भरतपुर– ५, कविडाँडा, चितवन निवासी रामकृष्ण ‘अनयास’ चितवन मेडिकल कलेज शिक्षण अस्पतालमा कार्यरत हुनुहुन्छ । उहाँ गजल, कविता, मुक्तकलगायतका विधामा सक्रिय हुनुहुन्छ । उहाँका ‘धमिलिएका डोबहरू’– २०७०, गजल विशेष ई-सङ्ग्रह ‘अनायासका पानाहरू’लगायतका कृति प्रकाशित छन् । उहाँ गजल मञ्च चितवनका उपाध्यक्ष, कविडाँडा साहित्य समाजका सहसचिव हुनुहुन्छ ।

हिजो थोत्रो साइकलमा
घन्टी बजाउँदै
हिँडेको रामबहादुर
आज
गरिबको सपना उडाउँदै
रातो कारमा बेगले हुइँकिन्छ

कठै ! मेरा बाको चप्पल फाट्यो
गाँस काटियो, बास नै फुस्कियो
र त आज ऊ नेता बनेको छ

एक मुठी भटमासले पेट अघाएकी मनमायाले
आफ्नो छाती चुसाउँदै सन्तानको पेट भर्दासम्म
हिजो उही थोत्रो साइकलमा यही गाउँ चहार्ने
रामबहादुर आजसम्म अघाएन ।

ऊ अर्थात राम बहादुर कहिल्यै चाहँदैन
गरिबले सपना देखुन्
त्यसैले त कहिल्यै निदाउनै दिएन
कलिलो हातमा आश्वासनको झन्डा थमाइदियो
अनि भोक बिर्साउन बारम्बार उखान सुनाइरह्यो

घाम ऊ त्यो डाँडामाथि पुग्दै गर्दा
म सधैँ भोलि कति बेला बिहान हुन्छ भन्छु
मेरा प्वाल परेका सबै सपनाका छानाहरूबाट
बारम्बार गरिबिले घोचिरहँदा निकै पीडा हुन्छ ।

हरेक रात मेरा आँखाहरूले गाला भिजाउँदै
बाध्यता र विवशतामा पौडिदै दौडिएका
आँसुमा खेल्ने बानी परेको रामबहादुर
एकाबिहानै गरिबले देखेको सपनाको बहाल
उठाउदै टुप्लुक्क आइपुग्छ ।

बिचरा कैयौँ सपनाको मलामी बनेका मनहरू
गाँठो पार्दै भक्कानिँदै भगवान् सम्झिन्छन्
अनि आशाको दियो बाल्दै भोको पेटले
चढाएको एक सुका
रामबहादुर अझै मन्दिर बनाएर पैसा कमाउने दाउ सोच्दै छ ।
कविडाँडा, भरतपुर, चितवन