१. हार्दिक स्वागत छ ‘नव साहित्य अनलाइन पत्रिका भेटवार्ता’ मा ।
- धन्यवाद ।
२. पछिल्लो समय केमा व्यस्त हुनुहुन्छ ?
- मैले नलेज भिलेज नेपाल स्थापना गरेको छु । हामी त्यसैको परिसरभित्र छौँ । जसमा एउटा आवासीय क्षेत्र रहेको छ भने अर्को नलेज भिलेज सञ्चालित छ । जसमा तालिमहरू सञ्चालन हुन्छन् । अचेल एकदुई वर्षदेखि विगतको अनुभवहरू समेटेर किताबहरू पनि लेख्न थालेको छु ।
३. देशको पछिल्लो आर्थिक अवस्था जर्जर भयो भन्ने गुनासो छ । लामो समयदेखि बैंकिङ्ग क्षेत्रमा जीवन बिताउँदै गर्दा देशको पछिल्लो आर्थिक अवस्था कस्तो देख्नुहुन्छ ?
- खास गरेर कुनै पनि देशको आर्थिक अवस्था बलियो बनाउन देशमा भएको स्रोत र साधनको उच्चतम प्रयोग गरी विश्व बजारमा बेच्न सक्नुपर्छ । हामी त्यसो गर्न सकिरहेका छैनौँ । हामी के गरिरहेका छौँ भने, यहाँ रोजगारी छैन, रोजगारीका लागि जनता आफैँ विदेश गएर रेमिट्यान्स् पठाइरहेका छन् । अर्को अत्यधिक मात्रामा वैदेशिक ऋण ल्याइरहेका छौँ । जब हामीसँग पैसा पुग्दैन अनि कोहीसँग रोइकराई ऋण मागिरहेका छौँ । ऋण र रेमिट्यान्सले मात्रै देश चलिरहेको छ । पहिलेदेखि नै चलिरहेको थियो, त्यही क्रम अहिले पनि छ । पछिल्लो समय कोभिडले विश्वव्यापी आर्थिक मन्दी भयो । रुस-युक्रेन युद्धले पनि केही मात्रामा प्रभावित गर्यो । उत्पादन बढाएर जबसम्म आफ्ना सामानहरू बाहिर बेच्दैनौँ तबसम्म आर्थिक समृद्धि आउँदैन । त्यसमा कुनै पनि प्रयास भइराखेको देखिँदैन ।
४. ‘लेखकहरू समाजको वर्तमान अवस्थालाई लेख्छन्’ भनिन्छ । अहिलेको जर्जर आर्थिक अवस्थालाई साहित्यमा कसरी जोड्ने ? के सुझाव दिनुहुन्छ ?
- तपाईँहरूले दुईवटा कार्यक्रम नव साहित्य र एनएस टेलिभिजन सुरु गर्नुभएको छ । यसले साहित्यमा ठूलो योगदान गर्छ भन्ने मलाई विश्वास छ । अहिले मान्छेको लेख्ने पढ्ने बानी छैन । सामाजिक सञ्जाल (फेसबुक) हरूमा युनिकोडमा लेख्छौँ । त्यसमा लेख्दा एक त हतारमा लेख्छौँ भने अर्को हामीले भनेको सबै शब्द तुरुन्तै पाइँदैन । (गुगल इनपुटलाई इङ्गित गर्दै) जे गरे पनि मान्छेले बुझिहाल्छन् भनेर जे पायो त्यही हाल्छन् । यसले हाम्रो साहित्य झन् बिग्रेर जाने भो । हिजो भर्खर म सहिद स्मारकमा बसिरहँदा दुईजना विदेशी डाक्टरहरू र नेपाली डाक्टर घुम्न आएका रैछन् । हामी नेपालीमा कुरा गरिराथ्यौँ । ती न्युजिल्यान्डका डाक्टर पनि नेपालीमैं कुरा गरिरहेका थिए । कुरा गर्दै जाँदा उनको नेपाली यति शुद्ध थियो कि मलाई छक्क लागेर ‘तपाईँको नेपाली यति शुद्ध रैछ, हामीलाई खुसी लाग्यो । हामीले बोल्दा बरू कहिलेकाहीँ गल्ती हुन्छ’ भनेर सोध्दा नेपाली डाक्टरले ‘उहाँ ग्रामरमा विशेष चनाखो हुनुहुन्छ’ भन्नुभयो । त्यही भएर नेपाली शुद्ध रहेछ । हामी त ग्रामर पनि मिलाउँदैनौँ । अङ्ग्रेजीमा स्पेलिङ र ग्रामर मिलेन भने त्यो पत्रु भएर जान्छ । नेपालीमा कसैले त्यसको मतलब राख्दैन । त्यसकारण तपाईँहरुको माध्यमबाट पाठकहरूले शुद्ध पढ्ने र शुद्ध लेख्ने गर्नुहुन्छ भन्ने विश्वास छ ।
- तपाईँको प्रश्नको दोस्रो भागमा जाँदा यसलाई आर्थिक पाटोसँग जोडिनु निश्चित नै पर्छ । अस्ति अनलाइन (नव साहित्य अनलाइन) उद्घाटन कार्यक्रममा पनि मन्तव्यहरूमा केही चासो देखियो । निकाल्न त निकाल्नु लाग्नुभयो, पछि बन्द नहोस् भनेर । बन्द नहोस् के कारणले भने आर्थिक पाटोबाटै हो । तपाईँहरूले सुरु गर्नुभएको छ, आफैँले बन्द गर्ने कुरा आएन । आर्थिक पाटोको कारण बन्द हुन सक्छ । तर म के कुरामा ढुक्क छु भने यदि तपाईँहरूमा क्वालिटी छ, साहित्यमा राम्रा राम्रा कविताहरू, समाजका चित्रणहरू व्यक्त गर्ने कथाहरू, त्यस्ता कुराहरू शुद्ध नेपालीमा आउन थाल्यो भने पाठकको रुझान त्यतातिर जान्छ । जति धेरै पाठकहरू भयो त्यति विज्ञापन आउँछ ।
५. नेपालमा व्यावसायिक लेखनको सुरुवात भयो कि बाँकी छ ?
