हामी हरेक शुक्रबारीय अङ्कमा नयाँ नयाँ अतिथिसँग विशेष कुराकानी गर्छौँ । आज मकवानपुर बहुमुखी क्याम्पसमा लामो समयदेखि नेपाली विषयमा प्राध्यापन गरिरहनु भएका प्राध्यापक घनश्याम घिमिरेसँग हेडम्बा पब्लिकेसनद्वारा सञ्चालित नव साहित्य डट कम तथा एन‍‍ एस टेलिभिजनका कार्यकारी सम्पादक मसान उपासकले गर्नुभएको अन्तर्वार्ता ।

मकवानपुरको पछिल्लो लेखनको गतिविधिलाई यहाँले कसरी नियालिरहनुभएको छ ?

  • मकवानपुरमा विशेष साहित्यिक लेखन सन्दर्भमा एक किसिमको चहलपहल, केही लेख्नुपर्छ भन्ने छटपटी क्रमशः वृद्धिको क्रममा रहेको छ भन्ने मेरो बुझाइ रहेको छ । अघिल्लो पुस्ताले मकवानपुर क्षेत्रमा रहेर गरेको साहित्यलेखनको साधनालाई नव पुस्ताले पनि निरन्तरता दिने र त्यो बाटोमा आफूलाई पनि उन्मुख गराउने प्रयास गरिरहेको महसुस मैले गरिरहेको छु ।

मकवानपुर सम्झिनेबित्तिकै भीम विरागदेखि आजसम्म धेरै जना व्यक्तित्वहरूको नाम जोडिँदै आउँछ । अब पुरानो अवस्था जतिखेर भीम विरागहरूले नेपाली साहित्यमा मकवानपुरबाट एकखालको हस्तक्षेप गरे, त्यो खालको हस्तक्षेप गर्नसक्ने नयाँ पुस्ताहरू आइराखेको देख्नुहुन्छ या छैन ? कस्तो अवस्था रहेको छ ?

  • यो मकवानपुरे साहित्य भन्छौँ नि हामी, साहित्यको सन्दर्भलाई २ किसिमले नियाल्नुपर्छ । एउटा मकवानपुरमा रहेर यहीँको सेरोफेरोमा आधारित भएर साहित्य लेखिरहेको स्रष्टालाई एक किसिमले बुझ्नुपर्छ । अनि मकवानपुरमा जन्मिएर हुर्किएर तर साहित्यिक क्षेत्रमा आफूलाई वृद्धि विकास गर्दै बाहिर निस्केको साहित्यकारलाई अर्को किसिमले बुझ्नुपर्छ । जस्तो हामीले मकवानपुरे माटोसँग जोडिएका साहित्यकार अन्तर्गतचाहिँ श्यामप्रसाद शर्मा, बालकृष्ण पोखरेल, केशवप्रसाद उपाध्याय र तपाईंले भने जस्तो भीम विरागलाई लिन सक्छौँ । अहिले पछिल्लो चरणमा आएपछि गोविन्द गिरी प्रेरणा, अनमोलमणि, युग पाठक यी व्यक्तित्वहरू जोचाहिँ मकवानपुर क्षेत्रमा जन्मनुभयो । यहीँ रहनु भयो पछि आफ्नो साहित्यिक वृद्धिसँगसँगै आफूलाई अलि फराकिलो बनाएर बाहिर पनि निस्कनु भएको छ । यसरी दुई किसिममले मकवानपुरको साहित्यलाई तुलना गर्नुपर्छ भन्ने लाग्छ । यसरी हेर्दा मकवानपुरको साहित्यमा लागिरहनु भएको र लाग्न खोज्नु भएका नवपुस्ताहरूलाई हेर्ने हो भने अहिलेको नयाँ पुस्ताचाहिँ यहीँको साहित्य यहीँका साहित्यकारहरूलाई आदर्श ठानेर लेखिरहेका छन् तर भोलि उहाँहरूकाे साहित्यिक लेखनमा विकास हुँदै गएपछि साहित्यिक सीमाहरू कहाँ पुग्ने होला, त्यो भोलि देखिने कुरा हो तर अहिले मैले हेर्दाखेरि चाहिँ के मकवानपुर क्षेत्रमै रहेर जो लेखिरहनुभएको छ र यही बसिरहनुभएको छ, उहाँहरूलाई नै आदर्श ठानेर लेख्ने प्रवृत्ति बढ्दो छ ।

मकवानपुरभन्दा बाहिरका युवा पुस्तालाई पनि तपाईँले हेरिराख्नुभएको छ । अन्य जिल्लाका युवा पुस्ता र मकवानपुरका पुस्तालाई कसरी तुलना गर्ने ?

