तुल्सी थापा (२००२) ‘एक निमेष अनन्तको’ (मसिना कविताहरू (२०५८), ‘अमरसिंहको खोजीमा अमरसिंह नाटक’ (२०६१) र ‘फरक आकाश’ (२०७२) का सर्जक हुन् । तीन हरफे छोटा कवितामा बेजोड मानिने थापा प्रयोगशील नाटकभित्र
राष्ट्रियताको सन्धान गर्न रुचाउँछन् भने उनका कथाहरू दार्शनिक चेतनाको प्रयोगशील परिप्रेक्ष्य खोतल्न उद्यत देखिन्छन् । निमेष निखिलले थापासँग गरेको कुराकानी यहाँ प्रस्तुत गरिएको छ ।

तपाईँ निकै पुरानो र प्रतिष्ठित शिक्षक हुनुहुन्छ । साहित्यतर्फ कसरी आकर्षित हुनुभयो ?
तपाईँको यस प्रश्नमा मैले एउटा नौलो पक्ष पो अनुभूत गरेँ । पेसा वा व्यवसाय र साहित्यबिचको अन्तरसम्बन्धको पक्ष । यस्तो हुन्छ, हुँदैन ? पेसा वा व्यवसाय विशेषले साहित्य लेखनमा सघाउँछ, सघाउँदैन ? घोत्लिनु, सके अनुसन्धान गर्नुपर्ने विषय हो कि ?
शिक्षण पेसा त किताबसँग खेलिरहनु पर्ने पेसा रह्यो । साहित्य पढ्दै जाँदा, बुझ्दै जाँदा आफू पनि त्यसरी नै अभिव्यक्त हुने प्रेरणा मिल्यो होला । तर यसको अर्थ अन्य व्यवसायमा लागि पर्नेहरू साहित्य लेखनमा जुट्दैनन् भन्ने कदापि हुन सक्दैन । मुख्य कुरा त जुनै पेसाका भए पनि मानवीय अनुभूतिलाई अभिव्यक्ति दिनसक्ने माध्यमको अनुसरण हो । त्यो साहित्य लेखन पनि हुनसक्छ वा सृजनाका अन्य माध्यम पनि ।

लेखनतर्फ प्रवृत्त हुनुको कुनै प्रेरक प्रसङ्ग छ कि ?
त्यस्तो कुनै प्रारम्भिक बिन्दु रहेन जहाँबाट दौड प्रतियोगिता झैँ मेरो लेखन सुरु भएको होस् । बुढी बज्यैका दन्त्यकथा, विद्यालयमा पढेका साहित्यिक कृतिहरू, पुस्तकालयका किताबहरू र साहित्यिक अभिरुचिका साथीसङ्गतिबाट क्रमशः सङ्ग्रहित मनोभाव नै अभिप्रेरक रहेको हुनुपर्छ । कुनै एक मात्र प्रेरक प्रसङ्ग रहेन जस्तो लाग्छ ।

बिसको दशकको पूर्वाद्र्धतिर नै यहाँका रचनाहरू राष्ट्रिय पत्रिकाहरूमा छापिएका थिए । त्यसपछिका झन्डै तिन दशकमा यहाँको प्रत्यक्ष साहित्यिक उपस्थिति देखिएन । २०५८ सालमा ‘एक निमेष अनन्तको’ मसिना कविताको सङ्ग्रह लिएर देखा पर्नुभयो । यो लामो ग्यापमा यहाँभित्रको लेखक कसरी जीवन बिताउँदै थियो ?
हो, मेरो साहित्यिक जीवनमा तीन दशकको लामो उपस्थितिहीनता रह्यो । जीवन र जगत्लाई बुझ्न यति लामो अवधि लाग्नुनपर्ने हो । सायद जीवन बुझ्दै थिएँ, जगत् चिन्दै थिएँ । लेख्थे होला, च्यातिदिन्थेँ होला । अपरिपक्व वा आलोकाँचो विचार लिएर साहित्य मार्फत अभिव्यक्तिनु निरर्थक ठानेँ क्यारे । साँचो कुरा त मैले साहित्यलाई आफ्नो लहडबाजीको उपज बनाउँन चाहिनँ । सृजनाहीनता पनि रह्यो भन्दा के फरक ? मेरो लेखकत्व सुषुप्त अवस्थामा रुमल्लिएकै हो ।