- बिस्तारै बिस्तारै सुरु भइरहेछ । तपाईँलाई उदाहरण दिन्छु, जस्तै विजयकुमार पाण्डेले खुसी लेखे । त्यति बेला उनलाई थाहा थिएन कि यो वेस्ट सेलर किताब हुन्छ भनेर । किनभने उनी एकदम खरो, बोल्ने पनि खरो लेख्ने पनि खरो । त्यसमा नयाँपन आयो । पाठकहरुले नयाँ स्वाद पाए र त्यो बेस्ट सेलर भएर त्यो दश बाह्र हजार बिक्री भइसकेको छ । उहाँले त्यसबाट उत्साहित भएर सम्बन्धहरू पुस्तक प्रकाशित गरिसक्नुभएको छ । म आफ्नै कुरा गर्छु । मैले दुइटा किताब छापेँ । एउटा परिवर्तन जीवन यात्रामा । त्योचाहिँ मोटिभेसनल किताब थियो । मेरो चाहना के थियो भने यो किताब सबैले पढुन् । त्यसको मूल्यको कारणले मात्रै मान्छेले त्यसलाई नछोडुन् । आफ्नो जीवनमा केही नयाँपन पनि लिएर आउन्, उर्जा थपुन् भन्ने थियो । मैले त्यसलाई करिब करिब फ्रीमै बेचेँ । मैले पछिल्लो किताब बैङ्किङ क्षेत्रमा बढेका पाइला कसैलाई पनि निःशुल्क दिइनँ । दिनैपर्ने मान्छेलाई एक दुइवटा भेट गरेँ । त्यो मैले दराजमा राखेँ । त्यसको अहिले व्यापक प्रचारप्रसार भइरहेको छ । फेसबुकमा एउटा अकाउन्ट नै छ, बैङ्किङ क्षेत्रमा बढेका पाइला भन्ने । यसबाट मैले अहिले रिपोर्ट दिँदा किताब गइराखेको छ । रत्न पुस्तक भण्डारले पनि त्यो लिएर बेच्ने प्रयास गरिरहेको छ अरे । भन्दाखेरि आफू प्रोफेसनल हुनुपर्यो र त्यो दिएको कुराचाहिँ नयाँपन हुनुपर्यो । त्यो हुँदा साहित्यमा नयाँपन आउँछ ।
६. तपाईँले भन्नुभयो तपाईँको पहिलोभन्दा दोस्रो पुस्तक बिक्रीको हिसाबले राम्रो रह्यो । अब धेरै लेखकको गुनासोचाहिँ पुस्तक प्रकाशन हुँदा पनि बिक्री भएन भन्ने छ । अब लेखकहरू पाठकको इच्छाअनुसार लेख्न अझै सकिरहेका छैनन् भनेर बुझ्ने हो हामीले ?
- खास त वातावरण अलिकति सामाजिक सञ्जालले बिगारिदियो । रिडिङ कल्चरलाई तल्लोस्तरमा पुर्याइदियो । रिडिङ कल्चर छैन तर पनि पाठकहरू छन् नभएका होइनन् । त्यो सानो मार्केटमा किताब क्वालिटीको हुनुपर्यो । नयाँ किसिमको हुनुपर्यो । त्यो भएमा बजार अहिले पनि छ । नभएकैचाहिँ होइन । प्रकाशक राम्रो हुनुपर्यो । प्रकाशक राम्रो हुनका लागि तपाईँले लेखेको किताब राम्रो हुनुपर्यो । तब न लेख छाप्छ । त्यसकारण आफ्नो लेखाइमै मेहनत गर्नुपर्छ ।
७. राजधानीका ठुला प्रकाशन गृहले राजधानीबाहिरका लेखकहरूलाई टेर्दैनन् भन्ने गुनासो छ । यसको कारणचाहिँ के हो ?