  • मकवानपुर क्षेत्रको नवपुस्ताले लेखिरहेको साहित्यिक लेखनको प्रवृत्ति र बाहिरको पुस्ताले लेखिरहेको साहित्य लेखनको प्रवृत्तिलाई तुलना गर्दा लगभग त्यसमा चाहिँ धेरै फरकपन देखिँदैन । किनभने अहिले हामीले भूगोलले एउटा ठाउँ अर्को ठाउँ भने पनि प्रविधिले हामीलाई संसारसँग एकअर्कामा जोडिरहेको छ । यो प्रविधिले जोडेको कारणले पनि र प्रविधिका धेरै सम्भावनाको कारणले पनि अहिले हाम्रो पुस्ता नेपाली साहित्यको विश्वको नयाँ पुस्तासँग जोडिइरहेको छ । त्यस अर्थमा चाहिँ त्यति धेरै फरक देखिँदैन तर समस्या कहाँनिर छ भने यो नवपुस्ताले यहीँको साहित्य लेखनलाई हेरिरहेको छ, देखिरहेको छ नि त्यसलाई मात्र आदर्श ठान्दियो, यहाँ भएका अग्रज कविहरू अग्रज लेखकहरू नै आदर्श लेखक हुन् र यति भए पुग्यो भन्ने पुस्ताले ठान्दियो भने त्यहाँनिरचाहिँ सङ्कुचन हुने समस्या रहन्छ छ ।

मोफसल र काठमाडौँ भन्नेखालको विभेद लगभग सकिएको छ । मकवानपुरको साहित्य र यहाँका लेखकहरूलाई बाहिर वा बाहिरी लेखकसँग कसरी जोड्ने ?

  • अब यो विषयमा हामी स्रष्टाहरूले आफ्नो अलि फराकिलो ढङ्गले सोच्ने बेला आएको छ । कहिलेकाहीँ हामीले समीक्षा समालोचनालाई निर्मम प्रहारको रूपमा मात्र नलिई गर्न यो सिर्जनात्मक उपचारको रूपमा पनि बुझ्नुपर्दछ । मैले लेखिरहेको साहित्य यही नै ठिक छ, यही नै गतिलो छ भन्ने दायरामा हामी सीमित भयौँ भने हाम्रो लेखन सङ्कुचित हुन्छ । त्यसले फराकिलो आकाश भेट्न सक्दैन । यो परिपेक्ष्यमा मैले लेखेको साहित्य कस्तो छ भनेर जुन किसिमले तटस्थ र सही समालोचना समीक्षा भएको हुन्छ, त्यसको गहिराइलाई बुझ्ने, त्यसको मर्मलाई बुझ्ने र आज लेखेको सिर्जनाबाट भोलि उत्कृष्ट बन्ने प्रयत्नतिर लाग्नुपर्छ । तर धेरैजसो साहित्यिक रचना कस्तो देखिन्छ भने मैले लेखेको कुरा प्रशंसा गर्दियोस्, प्रशंसामा गजधम्म फुलूँ र त्यसैलाई सँधै मेरो उत्कृष्ट सिर्जनाका रूपमा बनाइरहन पाऊँ भन्ने किसिमको अपेक्षा छ, त्यसले हामीलाई त सङ्कुचित गराउँछ नै, हाम्रो सिर्जनालाई पनि कमसल बनाइदिन्छ र हाम्रो साहित्यिक दायरालाई पनि फराकिलो हुनबाट रोक्छ । यो समस्याबाट मकवानपुरे साहित्य बच्नु आवश्यक छ । यदि हामी अझै फैलिन चाहन्छौँ भने यहाँ अग्रजले जे लेख्नुभएको छ, त्यो केही हदसम्म ठिक छ तर सम्पूर्णरूपमा त्यही नै ठीक हो भन्ने बुझाइबाट हामी मुक्त हुनुपर्छ ।

तपाईंले समालोचनाका आधारमा लेखकहरू सुध्रिने त भन्नुभो तर नेपालमा त समालोचना लेखन मै समस्या छ भन्ने गुनासो पनि छ नि ?