खुसी लाग्यो, अब सुषुप्तबाट जाग्रतमा हुनुहुन्छ । तीन हरफका चोटिला कविता लेख्ने कविका रूपमा यहाँलाई नेपाली साहित्यले चिन्न थालेको छ । यहाँको प्रेरणा जापानी हाइकु हो कि ? किन यस्ता कवितातिर आकर्षित हुनुभयो ?
तीन हरफे कविताहरूमार्फत मैले नेपाली साहित्यमा चिहाएको मात्र हुँ । मलाई साहित्यिक अभिव्यक्तिमा साह्रै सङ्क्षिप्त तर खँदिलो हुन कुन ग्रन्थिले डोर्‍यायो होला ? कतै बर्सौँको मौनधारणपछि बोली फुटाउनेले यस्तै सङ्क्षिप्त अभिव्यक्ति त दिँदैनन् ? साँच्चै मैले कुनै मनोविश्लेषकसँग यसको कारण बुझ्नै पर्छ ।
ती दाना कविता हुन् । पत्रकार तथा लेखक नवराज शर्माले यसरी तीन हरफे कवितालाई नामकरण गरे । दाना जो भूमि, मल, जल र घाम पाएपछि वृक्ष भएर झ्याङ्गिन्छन् । लेखकले धेरै बेलिविस्तार लगाइरहनु पर्दैन । त्यसो त रोँला बार्थले कुनै एक कृति पाठकसमक्ष पुगेपछि त्यस कृतिका सर्जकको मृत्यु हुन्छ भन्नुको अर्थ त्यस कृतिको लेखकत्व पाठकसमक्ष विविध धारमा सम्प्रेषित हुनपुग्छ र त्यस बेला पाठकत्व जाग्छ, लेखक गौण हुन्छ । कृतिको भाव पाठकीय ग्रहणमा संवरित वा डिफ्युज्ड (मभागकभम) दुवै हुनसक्छ । डिफ्युज्ड अवस्था कृतिको सम्प्रेषणविहीनता हो ।
पाठकीय विचरण दिन नसके दाना कविता अर्थहीन हुन्छ । हाइकुका काव्यानुभूति रहे पनि दाना कविता हाइकुको नेपाली संस्करण हैन । साधारणतः व्यवहारमा पनि सङ्क्षिप्तमा नै सबै कुरा बुझोस् भनी हामी चाहन्छौँ । लामो व्याख्याले वाक्क लगाउन सक्छ । फाल्तु समय कोसँग छ र ?

यहाँको विचारमा साहित्य के हो ?
साहित्य जीवन र जगत्बाट प्राप्त मानवीय अनुभूतिको सुन्दरतम् अभिव्यक्ति हो । साहित्यलाई यस परिभाषामा बाँध्न खोजिएको हैन, आफ्नै बुझाइ खोतलेको हुँ ।

थापाज्यू, व्यक्तित्व र समाजसित साहित्यको सम्बन्धलाई यहाँले कसरी हेर्नुभएको छ ?
साहित्य लेखनमा लागिपर्ने सर्जक आफैँ एक व्यक्तित्व हो, उसको समाजको । व्यक्तित्व जीवन हो, समाज जगत् हो । त्यही जगत्‌मा उसले सङ्ग्रहण गरेको अनुभूति साहित्यमा अभिव्यक्तिन्छ । ती अभिव्यक्ति समाजसापेक्ष यर्थाथ चिन्तन र चेतना सौन्दर्यबोधसहित कलात्मक ढङ्गले पस्किएको हुनुपर्छ । यस्तो गर्नु सर्जकको समाजप्रतिको इमान्दारिता ठहर्छ । अन्यथा रचना निरर्थक र भ्रामक हुनपुग्छ ।

कविताका कुरा गरौँ । यहाँको विचारमा कविता के हो ? र यहाँलाई कविता लेख्न प्रेरित गर्ने मानसिक / भौतिक पक्षहरू के हुन् ।
कविता जीवनको चेतना हो, चेतनाको जाग्रत अवस्था हो । जगत् र जीवनबाट सङ्ग्रहित भाव जब विचारमा परिणत हुन्छ, चेत खुल्छ र कविता लेख्न मन लाग्छ । जगत् र जीवन भौतिक, चेतना मानसिक– यी दुवै कविताका लागि भावभूमि हुने गर्दछन् ।