- कारण त क्वालिटी पुग्दैन भन्ने उनीहरुलाई लाग्छ । हामीले गर्नुपर्ने कुरा हाम्रो लेखाई नयाँ किसिमको छ, रोचक छ भने प्रकाशककहाँ लगेर फाल्दिनुपर्यो । यसलाई हेरेर छाप्ने नछाप्ने सोध्नुपर्यो । हामीले त्यसलाई छोड्नुभएन । हामीले ठुलो प्रकाशकले छाप्दै छाप्दैन भनेर पहिल्यै डिमोरलाइज्ड भएर बस्ने हो भने उनीहरूले कहिल्यै छाप्दैनन् । उनीहरूलाई हेरिदिनू भनेर भन्नुपर्छ । त्यसमा उनीहरूले सुझाव दिएर, परिमार्जन गर्न लगाएर पनि छाप्छु भन्न सक्छन् । क्वालिटी पुग्दैन छाप्दिनँ भन्छ भने आफ्नो क्वालिटी बढाउनुपर्यो ।
८. राजधानी र मोफसल लगभग लगभग हराएको छ । सामाजिक सञ्जाल, युट्युब च्यानलले गर्दा कुनाकाप्चामा रहेका मानिसहरूले पनि सामाजिक सञ्जालमा रचनाहरू राख्दा देशभरि पुग्ने समय आइसकेको छ । तर आर्थिक हिसाबले पनि अझै राजधानी र मोफसल भन्ने विभेद भएजस्तो तपाईँलाई लाग्दैन ?
- मैले अघि नै भने जस्तो सन्देशबाहक अर्थात् पाठकले त्यो किताबबाट के लिने ? केही कुरा पाइन्छ भने मात्रै उसले पैसा तिर्छ । केही पाइँदैन भन्ने भयो भने उसले पढ्ने र पैसा तिर्न चाहँदैन । त्यसले गर्दा आफ्नो लेखनीलाई परिमार्जन गर्दै लैजानुपर्छ । भाषाका लागि राम्रो सम्पादक राखुँला, भाषा राम्रै होला । तर त्यसले दिने सन्देशमा नयाँपन हुनुपर्यो ।
९. तपाईँ मकवानपुरमै बसेर लेखिरहनु भएको छ । मकवानपुरको लेखनलाई कसरी हेर्नुभएको छ ?
- मकवानपुरको लेखन माथि गइरहेको महसुस गरेको छु । शान्तिप्रिय वन्दनाको किताब काठमाडौँका पब्लिसरले छापेका छन् । अरू थुप्रै लेखकहरूका पुस्तकहरू काठमाडौँमै छापिइरहेका छन् । नवसर्जकका रूपमा बालबालिकाहरू पनि आइरहेका छन् । छतिवन साहित्यको एक मुहान जस्तै भएको छ । धेरै अगाडिदेखि त्यहाँ साहित्यिक कार्यक्रमहरू भैरहेका छन् । अब बिस्तारै यसले राजधानीमा पनि हस्तक्षेप गर्दछ ।
१०. बजार प्रवर्द्धनको कुरा आउँदा जतिखेर पनि लेखकहरू आर्थिक रूपमा अप्ठेरोमा रहेका तथा पुस्तक प्रकाशनमा पनि सबल भैरहेका देखिन्नन् । यसको एउटै कारण बजार प्रवर्द्धन भैरहेको छैन भन्ने छ । मकवानपुरका लेखकहरूले बजार प्रवर्द्धनका लागि के के सुधार गर्नुपर्ला ?
