नवसाहित्य डटकम

कवि/गजलकार/मुक्तककार/नियात्राकार

१४ जेठ । नवसाहित्य अनलाइन । जीवा लामिछानेको तेस्रो कृति ‘अक्षत अन्टार्कटिका’ लाई उत्तम शान्ति पुरस्कार प्रदान गरिने घोषणा भएको छ । उत्तम कुँवर स्मारक पुरस्कार गुठीले २०८१ सालको सो पुरस्कार लामिछानेको नियात्राकृतिका लागि प्रदान गरेको हो ।

१ लाख १ रुपैयाँ राशिको सो पुरस्कार लेखक स्वयम्‌ले सन् २०२४ जनवरी १३ देखि २४ सम्मको अन्टार्कटिका यात्राका अनुभवहरू उल्लेख गरिएको लामिछानेको तेस्रो पुस्तकका लागि प्रदान गरिएको हो ।

यस पुस्तकले अन्टार्कटिकाको दृश्य–चित्र प्रस्तुत गर्दै पृथ्वीको भविष्यबारे चिन्ता व्यक्त गरेको छ । हिउँको साम्राज्य मात्र नभई अन्टार्कटिका मानव सभ्यताको रक्षा कवच समेत बनिरहेको कुरा उल्लेख भएको यस पुस्तकलाई जलवायु परिवर्तनको असरको खोजीका रूपमा सन्दर्भ पुस्तकका रूपमा प्रयोग गर्न सकिने चर्चा हुने गरेको छ । अन्टार्कटिकाको सौन्दर्य, अनुसन्धान र वातावरणीय सन्देश दिइएको पुस्तकमा उहाँले अन्टार्कटिकाको भ्रमण दोहोर्‍याएर नगर्ने उल्लेख गर्नुभएको छ । संसारका १ सय ३० भन्दा बढी देशको भ्रमण गरिसक्नु भएका उहाँका यसअघि ‘सरसर्ती संसार’ र ‘देश देशावर’ नियात्रासङ्ग्रह प्रकाशित छन् ।

लामिछानेको ‘अक्षत अन्टार्कटिका’ फाइनप्रिन्टले बजारमा ल्याएको हो भने २०८१ चैत्रमा सो पुस्तकको लोकार्पण गरिएको थियो ।
०००
पाठक प्रतिक्रियाहरूः
जर्मनी निवासी डा. यज्ञ अधिकारीले “अक्षत अन्टार्कटिका” को पाण्डुलिपि पढेर दिनु भएको सुझाव ।
(लेखक लामिछानेको सामाजिक सञ्जालबाट)
“ज्ञानको विशाल सागरमा अक्षत अन्टार्कटिका को दिगो इँटा”
“यात्रा केवल गन्तव्यसम्म पुग्ने बाटो होइन, यो आफैँमा एउटा ज्ञानको पाठशाला हो, जहाँ प्रत्येक पाइलाले नयाँ क्षितिज उघार्छ।”
जीव लामिछानेज्यूका अघिल्ला कृतिहरू ‘सर्सर्ती संसार’ र ‘देश देशावर’ का पाण्डुलिपिहरूमा ससाना त्रुटिहरू औँल्याउँदै राम्रो सुझाव दिन पाउँदा उहाँले मलाई विश्वास गर्नुभयो र अक्षत अन्टार्कटिकाको पाण्डुलिपि हात पार्ने अवसर दिनुभयो । यसका लागि सर्वप्रथम, म हृदयदेखि नै धेरैधेरै धन्यवाद व्यक्त गर्दछु, किनकि यो अवसरले मलाई एउटा उत्कृष्ट साहित्यिक यात्राको साक्षी बन्ने सौभाग्य मिल्यो ।