यहाँका धेरै कविताहरूमा मिथकीय सन्दर्भ जोडिएको मैले पाएको छु । साहित्यमा मिथक / पुराकथाहरूको अन्तरमिश्रणलाई यहाँले कसरी हेर्ने गर्नुभएको छ ?शाब्दिक अर्थभन्दा फरक मिथकले आफैँमा प्रतीकात्मक पाश्र्वभाव संवरित गर्छ । व्याख्या आवश्यक रहँदैन । यसको प्रयोगबाट काव्यात्मक सौन्दर्य सिर्जना हुन्छ । तसर्थ सबै सर्जक प्रायः मिथक प्रयोग गर्छन् नै ।

थापाज्यू, तपाईँ नाटककार पनि हुनुहुन्छ । ऐतिहासिक सन्दर्भलाई लिएर लेखिएको ‘अमरसिंहको खोजीमा अमरसिंह नाटक’ प्रयोगशील आग्रहराख्ने सुन्दर नाटक हो । यो नाटक लेख्ने प्रेरणा कसरी प्राप्त भयो ?                                                                                                                                                                                         घर छ, घरभित्रको परिवार परिवार जस्ता रहेनन् भने परिवारका सदस्यले यो कस्तो घर, यो कस्तो परिवार भनि सोच्न बाध्य भएजस्तै हाम्रो देश छ तर देशप्रेम वा राष्ट्रियता धूमिल भएको अवस्थामा हाम्रा इतिहासका वीरपुरुष अमरसिंहलाई राष्ट्रप्रेमको प्रतीक बनाएर अमर सिंहलाई खोज्दै लेखिएको नाटक हो यो । यो खोजी अझैँ जारी छ । राष्ट्रप्रेम र राष्ट्रियताको खोजी नै मेरा लागि यो नाटक लेख्ने प्रेरणा बन्यो ।

यहाँको ‘फरक आकाश’ कथासङ्ग्रह प्रकाशन भएको छ । यहाँका कथाहरू केही निबन्धात्मक ढाँचाका दार्शनिकताले बोझिला बनेका र बुझ्न कठिन छन् भने पाठकीय धारणा छन् नि ?
केही कथा त्यस्तै भए । पाठक प्रतिक्रियालाई सहर्ष स्विकार्छु । ढुङ्गा, बालुवा, रूख, जङ्गललाई पृष्ठभूमिमा उल्लेख गर्दा लेखक आफैँ कथामा प्रवेश गरे जस्तो भयो । कथाका पात्रहरूप्रति हस्तक्षेप गरे झैँ । त्यसैले निबन्धात्मक गन्ध रहेको हुनुपर्छ । यसलाई विधामिश्रण भन्न नमिल्ने । कथा सिङ्गैलाई एउटा प्रतीकीय संरचनामा ढाल्दा यस्तो हुन गएको हो । हरेक कथा यस्ता नहुन सक्छन् ।

अलिकति फरक प्रसङ्ग । साहित्य राजनीतिसापेक्ष हुन्छ र साहित्य राजनीतिनिरपेक्ष हुन्छ भन्ने दुवै थरीका मत हामीकहाँ पाइन्छन् । यहाँलाई चाहिँ के लाग्छ ?
राजनीतिले हामी सबैलाई प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा गाँजेकै हुन्छ । त्यसैले साहित्यमा राजनीति कुनै न कुनै रूपमा प्रतिबिम्बित हुन्छ नै । त्यसैले सापेक्ष । तर साहित्य राजनीतिक दस्तावेज हैन र त्यति हदसम्म निरपेक्ष । साहित्य र राजनीतिक दस्ताबेजबिचको साँधसीमा सर्जकले बुझेकै हुनुपर्छ ।

