजुली व्यङ्ग्य कविताकै कारण दुई पटक गरी करिब २ महिनाजति जेल पनि पर्नुभयो ।
हुन त ‘भाइरल’ शब्दलाई अर्थ्याउँदा एक्कासि चर्चामा आउने र बेपत्ता हुने भन्नेसँग जोडेर हेरिन्छ । चालिसौँ वर्षदेखि हास्यव्यङ्ग्य क्षेत्रमा कलम चलाइरहनु भएका उहाँ सोही समयदेखि नै अर्थात् जहिल्यै ‘भाइरल’ हुनुहुन्छ । आजकल फेसबुकमार्फत् डायरीका पानामा लेखिएका डिको नभएका अक्षर लेख्ने कवि भनेर पनि चिनिनुभएका उहाँ समसामयिक मुद्दामा कलम चलाउनुहुन्छ । उहाँका सिर्जना हेर्दा भन्न सकिन्छ- उहाँको कलम भजन गाउनका लागि होइन अन्याय र अत्याचारविरुद्धमा प्रयोग हुने गरेको पाइन्छ ।
शिशिर योगीको गायनमा बा, आमा, किसान जस्ता मार्मिक गीतहरू लेख्नुभएका कवि पराजुली हँसाउन मात्रै होइन, रुवाउन पनि सक्नुहुन्छ ।
अपसंस्कृति, विकृति, आडम्बरप्रति उपहासपूर्ण रचना गर्ने उहाँले प्रतिगमनविरुद्ध २०६२/६३ को जनआन्दोलनमा लेख्नुभएको बेजोडको कविताको शक्तिले थप टेवा पुगेको घटना पनि ताजै छ । यति मात्रै नभई सो आन्दोलनमा काठमाडौँमा ७ दलले सहभागीहरू जम्मा गर्न नसकेको अवस्थामा उहाँलगायतको नागरिक समाजले यसमा ठुलो टेवा पुर्याएको थियो । जनताको प्रत्यक्ष चासोलाई लिएर सिर्जना गर्ने पराजुलीका रचना पढ्दैगर्दा लाग्छ- अब लेखिने कुनै विषय नै बाँकी छैन । उहाँका आधा दर्जन कविताहरू यहाँ समावेश गरिएका छन् ।
कविता १ : नागरिकता सम्बन्धमा
मरेतुल्य छ ऊ
जसको नागरिकता छैन
जसको नागरिकता छ
भन्छ ऊ- ‘नागरिकता दिनुहुँदैन ।’
त्यही हो मेरो देश ।
कविता २ : राष्ट्रवादी नेता सम्बन्धमा
जो खेती गर्दैन ऊ किसानको नेता !
जो मजदुरी गर्दैन
ऊ मजदुरको नेता !
जो पढाउँदैन
ऊ प्राध्यापकको नेता !
जो पढ्दैन
ऊ विद्यार्थीको नेता !
जो सबैभन्दा बुढो छ
ऊ युवाको नेता !
जो कुराबाहेक केही गर्दैन
ऊ कम्युनिस्ट नेता !
जुन महिलामा-
लिङ्गबाहेक सबै पुरुषको छ
ऊ महिला नेता !
र
जुन नेताको छातीमा
देशबाहेक सबैकुरा छ
ऊ राष्ट्रवादी नेता !!
कविता ३ : अन्तभक्त सम्बन्धमा
उता, बुद्धले
भक्तलाई जिन्दगीभरि
‘भगवान’ भन्ने हुँदैन भनेर सुनाए !
यता, भक्तले
बुद्धलाई नै तानेर भगवान् बनाए !!
कविता ४ : खेलकुद र देश सम्बन्धमा
अरूको खेल हेरेर त
मज्जा पो लिने हो महोदय !
टेन्सन लिन त
आफ्नै देश हेरे भइहाल्यो नि !!
कविता ५ : चुनाव र नेता सम्बन्धमा
गोरूले गधालाई सोध्यो-
भाइ, चुनाव त जितिछस्
तर मान्छेले
तँलाई मत कसरी दिए नि ?
गधाले भन्यो-
चुनाव जित्नुअघि त म पनि मान्छे नै थिएँ नि !
कविता ६: उखु किसानको आन्दोलनका सन्दर्भमा
विश्वको एउटा यस्तो पनि ठाउँ छ
जहाँको उखु पेल्दा- रस आउँदैन, आँसु आउँछ ।