पाण्डुलिपि प्राप्त भएपछि मैले यसलाई राम्रोसँग बुझेर पढ्ने प्रयास गरेँ । मेरो उद्देश्य पाठकहरूले अझ राम्रो अनुभव गर्न सकुन् भन्ने थियो, त्यसैले मनमा लागेका सुझावहरू इमानदारीपूर्वक राखें । आज आएर जब यो प्रकाशन भयो र मैले यसलाई पुनः पढेँ, तब मनमा एक प्रकारको सन्तोषको अनुभूति भयो, किनकि मेरा सुझावहरूलाई उचित स्थान दिइएको पाएँ । सामाजिक सञ्जालमा यस पुस्तकको बारेमा धेरै चर्चा भइसकेको र अधिकांश पाठकहरूले यसलाई उत्कृष्ट घोषणा गरिसकेको अवस्थामा, पाण्डुलिपि पढ्ने एक पाठकका रूपमा म यसको समीक्षा अलि फरक तरिकाले गर्न चाहन्छु ।
१. नेपाली साहित्यमा ‘अन्तरविषयक यात्रा संस्मरण’ को एक अग्रणी कृति:
सामान्यतया यात्रा संस्मरणलाई एउटा निश्चित भूगोल र त्यसको यात्रा विवरणमा सीमित मानिन्छ, तर ‘ अक्षत अन्टार्कटिकाले यस परम्परालाई तोडेको छ । यो केवल एउटा यात्रा विवरण मात्र नभएर, बहुआयामिक ज्ञानको सङ्गम हो । यसले यात्रा, इतिहास, जैविक विविधता (biodiversity), पारिस्थितिक विज्ञान (ecology), जलवायु परिवर्तन (climate change), प्रकृति संरक्षण (nature protection), प्रविधि (technology) जस्ता अनेकौँ आयामहरूलाई समेटेको छ । यस अर्थमा, नेपाली साहित्यमा ‘अन्तरविषयक यात्रा संस्मरण’ (interdisciplinary travelogue) को यो एउटा अग्रणी कृति हो भन्न म रुचाउँछु । लेखकले भौगोलिक यात्रालाई ज्ञानका विभिन्न विधासँग जोडेर पाठकलाई एउटै पुस्तकमा अनेकौँ जानकारी दिने जुन प्रयास गर्नुभएको छ, त्यो आफैँमा सराहनीय छ।
२. व्यक्तिगत आत्मीयता र विशेषज्ञताको प्रतिबिम्ब:
मेरो आफ्नै विशेषज्ञता प्रकृति, वातावरण र वन्यजन्तु संरक्षणका क्षेत्रमा भएकाले अक्षत अन्टार्कटिका मेरालागि विशेष पुस्तक बन्न पुग्यो । यसमा मैले आफ्ना मनमा लागेका कुराहरू र मैले अनुरोध गरेका केही शब्दहरू समेत पाएँ, जसले पुस्तकसँग मेरो व्यक्तिगत आत्मीयता थप बढायो । वातावरण, जैविक विविधता र संरक्षणका विषयमा लेखकको गहिरो रुचि र त्यसलाई यात्रा संस्मरणमा सहजै मिसाउने क्षमताले मलाई विशेष रूपमा प्रभावित बनायो ।
३. पाठकलाई घटनास्थलमै पुर्याउने जीवन्त लेखनशैली:
जीवजीको लेखनको सबैभन्दा बलियो पक्ष नै पाठकलाई यात्रामा आफू नै पुगेको अनुभूति गराउनु हो । अन्टार्कटिकाको शून्य तापक्रम, विशाल हिउँका पहाडहरू, पेन्गुइन र सिलहरूको जीवनशैली, त्यहाँको मौनता र विशालता- यी सबैलाई उहाँले यति सजीव रूपमा प्रस्तुत गर्नुभएको छ कि शब्दहरूले नै चित्र कोरिदिन्छन् । पाठकले किताब पढिरहँदा आफू अन्टार्कटिकाको चिसो हावा महसुस गरिरहेको, पेन्गुइनको चाल नियालिरहेको वा हिउँले ढाकिएको विशाल दृश्यमा हराइरहेको अनुभव गर्छन् । यो आफैँमा एउटा शक्तिशाली लेखनको उदाहरण हो ।
४. ‘दिगोपन’ (Sustainability) को अवधारणामा आधारित नवीन कृति:
पुस्तकको अर्को महत्त्वपूर्ण पक्ष यसको ‘दिगोपन’ (sustainability) को अवधारणालाई समेट्नु हो । यसले केवल वातावरणीय पक्षमा मात्र ध्यान दिएको छैन, बरु:
क. संरक्षण, प्रकृति, पारिस्थितिक प्रणाली, वनस्पति तथा जीवजन्तु (flora and fauna) र जलवायु परिवर्तनका विषयमा गहन जानकारी प्रदान गरेको छ ।
ख. यात्रा र वातावरणको सामाजिक पक्ष, मानव क्रियाकलापले प्रकृतिमा पार्ने प्रभावका कुराहरूलाई पनि कुशलतापूर्वक समावेश गरेको छ ।
ग. र, यस यात्रासँग जोडिएका आर्थिक पक्षहरूलाई पनि छोटो तर सारगर्भित रूपमा समेटेको छ ।
यसरी, अक्षत अन्टार्कटिकाले नेपाली साहित्यमा एक नयाँ क्षितिजबाट ‘दिगो विकासको इँटा’ (sustainable brick) थपेको मैले अनुभव गरेको छु । यो पुस्तक केवल मनोरञ्जनका लागि मात्र नभई, पाठकलाई सचेत गराउने, ज्ञान दिने र पृथ्वीको भविष्यबारे सोच्न बाध्य पार्ने एक सशक्त माध्यम बनेको छ ।
अन्त्यमा,
समग्रमा, ‘ अक्षत अन्टार्कटिका’ केवल एक यात्रा संस्मरण नभएर, नेपाली साहित्यमा ज्ञान, विज्ञान र चेतनाको बहुआयामिक संगम प्रस्तुत गर्ने एक अद्वितीय, दूरदर्शी र प्रेरणादायी कृति हो । यस उत्कृष्ट र नवीन सिर्जनाका लागि आदरणीय जीव लामिछानेज्यूलाई हार्दिक बधाई तथा आगामी दिनहरूमा यस्ता थप सिर्जनात्मक एवं महत्वपूर्ण कृतिहरूको अपेक्षा गर्दछु ।
नेपाली साहित्यमा यस्तो महत्वपूर्ण, नवीनतम र बहुआयामिक कृतिको पाण्डुलिपि सर्वप्रथम पढ्ने सौभाग्य र विश्वास प्रदान गर्नुभएकोमा लेखक आदरणीय जीव लामिछानेज्यूप्रति म हार्दिक कृतज्ञता र असीम आभार व्यक्त गर्दछु । यो मेरो लागि केवल एक पठन मात्र नभएर, ज्ञान, अनुभूति र सिर्जनात्मकताको यात्रासँग प्रत्यक्ष जोडिने एक ऐतिहासिक अवसर रह्यो ।
साहित्यको शुभचिन्तक,
डा.यज्ञ अधिकारी, जर्मनी
०००
केही समय अगाडि फेसबुकमा एउटा विज्ञापन देखेँ Nepalibooks UK को, कि नेपालबाट केही नयाँ किताब आएका छन् पढ्न चाहनु हुनेहरूले सम्पर्क गर्नु होला भनेर ।
किताबका लिस्ट हेरेँ । एउटा किताबमा आँखा गाडिए । दुई चार हफ्तादेखि फेसबुक लगायतका सामाजिक सञ्जालमा निकै चर्चित किताब थियो त्यो । मलाई पनि पढ्न मन लाग्यो र मगाएँ । मगाएको ३ दिन पछि हुलाकबाट किताब मेरा हात र बैकबाट पैसा मलाई किताब पठाउनेका हात लाग्यो । जे होस् काम फटाफट हाताहात भयो । किताब थियो जीवा लामिछानेको अक्षत अन्टार्कटिका ।
किताब त पाएँ तर किताब मोडेको प्लास्टिक पनि खोल्न भ्याएको थिएन व्यस्तताले । गएको सप्ताहान्तमा अब त पढ्छु भनेर किताबको घुम्टो उघारेँ ।