तपाईँ अङ्ग्रेजी भाषा साहित्यको शिक्षक । अङ्गे्रजी साहित्य र पश्चिमी प्राचीन, अर्वाचीन सबै मान्यताहरूसँग पनि परिचित हुनुहुन्छ, वर्तमान अङ्गे्रजी साहित्य र नेपाली साहित्यको तुलना कुन रूपमा गर्न सकिन्छ ? सकिँदैन वा मिल्दैन कि ?
संस्कृत र अङ्ग्रेजी साहित्यका महान् लेखकद्वय कालिदास र सेक्सिपयरमध्ये को प्रसिद्ध र को महान् भन्ने एउटा प्रसङ्गमा हामी दुवैतर्फ विभाजित हुन पुग्यौँ तर जे निष्कर्ष निक्लियो त्यसमा हामी सहमत थियौँ । अङ्ग्रेजी भाषाका विश्वव्यापी पाठक रहेका कारण सेक्सिपयर प्रसिद्ध भए तर संस्कृतको व्यापकता नहुँदा कालिदास कम प्रसिद्ध हुन पुगेका देखिन्छन् । विद्वता र महानतामा कालिदासलाई कम आँकलन गर्नु अन्याय हुनेछ । यही निष्कर्ष नेपाली साहित्यमा पनि लागु हुन्छ । भाषागत विस्तारको विषय हो यो । नेपाली भाषा lingua franca भएन, तसर्थ नेपाली साहित्य नेपालीभाषीमाझ मात्र सीमित रहन पुगेको हो । हामी विलियम वर्डस्वर्थ र महाकवि देवकोटालाई समकक्षमा राख्छौँ तर अङ्ग्रेजहरूले देवकोटालाई पढेका पनि छन् कि छैनन् ? समस्या भाषाकै रह्यो । वर्तमानमा पनि नेपाली साहित्यमा विश्व मानवलाई सम्बोधन गर्नसक्ने उम्दा लेखकहरू नभएका होइनन् ।

भनेपछि नेपाली लेखकहरू अन्तर्राष्ट्रिय बजारमा पुग्नका लागि तिनीहरूका रचना अङ्ग्रेजीमा अनुवाद भएर विश्वबजारमा जानुपर्छ भन्ने यहाँको मान्यता रह्यो हैन त ?
हो, नेपाली साहित्यका अमर कृतिहरू अङ्ग्रेजीमा गतिलो अनुवाद हुनुपर्छ । त्यसो भयो भने नेपाली साहित्य विश्व साहित्यको स्तरमा पुगे नपुगेको तुलना हुने छ र दृष्टान्त भेटिने छ । नेपाली साहित्य त सार्क क्षेत्रमा समेत विस्तार हुन नसकेको अवस्था हामीकहाँ विद्यमान छ । विश्वबजार त अलि टाढाकै कुरा भयो नि !

‘उत्तरआधुनिकता’ वर्तमान नेपाली साहित्य बजारमा सबैभन्दा चल्तीको शब्द भएको छ । हरेक लेखक आज समालोचकले आफूलाई उत्तरआधुनिक भनिदिउन् भन्ने चाहन्छन् । यहाँलाई चाहिँ के लाग्छ ?
विद्यमान विचार, आदर्श, सिद्धान्त, पद्धति, मूल्यमान्यता, सत्यको स्थापित एवम् केन्द्रीकृत वृत्तबाट विस्फोटित धार हो उत्तरआधुनिकता । अर्थात् यो एक big bang हो । प्रसिद्व समालोचक डा. गोविन्दराज भट्टराईका अनुसार उत्तरआधुनिक लेखन सारा संस्थापनहरूको विरोध हो । स्थापित मान्यता नकार्दै आफ्नै धारमा नवशैली सृजनामा उद्यत् उत्तरआधुनिकता कला, साहित्य, दर्शन हरेक क्षेत्रमा विस्तारित हुँदै छ । पुरानै प्रवृत्तिका हिमायती रहेको देखिन कोही पनि चाहँदैनन् । यस अर्थमा एउटा वेभ (wave) नै चलेको छ ।
तर उत्तरआधुनिकता सबैलाई ग्राह्य भएको भने पाइँदैन । अर्का समालोचक निनु चापागाईँको विचारमा उत्तरआधुनिकता नितान्त कलाविरोधी, सौन्दर्यविरोधी धारा हो । अर्थात् उत्तरआधुनिकवाद विवादित छ । अस्वीकृतिले पूर्ण स्वीकृति पाउन बाँकी नै छ ।

साहित्यमा केन्द्र र मोफसलका प्रसङ्ग पनि आइरहन्छन् । यहाँ मोफसलमा हुनुहुन्छ । केन्द्रमा नहुनुको पीडाबोध वा अनुभूति छन् कि ?
मोफसलमा हुनुको अरण्यरोदन त्यति आवश्यक देख्दिन । गम्भीर पाठक श्री उदय अधिकारीसँगको हालैको एक अन्तर्वार्तामा मैले उल्लेख गरेको एक प्रसङ्ग सम्झन्छु– आदिकवि भानुभक्तदेखि आख्यानकार / कवि जगदीश घिमिरे, भानुभक्त पोखरेल, सरुभक्त, कृष्ण धराबासी लगायतका स्रष्टाहरूको नामावली रुजु गर्नु भो भने अधिकांश मोफसलकै पाउनु हुने छ । तपाईँको सृजन प्रतिभा र वैशिष्ट्य मुलुकको कुनै सुदूर कुनाबाट पनि प्रज्ज्वलित हुनसक्छ । यतिसम्म हो कि राजधानीभित्र अवसर र पहुँच बढी हुने गर्छ । त्यो त क्रमशः मोफसलमा पनि विस्तारित हुँदै छ र हुनु पनि पर्छ ।

