- नवसाहित्य
नवसाहित्य डटकम
हेटौँडा, ६ असार । तारालाल श्रेष्ठको अनुसन्धानात्मक पुस्तक ‘साइकल सौन्दर्य’ हेटौँडामा सार्वजनिक गरिएको छ । गत महिना नेपाल पर्यटन बोर्ड काठमाडौंमा विमोचन गरिएको पुस्तकबारे सहभागीहरूको जिज्ञासासमेत सुनिएको थियो ।
कार्यक्रममा बोल्दै श्रेष्ठले साइकल सँस्कृतिको विकासमा जोड दिन आग्रह गर्नुभयो । कार्यक्रममा साहित्यकार राजकुमार लामिछाने, शिक्षक दीपक अधिकारी, सञ्चारकर्मी भानुभक्त आचार्य, व्यवसायी प्रमोदसिंह रानाभाट, साइकल अभियानकर्मी तथा व्यवसायी राजु थापामगर आदिले आआफ्ना धारणा राख्नुभयो । थापाले प्यारालाइसिस भएको आफूलाई साइकलले नै प्रेरणा दिएको र यसैको व्यवसायमा संलग्न भएको बताउनुभयो ।
कार्यक्रममा लेखक, साहित्यकार, व्यवसायीसँगै नियमित साइकल चढ्नेहरुको उपस्थिति थियो । नेपालको साइकल संस्कृति इतिहास, वर्तमान र भविष्यबारे आवश्यक दस्तावेजीकरणको अभाव खड्किएकोले यो पुस्तकले स्रोतसामग्रीकै रूपमा प्रयोग गर्न सक्ने क्षमता राख्ने श्रेष्ठले बताउनुभयो । अभियानकर्मीका साथै साइकल चढ्ने र नचढ्ने सबै खालका पाठकलाई आकर्षित गर्न र नेपाली साहित्यलाई फराकिलो पार्न पुस्तकले महत्वपूर्ण भूमिका खेल्नेमा विश्वास गर्नुभयो ।
क्यान्सर जितेर सक्रिय साइक्लिङमा रहनु भएकी कविता चित्रकारबारे बोल्दै श्रेष्ठले सोही दिन मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डाक्टर तथा अन्य स्वास्थ्यकर्मीहरूमाझ साइकल अभियान र सो पुस्तकबारे बोल्नुभएको थियो । सबैभन्दा व्यस्त रहने डाक्टरहरूले त अनिवार्य साइकल चढ्नुपर्ने भन्दै उहाँले साइकल चढ्न समय नहुनु वा सडक नहुनु आदित्यादि बहाना मात्रै भएको जवाफ दिनुभयो ।
त्रिभुवन विश्वविद्यालयमा प्राध्यापन गरिरहनु भएका उहाँ २५ अध्यायमा अटोएथ्नोग्राफ्रिक वर्णन विधिबाट मेचिदेखि महाकाली तथा तराईदेखि हिमालसम्मका नेपालका साइकल समुदायका सत्य कथाहरु समेटेको श्रेष्ठले बताउनुभयो । अक्सफोर्ड युनिभर्सिटीमा पुग्दा डाक्टरहरू नै साइकल चढेर हिँडिरहेको देखेपछि आफू अझै बढी प्रेरित भएको बताउनुभयो । इङ्लिस स्कुलमा प्रिन्सिपल रहँदा सुरूसुरूमा साइकल चलाउँदा अप्ठेरो लागेर साँझमा मात्रै साइकल चलाएर हिँडेको अनुभव बताउँदै उहाँले साइकल चढ्दा शरीरमा ‘ह्याप्पी हर्मोन’ विकास हुँदै गएको बताउनुभयो ।
१ सय २२ वर्षअघिको गोरखापत्रमा बेलायती साइकलको विज्ञापनदेखि साइकलको इतिहासमा हेटौँडाको समेत महत्वपूर्ण देन रहेको बताउँदै अमेरिकाका लागि ‘इनभायरनमन्ट जस्टिस’ पुस्तकमा कबाडी सामान सङ्कलन गर्नेहरूले साइकल प्रयोग गर्ने सम्बन्धमा अनुसन्धान गरी लेख लेखिएको बताउनुभयो । साथै पुस्तक प्रकाशनमा प्रकाशकहरूमा व्यवसायिकरूपले फाइदा हुने सम्भावना नदेखेकाले आफैँले पुस्तक छपाइएको उहाँले जानकारी दिनुभयो । स्वास्थ्यका लागि अनिगिन्ती फाइदा छ भन्ने जान्दाजान्दै साइकल चढ्नमा आफैँ र बाहिरबाट समेत प्रेरित गर्ने समाजको विकास नभएको उहाँले गुनासो गर्नुभयो ।
यसअघि काठमाण्डौमा नेविप्राका पूर्व प्रबन्ध निर्देशक तथा विमोचन कार्यक्रमका प्रमुख अतिथि कुलमान घिसिङमार्फत विमोचित सो पुस्तक डिस्कोर्स पब्लिकेशनले प्रकाशन गरेको हो । सञ्चारकर्मी सुरेश श्रेष्ठले सहजीकरण गर्नु भएको कार्यक्रममा किताबघर हेटौँडामा सो पुस्तक पाइने किताबघरका सञ्चालक साहित्यकार छवि अनित्यले जानकारी दिनुभयो ।