अन्टार्कटिका यसै पनि रहस्यको भूमि । अझै पनि धेरै खोजी हुन बाँकी रहेको पृथ्वीको एक मात्र बाहिरी सतह केही वृत्तचित्र, केही अन्टार्कटिकालाई नै विषय बनाएर देखाईएका विभिन्न व्यक्तिका भ्रमण अनुभव आदि पनि युट्युबमा हेरेर धेरै/थोरै जानकारी राखेकै थिएँ अन्टार्कटिकाको बारेमा । म पनि विज्ञानको विद्यार्थी र त्यसमाथि भूगर्भ नै विषय भएकोले पृथ्वीको उत्पत्ति देखि प्लेट टेक्टोनिक्स सम्म सामान्य किताबी ज्ञान त थियो नै तर पनि आँखाले देखे जस्तो त कहाँ हुनु र ।
जब पढ्न थालेँ, पढ्दै गएँ, छोड्न मन लागेन । लाग्यो स्वान हेलेनिक भेगाको छैटौँ डेकको कोठा नं ६०३ मा जीवा लामिछाने होइन म छु घनश्याम दाइसँग । अथवा टोली नेता ब्रान्डनको यात्रामा के गर्न हुने के नहुने भन्ने ब्रिफिङ पनि मै सुन्दैछु अथवा पुनितको टिमले बनाएको मिष्टान्न परिकार मेरै मुखले स्वाद लिँदैछ अथवा ड्रेक प्यासेसको कहाली लाग्दो यात्रमा म आत्तिदैछु अथवा त्यस कहाली लाग्दो यात्रा पछि एलिजावेथ र रुनीलाई उनिहरूको परिवारसँग सम्पर्क गराउने सहयोगी हात पनि मेरै हुन् अथवा ब्रान्डनको अनुमति पाएपछि म नै ध्रुवीय डुबुल्की लगाउँदैछु अथवा रोबर्ड प्वाइन्टमा बसेर एलिफेन्ट सिल र हजारौँ पेन्गुइनको अद्भुत दृश्यावलोकन पनि मेरै आँखाले गर्दैछन् अथवा हुलाकबाट परिवारलाई चिठी पनि म नै पठाउँदैछु र घर फर्केपछि आफ्नै पोस्टबक्सबाट त्यो चिठी म नै निकाल्दै छु ।
साँच्चै रोमाञ्चक यात्रा गराए जीवाले आफूसँगै । अझ त्यसमाथि यो नियात्रा कृति मात्र नियात्रा नभएर अन्टार्कटिकाको इतिहास पनि बोकेर आएको रहेछ । कुन समयमा कुन देशको कुन मान्छेले कसरी यात्रा गरे, कस्तो यात्रा गरे, कस्ता दु: ख पाए, कुन ठाउँको नाम कसले कसरी राखे, कुन कुन देशका कस्ता अनुसन्धान केन्द्र छन् कसरी के गर्छन् आदि सारा कुरा खोजेर अध्ययन गरेर फेरि सबैले बुझ्ने भाषा शैलीमा आफ्नो यात्रासँगै मिलाएर राख्नु सानो मेहेनत र क्षमताले भ्याउँदैन । यसको लागि जीवा लामिछाने प्रशंसा र धन्यवादका पात्र छन् ।
मनमा लागेको एउटा कुरा चाहिँ के हो भने नियात्रा पढ्दै जाँदा अनुसन्धान र खोजी इतिहासमा मात्र जीवा भेटेँ मैले, यात्रामा त जीवा नै भेटिन ! जीवाको ठाउँमा मलाई नै पाएँ । जीवालाई मैले पढेको यो पहिलो पटक हो तर अब भेटेसम्म पढ्ने बनायो यो किताबले । सायद लेखकको सफलता यही नै होला ।
लेखक जीवा लामिछानेलाई अनन्त बधाई एवं शुभकामना ।
दुश्यन्त भट्टराई, बेलायत
०००
हिमदेशको कथा- लक्ष्मण वियोगी