राज्यसित साहित्य र साहित्यसँग राज्यको कस्तो सरोकार हुनुपर्छ जस्तो लाग्छ यहाँलाई ? हाम्रो देशको सन्दर्भमा प्रकाश पारिदिनोस् न ।
राज्य भन्नाले सरकार भन्नुभएको होला । नेपालको गौरवको कुरा गर्नुप¥यो भने सर्वोच्च शिखर सगरमाथा वा शान्तिका अग्रदूत गौतमबुद्ध वा मल्लकालीन प्रस्तर÷ काष्ठकला उल्लेख गरे पुगिहाल्छ । ती हाम्रा गौरव अवश्य हुन् । तर राज्यले यसतर्फ केही गर्नै पर्दैन । सजिलै उपलव्ध हुने गाथा हुन् यी ।
राज्यको सहयोगका कारणले साहित्य उत्थानमा फड्को मार्ने कहिले ? प्रज्ञाप्रतिष्ठानमा प्राज्ञ चयनमा नै विवादित भैरहने सरकारी रवैयाले साहित्यलाई मुलुकको गर्व बनाउनतर्फ अग्रसरता लिने छ भन्ने लक्षण अहिलेसम्म देखिएको छैन ।
राज्यले मुलुकको वाङ्मय र साहित्यको विकासमा दीर्घकालीन योजना बनाउनै पर्छ । साहित्यले समाजमा चेतना जगाउँछ । यो अनुत्पादक विषय होइन भन्ने कुरा राज्यले बुझ्नै पर्छ । तर हाम्रो देशले अझ भनौँ हाम्रो राज्यसत्ताले यो कुरा बुझेको छैन त नभनौँ बुझेर बुझ पचाएको चाहिँ पक्कै हो ।

वर्तमान विश्व साहित्यको र नेपाली साहित्यको मूलधार के हो जस्तो लाग्छ यहाँलाई ?
अभिव्यक्ति, शैली र विधि बेग्लाबेग्लै होलान् । स्थानीय परिवेश भिन्न होला । विषयवस्तुचाहिँ एउटै हो जस्तो लाग्छ– मान्छे ।

लेखकको मृत्युका कुरा भए, केन्द्रभङ्ग, विधामिश्रण, पारिस्थितिक अर्थलगायत लेज्बियनिज्म (lesbianism), गेइज्म (gayism), सम्मका कुराहरू नेपाली साहित्यमा आइसकेका छन् । समलिङ्गीय विषयवस्तुमा लेखिएको मोहनराज शर्माको उपन्यास ‘सलिजो’ समेत नेपाली साहित्यमा आइसकेको छ । वाद, विचार र शैलीको यस्तो परिवर्तित सन्दर्भलाई साहित्यले कुन रूपमा लिनुपर्छ जस्तो लाग्छ यहाँलाई ?
अघि उत्तरआधुनिकताको कुरा गरियो । त्यसैका पेरिफेरि (peripheri) का पक्ष हुन् यी । ‘सलिजो’ पढ्न पाएको छैन । वादविशेषमा किन विवादित हुने ? सबैले स्थान पाउन् । विचार र शैली परिवर्तित भइरहेकै छन् । मूलधारबाट छुट्टिएका खोलाहरूको पनि आआफ्नै बहाव हुन्छ भने कालान्तरमा सागर पुग्छ नै । मुख्य कुरा जडता (stagnation) हुनु भएन र परिवर्तन भ्रामक (ifllusive) हुनुभएन । परिवर्तित धारहरूको नेपाली साहित्यमा परेको प्रभावबारे व्यापक विवचेना हुन बाँकी नै छ ।