- हामीले अहिले आपूर्तिमा जोड दिइरहेका छौँ । साहित्य सङ्गममा कविता सुनाउँदै गर्दा ५०/६० वटा कविता भएपछि ल अब छापिदिऊँ न त भन्ने छ । त्यो कविता पाठकलाई कतिको मन पर्छ । कति मासले त्यसलाई रुचाउँछन् भन्ने कुरा हामी ख्याल गर्दैनौँ । हामी आपूर्तितिर ध्यान दिइरहेका छौँ । यदि हामीले कविता, कथा, निबन्ध, लघुकथामा विशेष केही नयाँ सन्देश तथा समाजको यथार्थ चित्रण गरिएका किताबहरू निस्किए भने बजार पाउँछन् । अर्को कुरा साहित्यलाई आर्थिक पाटोसँग जोड्नुपर्छ जस्तो मलाई लाग्छ । आफ्नो विगतका केही कुरा पनि भन्छु । म अल्पाइनमा काम गर्दै थिएँ । मुक्तिगोविन्दजीले आएर शनिबार के गर्नुहुन्छ भन्नुभयो । एक दिन बिदा हुन्छ । घरतिर यताउति गरिन्छ । कहिले घुम्न गइन्छ भनेँ । उहाँले साहित्य सङ्गममा आउनू, रचनाहरू सुन्न पाइन्छ भन्नुभयो । त्यतिखेर मलाई कविता, गजल, मुक्तक आदिसँग कुनै रूचि नै थिएन । म वित्तीय क्षेत्रको मान्छे । म वित्तीय क्षेत्रको कविता आओस् भनेर जान्थेँ । कहिल्यै आएन । म निराश भएर मैले वित्तीय क्षेत्रको मात्रै कविताको कार्यक्रम होस् भनेर पुरस्कार राख्ने कुरा गरेँ । त्यसपछि त्यही क्षेत्रको कविता, गीत आयो । गीतमा निकै राम्रो सन्देश थियो । विदेश विदेश कति भन्थ्यौ के नै फल्छ र त्यहाँ, त्यहाँको मेहनत यहाँ गर आर्थिक समृद्धि हुन्छ भन्ने खालको ज्ञानु थापा मगरको गीत थियो । यस्ता सन्देशहरू पनि कवितामा आउनुपर्छ । ताकि वित्तीय साक्षरता बढाओस् । त्योबिना आर्थिक समृद्धि सम्भव छैन ।
११. तपाईँका २ वटा पुस्तक बजारमा छन् । आगामी योजना के छ ? अर्को पुस्तक तयार हुँदै छ कि के छ ?
- नयाँपन ल्याउनुपर्छ । मानौँ म अहिले अमेरिका गएर आएँ, म भर्जिनियाँ घुमेँ, यता घुमेँ, उता घुमेँ यस्ता विषयसँग पाठकलाई कुनै सम्बन्ध छैन । पाठकलाई मन पर्ने हुनुपर्यो । म अहिले नयाँ पुस्तक लेख्न लागिरहेको छु । किताबको नाम मृत्युपछिको जीवन । मान्छे छक्कै पर्लान्, मृत्युपछि जीवन त हुँदैन । मैले यस पुस्तकमा आफूलाई मरेको बनाएर आफू बाँच्ने लेख रहनेछ । मरेपछि मानिसलाई रिस, ईर्ष्या, घमन्ड केही हुँदैन, मरिसकेको हुन्छ नि । त्यो जिन्दगीमा जानका लागि प्रयास हुनुपर्यो र किताब पनि लेख्नुपर्यो । यही लेख्दै छु ।
१२. अघि पनि तपाईँले भन्नुभयो- साना भाइबहिनीहरू पनि पुस्तक निकालिरहेका छन् । राम्रो लेखिरहेका छन् । होला पाठकले खोजेकै आइरहेको छैन होला तर उनीहरू निरन्तर सक्रिय छन् । ती नयाँ पुस्ता जो नेपाली साहित्यमा लागिरहेका छन् र लाग्न चाहिरहेका छन् उनीहरुलाई तपाईँ के सन्देश दिनुहुन्छ ?
- अनेकखालका प्रोत्साहन दिनुपर्छ । विभिन्न संस्थाहरूको वार्षिक कार्यक्रमहरूमा पुरस्कारहरू पनि पाइरहनुभएको छ । त्यसबाहेक ती भाइबहिनीहरुले राम्रो किताब निकाल्दै छन् भने म जस्तै मानिसहरूले आर्थिक सहयोग पनि गर्नुपर्छ । यसो गर्दा उनीहरू प्रोत्साहित हुन्छन् र अझै राम्रो पुस्तक आउँछ ।
१३. यहाँको व्यस्त समयका बाबजुद पनि हामीलाई समय दिनुभयो, एन एस टेलिभिजन र नवसाहित्य डट कम यहाँप्रति हार्दिक आभारी छ ।
- म पनि यहाँहरुलाई धन्यवाद दिन्छु । मेरो नलेज भिलेज र मेरो रेसिडेन्समा कफीका साथ साहित्यिक र साहित्यसँग आर्थिक विषयलाई जोडेर अन्तर्वार्ता लिनुभयो । यसले पाठकहरूलाई नयाँ र राम्रो सिर्जना गर्नमा केही मद्दत गर्दछ र अन्त्यमा तपाईँहरूको नव साहित्यमा राम्रा राम्रा कविता, कथा, लेखहरू अन्तर्वार्ताहरू भए भने आर्थिक रूपमा यो संस्था पनि सबल हुन्छ र होस् भन्ने चाहनाका राख्दै धन्यवाद भन्दछु ।