चैत्र २, हेटौँडा । गजल मञ्च मकवानपुरले २२२औँ गजल यात्रा सम्पन्न गरेको छ । गजल वाचनमा राजकुमार चौधरी, मसान उपासक, डीबी बर्तौला, चिरञ्जीवि लामिछाने, सानु खनाल, यश लामा र देवराज तिवारी सहभागी हुनुभयो ।
कवि गजलकार यश लामाले मञ्चका अध्यक्ष केशव सुवेदी समर्पणसहितका देशभरिका १० गजलकारका २०० गजल सङ्ग्रहित प्रतिनिधिमूलक गजलहरू सबैले पढ्नुपर्ने बताउनुभयो ।
विशिष्ट अथिति निमेष निखिल रहनुभएको कार्यक्रममा प्रमुख अतिथि तुलसी घिमिरेले संयुक्त सङ्ग्रहमार्फत् साहित्य लेखन र पुस्तक प्रकाशनमा जोड गर्न सल्लाह दिँदै अतिथि मुक्तिगोविन्द वैद्यलाई सम्बोधनसहित ‘डिलमा परेको उमेरमाथि लेखिएको’ भन्दै गजल गायन गर्नुभयो ।
नवसर्जक तथा विद्यालयकेन्द्रित गजल सिर्जनाका विविध कार्यक्रम, महोत्सव, बहस-विमर्श, विमोचन, वाचनलगायतका क्रियाकलापहरू गरिरहेको मञ्चले आउँदो कार्यकालका लागि नयाँ नेतृत्वलाई जिम्मेवारी हस्तान्तरण गर्नेगरी तयारी गरिरहेको बताउँदै सचिव हरि पौड्यालले आफ्नो गजल गायन गर्नुभयो ।
गजल मञ्चले नियमित वाचन कार्यक्रमलाई परिमार्जन गर्दै बहस अनि समीक्षालाई नियमित गर्नुपर्ने बताउँदै अध्यक्ष समर्पणले आफ्ना २ गजलहरू सुनाउनुभयो । साहित्य सङ्गम/सिस्नुपानी नेपालको संयुक्त हलमा सञ्चालित कार्यक्रमलाई सचिव हरि पौड्यालले सहजीकरण गर्नुभएको हो ।
