५ बैशाख, शनिबार ।
हेटौँडा उपमहानगरपालिका वडा नम्बर १० मा रहेको साहित्यकार पारिजातको प्रतिमामा माल्यार्पणका साथै उहाँद्वारा लिखित तथा उपस्थित रचनाकारहरूको रचना वाचन गरी पारिजात स्मृति दिवस मनाइयो।
साहित्य सङ्गम मकवानपुरका अध्यक्ष डीबी बर्तौलाको अध्यक्षता तथा १० नम्बर वडाका अध्यक्ष फुर्वा दोर्जे लामाको प्रमुख आतिथ्यमा सो कार्यक्रम साहित्य सङ्गम मकवानपुर र आदर्श टोल विकास संस्थाको संयुक्त आयोजनामा सञ्चालन गरिएको हो।
आदर्श टोल विकास संस्थाका सचिव नमराज न्यौपानेले स्वागत गर्नुभएको कार्यक्रममा साहित्यकार देवराज तिवारीले पारिजातको व्यक्तित्व बारे बोल्नुभयो ।
वडा अध्यक्ष लामाले बसपार्क क्षेत्रमा स्थापना हुँदै गरेको घण्टाघर मा पारिजात स्मृति कक्ष रहने र पारिजातसँग सम्बन्धित विभिन्न पुस्तकका साथै खोजमूलक सामग्रीहरू आदि अध्ययन गर्न सकिने बताउनुभयो ।
कार्यक्रममा साहित्यकारहरू देवराज तिवारी, पुरुषोत्तम आचार्य र संप्रस पौडेलले कविता वाचन गर्नुभएको थियो ।
कार्यक्रममा साहित्य सङ्गम मकवानपुरका सल्लाहकारहरू, सदस्यहरु, साहित्यकारहरू र सरोकारवालाहरूको उपस्थिति रहेको थियो भने कार्यक्रमलाई साहित्य सङ्गम मकवानपुरका सदस्य रजनी पौडेलले सहजीकरण गर्नुभएको हो ।
