संप्रस पौडेल

समाचार प्रमुख

नवसाहित्य अनलाइन । बाह्रखरी मिडियाले कथा प्रतियोगितामा यस वर्षदेखि सर्वोत्कृष्ट कथालाई २ लाख रुपैयाँ दिने निर्णय गरेको छ। शुक्रबार एक कार्यक्रमबिच सो निर्णय सार्वजनिक गरिएको हो ।

द्वितीयलाई एक लाख रुपैयाँ र तृतीयलाई ६० हजार रुपैयाँ प्रदान गरिने जानकारी दिइएको छ । सङ्ग्रहमा छापिने बाँकी २२ कथाकारलाई चाहिँ जनही सात हजार रुपैयाँ सम्मानस्वरूप प्रदान गरिनेछ ।

यी सबै पुरस्कार राशि विगतका वर्षहरूमा भन्दा बढी हो । कथा लेखनको सम्वर्द्धन र प्रवर्द्धनमा बाह्रखरी मिडियाले विगत ६ वर्षदेखि यो प्रतियोगिता आयोजना गर्दै आएको छ । यस पटकदेखि भने नेपालको कथा लेखन प्रतियोगिताको सबैभन्दा ठूलो पुरस्कार राशि बनेको यस प्रतियोगितामा २०८२ कात्तिक ३० गतेसम्म सम्पूर्ण प्रतियोगीहरूले कथा पठाउन सक्नेछन् । जसका लागि 12Kharibooks@gmail.com मा इमेल गरेर कथा पठाउनुपर्ने जानकारी दिइएको छ भने नेपाली भाषाका सर्जकहरूले संसारभरबाट कथा पठाउन सक्ने बताइएको छ ।

सातौँ पटकको बाह्रखरी कथा प्रतियोगिताको निर्णायक समूहमा नाट्यकर्मी तथा साहित्यकार अशेष मल्लको संयोजकत्वमा वरिष्ठ कथाकार मञ्जु काँचुली तथा कथाकार अभय श्रेष्ठ रहेको कुरा समेत आजको कार्यक्रममा अवगत गराइएको थियो ।

बाह्रखरीलाई प्राप्त भएका सबै कथाहरूलाई पहिलो चरणमा बाह्रखरीका विचार सम्पादक गोविन्द अधिकारीको संयोजकत्वको आन्तरिक समूहले छाँट्ने काम गर्नेछ । आन्तरिक समूहले प्राप्त भएका कथामध्येबाट ५० कथा निर्णायक समूहलाई उपलब्ध गराउनेछ ।

ती कथाहरूमध्येबाट निर्णायक समूहले प्रथम, द्वितीय र तृतीय कथाका साथै ‘उत्कृष्ट कथा, २०८२’ पुस्तकका लागि थप २२ समेत गरी २५ कथा छानेर पठाउनेछ । यसअघि विष्णु पादुकाको ‘माग्युद खोना’ कथाले पहिलो स्थान प्राप्त गरेको थियो ।

बाह्रखरी मिडियाद्वारा जारी विज्ञप्तिअनुसार निर्णायक समूहको निर्णय नै अन्तिम मानिनेछ भने विगतमा झैँ अन्तिम चरणसम्म पुग्न सफल उत्कृष्ट २५ कथाको पुस्तक प्रकाशन गरिनेछ ।

(तस्बिरः बाह्रखरी मिडिया)

तपाईँको विचार राख्नुहोस्

शेयर गर्नुहोस्

नवसाहित्य टेलिभिजन