केही दिनअघि नै हो, पढिसिध्याएको । केही लेख्छु, लेख्नुपर्छ भनेर अगाडि सर्छु । धेरै जनले लेखिसके । विद्वान, विदूषी, समालोचक र प्राध्यापकले भन्नुपर्ने सबै भनिसके । अहँ, म सक्दिनँ । हात काम्छन्, हृदय थर्थराउँछ । पूरै शरीर लुलो भएर आउँछ । जीवा लामिछानेले कसरी लेख्न सके, यति गहन र हिमालजस्तै अग्लो कृति । छक्कमात्रै होइन, चकित परेको छु । उनी दशकौँदेखि साधनारत साहित्यकार होइनन् । विश्वविद्यालयको साहित्य विभागको कुनै हाँगो समातेर घोटिरहने प्राध्यापक पनि होइनन् । न दर्शन, इतिहास र विज्ञानका आविष्कारक नै हुन् ! अनि, कसरी भुल्भुलायो उनीभित्र यो धाराको कलकलजस्तो लेखन प्रवाह ?
बरु जीवा देशमात्रै होइन, विदेशमा चिनिएका उद्यमी हुन् । धेरै मानेका, पुजेका सरल व्यक्ति । उनको उद्यमकलाको सर्वत्र बखान हुन्छ । यस्तो व्यक्तिले साहित्यरसमा आफूलाई कसरी भिजाउन सकेको होला ? बुझेर बुझ्न नसकिने महासागरजस्तै छ, उनको लेखनी । बुझ्नै नसकेको उनको लेखनी र कृतिबारे म के बोलूँ । केही अघि उनको सरसर्ती संसारले संसार घुमाएको थियो । त्यसको रमरम नसेलाउँदै अहिले हिमदेश घुमियो । पढ्दा त उडेर अन्तपुरमा पुगेको अनुभूत हुन्छ । त्यो देश पुगेको दिन कस्तो होला ?
त्यतिबेला ‘नमरी स्वर्ग देखिन्न’ भन्ने उक्तिको प्यारोडी बन्छ होला – स्वर्ग देख्न मर्नै पर्दैन !
माथि भनिहालेँ, यो कृतिभित्र पसेर म केही लेख्न सकिरहेको छैन । कुन शब्द, वाक्य, अनुच्छेद वा पृष्ठका विषयमा लेखूँ ? ती हरेक वाक्य र अनुच्छेद गहिरिएर पढ्दै जाने हो भने अलग्गै दर्शन वा कृति जन्मिन्छ । त्यो काम शोधार्थीकै हो । त्यो सामथ्र्य ममा नभएपछि यतिकै अधमरो भएको छु । अन्तस्करणमा अनेक बेसूरा लय बजिरहेको छ ः
– कृतिभित्र म कहीँ यात्रा गरिहेको छु । कहीँ निबन्ध पढिरहेको छु । कहीँ कथा त कहीँ उपन्यासका पात्र भेटिरहेको छु । कतै मिथकीय हिमसुवास आएर नाकमा ठोक्किएको छ । कतै दर्शन, इतिहास, अध्यात्म, धर्म, विकासको चरमोत्कर्षमा पुगेका पश्चिमाहरूको लोकविचार र लोकाचारले मथिङ्गल हल्लाइरहेको छ । यी विविध स्वाद यसरी एउटै कृतिभित्र फेला पार्नु साँच्चै दुर्लभ नै होला ।
– पोलार प्लन्ज (धुव्रीय स्नान), शीतदंश, मरिन डाभर (गोताखोर), हिमदेश, ग्याबस्ट्रेभ माउन्टेन अर्थात् हिउँले पुरिएका पहाड, हिमगुन्द्री, हिमचकटी, हिमचिप्लेटी, हिमखण्ड, हिमरोटी आदि आदि । हेर्नुस् त शब्दहरू यी उताबाट आएका होइनन्, यतै हाम्रो घरगाउँबाट गएकाजस्ता छन् । हाम्रै वनपालेका हाडेकाफल, ऐँसेलु, चुत्रो र पानीअमला जस्ता । यिनै शब्दभित्र दर्शन, इतिहास र लोकाचारको महाकाव्य छन्, म कसरी यिनको वर्णन गर्न सकूँला र !