एउटा पृथक् सन्दर्भ । व्यक्ति तुल्सी थापा र साहित्यकार तुल्सी थापाबिच के कस्ता समानता र भिन्नता भेटिन्छन् होला ?
व्यक्ति तुल्सी थापाले साहित्यकार तुल्सी थापालाई सघाउन खोज्छ । कहिले सक्छ, कहिले सक्दैन । बस् ।

कति बेला लेख्नुहुन्छ ? लेख्नका लागि कुनै विशेष स्थान, मुड आवश्यक पनि पर्छ कि ?
साधारणतया रातिको समयमा लेख्छु । एकान्त चाहिन्छ । मुड भन्नु त आन्तरिक आग्रह हो । यो भन्नासाथ कहाँ आउँछ र ।

यहाँको रचनाको प्रथम पाठक को हुने गर्छन् ?
नढाँटी भन्दा आफैँ । त्यसपछि मात्र साहित्यिक मित्र ।

साहित्य र पुरस्कार / सम्मानको सन्दर्भलाई कसरी व्याख्या गर्नुहुन्छ ?
सर्जकले प्रेरणा पाए राम्रो । अभिमान चढे नराम्रो ।

आफ्नो लेखनी पुरस्कृत / सम्मानित भएको ठान्नुहुन्छ ?
पुरस्कृत वा सम्मानित भएको भन्दा पनि लेखाइ निष्प्रयोजन भएन कि जस्तो लागेको छ । ‘एक निमेष अनन्तको’ कविता सङ्ग्रहका लागि नारायणी वाङ्मय पुरस्कार २०५८ पाउँदा हर्षित भएँ । ‘हिमाल’ खबर पत्रिकामा सुलोचनाज्यूले र गरिमामा कृष्णप्रसाद ढकालज्यूले पुस्तक समीक्षा गरिदिँदा अभिप्रेरित भएको थिएँ ।

एउटा विशुद्व सर्जकका हिसाबले भन्नुपर्दा नेपाली समालोचनाको वर्तमान अवस्था यहाँलाई कस्तो लाग्छ ? कुनै समालोचकले आफ्नो लेखनको सटिक मूल्याङ्कन गरेको पाउनुभएको छ ?
कृतिको सर्जक को हो त्यसैलाई दृष्टिगत गरी व्यक्तित्वपरक समालोचना लेखिने प्रवृत्तिमा सुधार हुँदै कृति समीक्षाको शुद्धतम अवस्थामा आइपुगेको छ नेपाली साहित्य । कतिपय समालोचना उत्तरआधुनिकताको शैलीभित्र हुनसमेत थालेका छन् । मेरो कृतिमाथिको समालोचनाको कुरा गर्दा तपाईँलाई कसरी बिर्सनु निमेष सर ! तपाईँले ‘अक्षर’मा दाना कविताबारे लेख्नुभएको समालोचना सबैभन्दा पछिल्लो र सटीक मूल्याङ्कन हो भन्ने मलाई लागेको छ ।