  • समालोचनाका आधारमा लेखकहरू सुध्रिनेभन्दा पनि समालोचना पनि आफैँमा सुध्रिनु आवश्यक हुन्छ । समालोचना स्वस्थ छ कि छैन भन्ने कुरामा लेखकले पनि मेरो सृजनाको बारेमा जुन किसिमले समीक्षा समालोचना व्याख्या बहस भइरहेको छ, यो सही किसिमले भयो कि भएन भन्ने कुराको जजमेन्ट पनि लेखकले गर्नुपर्छ । स्वस्थ समालोचनालाई आदर्श बाटोको रूपमा पहिचान गर्न सक्नुपर्छ । कहिलेकाहीँ समालोचना नै अस्वस्थ, अलि सही किसिमले नभएको अवस्था र सिर्जनालाई दिग्भ्रमित बनाएको अवस्था पनि छ । त्यसबाट पनि लेखक बच्नुपर्ने चुनौती छँदै छ । मैले समालोचनालाई किन महत्त्व दिएको हुँ भने यदि सही किसिमले वस्तुपरक समालोचना गरिएको छ, भने त्यो वस्तुपरक समालोचनाले लेखकलाई अझ सिर्जनात्मक दायरा फराकिलो बनाउन आज लेखिरहेको सिर्जनाभन्दा पनि अझै उत्कृष्ट सिर्जना बनाउनको लागि एउटा आधार तयार गर्दछ । जुन लेखकको एउटा राम्रो पृष्ठभूमि पनि हो । यसकारण स्वस्थ समालोचना सबालमा बजारमा आएका सबै समालोचनाहरू समालोचना हुन् कि होइनन् भन्ने कुरामा पनि बहस गर्ने ठाउँ छ ।

मकवानपुरमा पुस्तक प्रकाशनको क्रम बढेको छ । स्तरीय लेखनचाहिँ भएन, राष्ट्रिय रूपमा हस्तक्षेप गर्ने खालको पुस्तकहरू आएनन् भन्नेखालको गुनासो पनि सुनिन्छ । यसलाई मान्नुहुन्छ ?

  • सृजनात्मक प्रकाशनको सवालमा पनि दुई खालको प्रवृत्तिहरू देखिरहेछु । एउटा अध्ययन गरेर नयाँ पुस्ता वा भर्खरको पुस्ताले पुस्तक प्रकाशन गरिरहेका छन् भने जीवन जगत्‌को लामो अनुभव बोक्नुभएका अग्रज पुस्ताहरूले पनि पुस्तक प्रकाशन गरिरहनुभएको छ । तर नयाँ पुस्ताले पुस्तक प्रकाशनमा हतार नगरिदिए हुन्थ्यो । हतारोले पछि आफूलाई पिरोल्छ कि भन्ने मलाई लागिरहन्छ । किनभने सिर्जनात्मक पुस्तक भनेको दस्तावेज हो, जुन छोपेर वा मेटेर मेट्न सक्दैनौं । कालान्तरसम्म रहिरहन्छ । यसैले आफूले प्रकाशन गरेको पुस्तकले आफू परिपक्व भैसकेपछि नगिज्याओस् भन्ने कुरा सर्जक आफैँले बुझ्नुपर्छ । यस्तै पुस्तक प्रकाशनमा राय दिनेहरूले पनि तिम्रो पुस्तक राम्रो छ भनिरहँदा वास्तवमा प्रकाशन गर्न योग्य भएर वा मन राख्नका लागि भनिएको हो भन्ने कुरा पनि बुझ्न आवश्यक छ । मन राख्नका लागि प्रकाशन भएका तर पछि कमसल पुस्तकका रूपमा दर्ज भएको पनि देखिएको छ । यसकारण नयाँ पुस्ता, लेख्दै गरेको पुस्ता, केही गर्छु भन्ने पुस्ताले आफूलाई परिपक्व र सिर्जनात्मक उपलब्धीलाई पनि उत्कृष्ट भएको ठहर्‍याएपछि मात्रै पुस्तक प्रकाशन गर्दा उपयुक्त हुन्छ ।

तपाईँ समालोचनामा लामो समयदेखि लागिराख्नुभएको छ । नेपाली विषय अध्यापन गराइरहनुभएको छ । तपाईँको आगामी योजनाचाहिँ के छ ? तपाईँको पुस्तक कसरी पाठकले पाउँछन् वा योजना के रहेको छ ?