– पशुप्रेम अर्थात् सामुद्रिक जीवप्रतिको प्रेमभाव र पर्यावरणीय चेतले भरिपूर्ण छ, कृति । यिनै कथाले कल्पनाको समुद्रमा हराइरहेको अनुभूति हुन्छ ।
– पढ्दा–पढ्दै लाग्न थाल्यो, कुनै समय विश्वका देशहरू अन्टार्कटिकालाई लिएर युद्ध नगरुन् । मानव बस्ती विकासमा तछाडमछाड नगरुन् ।
– कतिसम्म आश्चार्यका कामहरू भइरहेका रहेछन्– अन्टार्कटिकामा । जस्तैः सौर्य ऊर्जा उत्पादन, रेडियो कार्यक्रम सञ्चालन, पानीका कुण्डको शोध तथा खनिज उत्खनन् । अचम्म र आश्चार्य, यी कामले पक्कै भोलिका दिनमा यहाँ मानव अतिक्रमण बढ्दैन भनेर भन्न सकिने आधार देखिँदैनन् ।
– लाग्छ– जीवा लेखक होइनन्, समुद्रमा धुन खोज्दै हिँडेका एक सङ्गीतकार हुन् । धुन प्रकृतिमा कति छन् कति ? तिनलाई टिप्नु र सारेगमको लयमा ढाल्नु पो सिर्जनशीलता रहेछ । यसमा कृतिकारको कलाको परख पोखिएको छ ।
– जीवाजस्ता भाग्यमानी संसारमा औंलामा गन्न सकिने मात्र होलान् । जो संसारलाई फन्को मार्दै हिँडिरहेका छन् । नेपालीजनलाई ज्ञान, विज्ञान, दर्शन र विश्वको चमत्कार सुनाइरहन्छन्, समुद्रको सिम्फोनी जस्तै ।
– सृष्टिको संरचना ध्वस्त पार्न जुर्मुराएर उठ्ने मानव र संरक्षणका अनेक उपाय पत्ता लगाउने पनि मानव ! कस्तो अचम्म ! अन्त्यमा, विद्वान पिताका विद्वान छोराको मार्मिक ज्ञानवद्र्धक चिट्ठीले भावुक बनाउँछ । खासमा पृथ्वी रहे न मानव अस्तित्व रहला ?