मकवानपुरको साहित्यका बारेमा थोरै प्रकाश पारिदिनुहोस् न ! अब त यो ठाउँ वाग्मती प्रदेशको राजधानी पनि हो ? यो ठाउँलाई साहित्यिक हिसाबले उर्वर बनाउन यहाँका कविलेखक, स्थानीय सरकार वा अरु कसैले के के गर्नुपर्ने देख्नुभएको छ ?
(क) मकवानपुरको साहित्यिक इतिहास धेरै पुरानो देखिँदैन । आजभन्दा आठ दशक अघिसम्म यस जिल्लामा मौलिक लेख रचना गर्ने लेखक कविहरू सायद थिएनन् । कथामा दन्त्यकथा सुनाउने, कवितामा श्लोक गाउने प्रचलन भने थियो । मकवानपुर भीमफेदीमा वि.सं. १९६८ मा जन्मनुभएका गणेशलाल श्रेष्ठको वि.सं. १९९९ मा ‘मेरा दुई पुष्पाञ्जली’ कविता सङ्ग्रह गोरखापत्र छापाखानाबाट प्रकाशित भएको थियो । यस अर्थमा उहाँ मकवानपुर जिल्लाकै पहिलो कविको रूपमा सम्मानित हुनुहुन्छ । त्यसपछि उहाँको ‘निफ्व स्वां’ दोस्रो सङ्ग्रह नेपाल भाषामा वि.सं. २०१३ मा प्रकाशित भएको थियो । यी सङ्ग्रह मार्फत उहाँले आफ्नो अन्य संस्करणबाटै स्फुरित मानव जातिले अनुसरण गर्नैपर्ने सच्चरित्र, धर्मसंस्कृतिअनुरूप विवेकशील व्यवहारको आह्वान, सामाजिक विसङ्गतिमा सुधार, ईश्वरप्रतिको भक्तिभाव र राष्ट्रप्रेमप्रतिको गम्भीर आस्था सुझाउनु भएको पाइन्छ । उहाँ नेपाली, नेपाल भाषा (नेवारी) र तामाङ समेत ३ वटै भाषमा कविता कोर्नुहुन्थ्यो । विशेषत लोक गीत रचना गर्ने, आफैँ गाउने र आवश्यक परे अभिनय समेत गर्ने गर्नुहुन्थ्यो ।
उहाँ लोक साहित्य परिषदबाट मरणोपरान्त वि.सं. २०५६ मा ‘लोककवि सम्मानबाट विभूषित हुनुहुन्छ । लोक कवि गणेशलाल श्रेष्ठका समाकालीन एवम् सहकर्मीहरूमा भीमफेदीकै पुष्पनारायण मुल्मी देखा पर्नुभयो । उहाँ पनि अध्यात्म भावमा निर्लिप्त व्यक्तित्व हुनुहुन्थ्यो । उहाँ मन्दिरमा कीर्तन स्वरूप गाउने आराधनाका गीतहरू रचना गर्नुहुन्थ्यो ।
त्यसताका आलेख लेख्ने सर्जकहरूमा निबुवाटारका श्री टङ्कनाथ पराजुली लेख प्रकाशन गर्थे । भैँसेका दिलबहादुर थापाको किसान र मजदुरसम्बन्धी आलेख ‘गोरखापत्र’मा प्रकाशन भएको भेटिन्थ्यो । त्यस्तै भैँसे आवास गर्ने गरेका खड्गबहादुर सिंहले ‘विद्रोह’ भाग– १ र २ तथा ‘हुरीको चरा’ समेत ३ थान उपन्यास भैँसेमा रहँदा काठमाडौँबाट प्रकाशन गरेका थिए । नामटारका रामचन्द्र आचार्य फुर्सती अध्यात्म व्यङ्ग्य र शिक्षासँग सम्बन्धित विषयमा कलम चलाउनुहुन्थ्यो । उहाँका पुस्तक पनि प्रकाशन भएका छन् ।
मकवानपुर (त्यस बखत चिसापानी) मा अन्य कति लेखक कवि थिए आम रूपमा कुनै जानकारी भेटिँदैन । हस्तलिखित आलेखहरूसमेत विस्तृत खोजी गरे छिटफुट केही थपिएला कि ?
(ख) त्यसो त अहिले हामी वि.सं. २०१३ सम्मका लेखक कविको पुस्ता केलाउँदै थियौँ । जुन बेला जिल्लामा मौलिक र साहित्य रचना बल्ल सुरुवात भएको थियो । अहिले ६६ वर्षपछिको यो वर्तमान अवस्थामा जिल्लाको आफ्नै साहित्यक माहोल क्रमिक रूपमा अघि बढ्दो छ । यस अर्थमा जिल्लाको पछिल्लो साहित्यिक पुस्तालाई आधुनिक साहित्यिक सृजना लिएर दोस्रो र तेस्रो पुस्तामा युवा र किशोरकिशोरी सर्जकहरू समेटेर उल्लेख्य सङ्ख्यामा अभिवृद्धि हुँदै छ । यो अवस्था जिल्लामा साहित्यिक उर्वरता हुँदै आएको राम्रो सूचक हो ।
(ग) हाल मकवानपुर साहित्यिक र साङ्गीतिक संस्थासमेत गरेर साहित्य सङ्गम मकवानपुर, झरना साहित्यिक परिवार, युग प्रकाश क्लव, नवलपुर, सिस्नुपानी नेपाल, मकवानपुर, आँचल साहित्य कला पुञ्च, भीमविराग सङ्गीत साहित्य कला प्रतिष्ठान नेपाल, मातृभूमि साहित्य समाज, वासुदेव रिजाल स्मृति प्रतिष्ठान, रुद्रप्रसाद रिजाल स्मृति प्रतिष्ठान, बुढ्यौली साहित्य समाज, मुक्तक मञ्च, मकवानपुर, सर्जक सञ्जाल, मकवानपुर, आधुनिक नेपाली गजल अभियान, नेपाली लेखक सङ्घ, नवसर्जक साहित्य चौतारी, गजल मञ्च मकवानपुर, प्रलेस मकवानपुर, श्यामप्रसाद शर्मा स्मृति प्रतिष्ठान नेपाल, तरङ् साँस्कृतिक परिषद्, पालुङ साहित्य परिषद, प्रणयन परिवार, युगदर्पण साहित्य समाज, मृगतृष्णा साहित्य डबली, जुनकिरी साहित्य परिवार (नाम छुटेका हुन सक्छन्) लगायतका अनेक संस्थाहररू पनि विगतदेखि वर्तमानसम्म साहित्यिक गतिविधिमा संलग्न देखिन्छन् ।
मकवानपुर जिल्लामा आदिकवि भानुभक्त आचार्य, महाकवि लक्ष्मीप्रसाद देवकोटा, नाटककार गोपालप्रसाद रिमाल, कवि एवम् उपन्यासकार पारिजात, व्यङ्ग्यकार भैरव अर्याल आदिको प्रतिमा प्रतिष्ठापन गरी विशिष्ट भूमिका निर्वाह गरिसक्नु भएका साहित्य सङ्गमका पूर्वअध्यक्ष आर.सी. रिजालले साहित्य सङ्गमको भवन निर्माणार्थ वि.सं. २०५८ मा आफ्नै ४ धुर जग्गा अनुदानमा प्रदान गर्नुभए पश्चात साहित्य सङगमले विभिन्न संघ संस्थाको सहयोगमा भवन निर्माण गरेकाले विविध सहित्यिक कार्यक्रम सञ्चालन गर्न सहज भएको छ ।

