Homeकविताकविता : हजुरको स्वागतमा मुस्कान पस्केको छु / जनक कार्की
कविता : हजुरको स्वागतमा मुस्कान पस्केको छु / जनक कार्की
पाल्पामा जन्मेका जनक कार्की हाल तानसेनमाबसोबास गर्छन् । प्रमाणपत्र तहसम्मअध्ययन गरेका उनी पेसाले रेडियोकर्मी हुन् । साहित्यिक आबद्धताका दृष्टिले उनी पाल्पा स्वास्थ्य तथा साहित्य प्रतिष्ठानका आजीवन सदस्य तथा विश्व साहित्य सञ्जालका उपाध्यक्ष हुन् । पुस्तक प्रकाशनतर्फ उनको संयुक्त कविता सङ्ग्रह `अनुहारको भिड प्रकाशित छ । बाह्रखरी उत्कृष्ट कथा २०७९ र बौद्ध विश्वविद्यालय उत्कृष्ट बौद्ध कथा उनले पाएका केही पुरस्कार / सम्मान हुन् ।
हजुर आउने भनेको सुनेपछि मेरो झ्यालबाट देखिने चन्द्रमालाई छेकेको बाँसघारीलाई फाँडेको छु बादललाई खेत रोप्न पठाएको छु लामखुट्टेलाई मामाघर पुर्याएर आएको छु ।
हजुर आउने भनेको सुनेपछि आकाशको प्लेटमा काजुजस्ता तारा पस्केको छु जुनको किरण प्यालामा खनाएर राखेको छु फूलभित्रको परागमा बसेको अत्तर चोरेर घरभरि छर्केको छु ।
हजुर आउने भनेको सुनेपछि धेरै दिनपछि बेरोजगार कुचोले काम पाएको छ रेस्टुरेन्टमा खाना खाने एउटा ग्राहक घटेको छ अल्छी ग्यास चुलो भरभराउन थालेको छ ।
हजुर आउने भनेको सुनेपछि ओथारो पारेर बसेका फोहोर कपडाले पानीको मुख देखे न्युड सिरानी र सिरकले कपडा लगाउन पाए पक्षाघात भइसकेको तन्ना फिजियोथेरापीले तनक्क तन्किन पायो ।
हजुर आउने प्रतीक्षामा कति बेला डोर बेल बज्ला भनेर व्यग्र प्रतीक्षामा थिएँ अचानक फोन रिङ आयो भन्नुभयो,`ठेगाना नजिक आइपुगेको थिएँ साउने झरीले पहिरोमा फसियो ।´