– सधैँ सकारात्मक सोचका र नकारात्मक पक्षलाई पनि सकारात्मक एवम् रोचक ढंगले प्रस्तुत गर्न सक्ने अद्भूत कलायुक्त व्यक्ति हुन् जीवा । नजिकबाट उनको व्यक्तित्व र ज्ञानको संगत गर्न पाइयो भने पनि जीवनमा धेरै कुरा सिकिन्छ र जीवन सार्थक हुन्छ झैँ लाग्छ ।
– यतिबेला म सोचिरहेछु– यो जुनीमा त म त्यो हिममूलुकमा पुग्न किमार्थ सक्दिनँ । अर्को जुनी मान्छे भएर जन्मेको अनुभूति हुन सक्यो भने अवश्य पुग्न पाइयोस् ।
– यही कृतिबाट उत्तम शान्ति पुरस्कार प्राप्त गर्दै गरेका कृतिकारको शतक आयुको कामना ।
०००
विगतमा अन्टार्कटिका महाद्वीपमा पुग्नका लागि भएका प्रयासहरुका बारेमा विस्तृतमा यसै पुस्तककमा उल्लेख भएको छ । त्यहाँ पुग्नका लागि विगतमा मानिसहरुबाट भएको प्रयास मात्र नभएर त्यस क्रमका खतरनाक र भयङ्कर दुर्घटनाहरुका बारेमा समेत पुस्तकमा लेखिकएको छ । सबैभन्दा आश्चर्यजक तथा डरलाग्दो तथ्य चाहि अन्टार्कटिकाभित्र रहेको ताजा पानीको सतह पग्लियो भने समुद्रको सतह ६० मिटर बढ्ने कुरा उल्लेख छ । समुद्रको सतह ६० मिटर बढ्नु भन्नाले विश्वका कैयन् सहरहरू पानीभित्र विलुप्त हुनु हो । लेखकले विगतमा ह्वेल र शीलको शिकारको नाममा मानवबाट भएको अत्याचार बारे समेत पुस्तकमा लेख्नु भएको छ । मानवीयता हराएका ती शताव्दीहरुमा आफ्नो स्वार्थका लागि मान्छेले गरेका उपद्रो र अत्याचारबाट अहिलेको पुस्ताले पछुताइरहेको सन्दर्भहरु पनि पुस्तकमा रहेका छन् ।
०००
नेपाली साहित्यको उन्नयनमा लामिछानेको योगदानः
उहाँलाई सन् २०११ र २०१८ मा प्रधानमन्त्रीको आर्थिक सल्लाहकार परिषद् सदस्यमा नियुक्त गरिएको थियो । लामिछाने नेपाल सरकारले प्रदान गर्ने प्रबल जनसेवाश्री (सन् २०१३) र कीर्तिमय राष्ट्रदीप (सन् २०२३) बाट विभूषित हुनुहुन्छ । यस्तै उहाँले खेमलाल–हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठान स्थापना गरी २०६३ सालदेखि प्रतिष्ठित ‘पद्मश्री साहित्य पुरस्कार’ प्रदान गर्दै आउनु भएको छ । त्यसो त ‘पद्मश्री साधना सम्मान’ र ‘पद्मश्री गौरव पुरस्कार’ समेतका संस्थापक हुनुहुन्छ । गणेश रसिक, अमर न्यौपाने, झमक घिमिरे, खगेन्द्र सङ्ग्रौला, मनु ब्राजाकी, उपेन्द्र सुब्बा, निलम कार्की, रमेश सायन, सञ्जीव उप्रेती, कृष्ण गौतम, केशवराज ज्ञवालीलगायतले पद्मश्री साहित्य पुरस्कार प्राप्त गर्नु भएको छ भने माया ठकुरीलाई पद्मश्री साधना सम्मान तथा पद्मश्री गौरव पुरस्कारबाट पहिलो पटक डा. सन्दुक रूइतलाई र २०८० मा भने प्रा.डा. केदार भक्त माथेमालाई सम्मान गरिएको छ

मस्को स्टेट युनिभर्सिटी अफ सिभिल इन्जिनियरिङबाट स्नातकोत्तर जीवा लामिछाने गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) का संस्थापक सदस्य एवम् पूर्वअध्यक्ष हुनुहुन्छ ।

तपाईँको विचार राख्नुहोस्

शेयर गर्नुहोस्

नवसाहित्य टेलिभिजन