आफ्नो समग्र जीवनको मूल्याङ्कन कसरी गर्न रुचाउनुहुन्छ ?
आफैँलाई ग्लानि हुने काम केही गरिएन । गर्व लिने काम गर्नै बाँकी छ ।
अन्त्यतिर मकवानपुर जिल्लाको पछिल्लो साहित्यक गतिविधिलाई कसरी हेरिरहनुभएको छ ।
उत्साहित छु । खासगरी यहाँ नयाँ पुस्ताको निर्मिति र निरन्तरता अत्यन्त उत्साहप्रद छ । त्यसैगरी साहित्यक सङ्घसंस्थाका गतिविधि पनि बढी नै रहेका छन् । म पछिल्लो समयको मकवानपुरे साहित्यसँग प्रभावित छु । यो युवा उत्साहलाई हामीले जोगाउनु पर्छ ।

र, अन्त्यमा प्रायः गरेर साहित्यकारको व्यक्तित्व र कृतित्वसम्बन्धी ग्रन्थहरू लेखकको शेषपछि छाप्ने प्रचलनविरुद्ध तपाईँको विषयमा तयार पारिएको यो पुस्तक तपाईँको जीवनकालमै छापिएर आएको छ । यो प्रक्रिया वा भनौँ घटनालाई तपाई कसरी लिनुहुन्छ ?
सबैभन्दा म ‘बुढ्यौली साहित्य समाज’ प्रति यसका अध्यक्ष आर.सी. रिजाल, सम्पादक निमेष निखिल र समग्र लेखक एवम् कविहरूप्रति हार्दिकतासहित म कृतज्ञ छु, आभार व्यक्त गर्छु । त्यसो त उमेरले म डुब्न लागेको घाम भै सकेको छु । अब त केही शेष छैन भन्दिनँ म । जति शेष छ राम्रै बित्ला नि भन्लान् सबैले । सबैको आशयहरू रहन्छ अन्त्यसम्म । म बेग्लै किन हुन्थेँ ।
तपाईँकै यही अन्तवार्तामा ‘आफ्नो जीवनको मूल्याङ्कन कसरी गर्न रुचाउनु हुन्छ ?’ सोध्नुभएको थियो । त्यही उत्तर दोहोर्‍याउँछु– आफैँलाई ग्लानि हुने काम केही गरिएन । गर्न मिल्ने काम गर्न बाँकी नै छ । मेरो जीवनको खाका यही नै हो । मेरो चाहिँ अन्तिम प्रश्न बाँकी नै छ के ? उत्तर सुन्न नपाए पनि यो पुस्तकबाट म आफैँलाई छर्लङ्ग पाउने छु । प्रश्नका लागि धन्यवाद निमेष सर ।