  • लेखनका दृष्टिकोणले सामान्यतया म पनि साहित्यमा रुचि राख्ने व्यक्तिहरू जस्तै म पनि उसैगरी अघि बढेको हुँ । कुनै समय कविता, गजल मुक्तक, कथाहरू लेख्दै बढेको हुँ । पछि मेरो सिर्जनात्मक क्षमतालाई आलोचनात्मक चेतनाले छोप्दै गएकोले डराएर पुस्तक प्रकाशनमा नआएको हो जस्तो लाग्छ तर पनि मेरा केही आख्यानका खुराकहरू रहेका छन् तथा गैरआख्यानका रचनाहरूमा रुचि रहेको छ । संरक्षित अवस्थाका ती रचनाहरूलाई प्रशोधन गरी वा यतिको चाहिँ परिपक्व भयो वा प्रकाशन गर्न योग्य छन् भन्ने मलाई लागेपछि त्यसलाई प्रकाशन गर्ने नै छु । समालोचनात्मक लेखाइको दृष्टिकोणको कुरा गर्ने म अहिले औपचारिक पढाइको क्रममा अनुसन्धानात्मक पढाइमा रहेको छु । जब यो पढाइ टुङ्गिन्छ, त्यस बेला मेरा सुरक्षित डकुमेन्टहरूलाई पुस्तकाकार गर्न सक्छु । अहिले मेरो अध्ययन र अनुसन्धानका कारण पनि मैले पुस्तकका रूपमा प्रकाशन गर्न मिल्दैन । सोपश्चात् पुस्तक प्रकाशनको योजनामा भने रहेको छु ।

हामीले मकवानपुरे साहित्यका विषयमा कुराकानी गर्‍यौँ । नयाँ पुस्ता नसुध्रिकन मकवानपुरको आगामी पुस्ताले नेपाली साहित्यमा हस्तक्षेप गर्न सक्दैन । अन्त्यमा नयाँ पुस्तालाई के सन्देश दिनुहुन्छ ?

  • यो ‘नयाँ पुस्ता नसुध्रेसम्म’ भन्दा पनि ‘नयाँ पुस्ताको अझ हस्तक्षेप नभएसम्म’ भन्ने शब्द उपयुक्त हुन्छ जस्तो लाग्छ । जहिले पनि पुरानो कुरालाई नयाँ कुराले विस्थापन गर्ने नै हो । यो विज्ञानको नियम हो । त्यसरी नै मकवानपुर साहित्यको सन्दर्भमा पनि नयाँ पुस्ताले अघिल्लो अग्रज पुस्ताको भन्दा अझ उत्कृष्ट सिर्जनाको क्षमता राख्छु र त्यसरी म सिर्जनात्मक हस्तक्षेप गर्छु भन्ने आँटचाहिँ आउनुपर्छ भन्ने मेरो आग्रह हो । अघिल्लो पुस्ताले यस्तै लेखेको थियो, म पनि त्यस्तै लेख्छु भन्ने अनुकरणात्मक लेखाइमा हामी लाग्यौँ भने आफ्नो स्वत्व बढ्न सक्दैन, आफ्नो पहिचान बढ्न सक्दैन र आफ्नो बेग्लै अस्तित्व पनि बन्न सक्दैन । त्यसैले म नव सर्जकहरू जो सिर्जनात्मक क्षेत्रमा लाग्न चाहिरहनुभएको छ, अभ्यास र अध्ययन गरिरहनुभएको छ, प्रकाशन पनि गरिरहनुभएको छ भने उहाँलाई सुरुवातमा अग्रज स्रष्टालाई अनुकरणका रूपमा लिने, पछि त्योभन्दा उत्कृष्ट सिर्जना म प्रकाशन गर्न सक्छु, लेख्न सक्छु भन्ने आत्मविश्वाससहित लेखनमा आउनुहोला भन्न चाहन्छु । दोस्रो कुरा अहिले नेपाली साहित्यको क्षितिज विश्वव्यापी बन्न पुगेको छ, सूचना प्रविधिको कारणले हामी विश्व साहित्य कसरी अगाडि बढिरहेको छ भन्ने कुरा सजिलै त्यसको अध्ययन गर्ने सामर्थ्यमा रहेका छौँ । साहित्यमा लागिरहँदा मकवानपुरे साहित्यमा होइनः नेपाल, नेपाली साहित्यमा मात्र होइन, विश्व साहित्यलाई नै पहिचान गरेर त्योअनुसार आफ्नो लेखाइको उत्कृष्टतालाई फराकिलो बनाउने प्रयास गर्नुहोला । जसले सृजनाको क्षमताले र सृजनात्मक लेखाइले तपाईँको भविष्य उज्ज्वल होस् र त्यो क्षेत्रमा लाग्नको लागि म लेख्न खोज्दै गर्नुभएका लेख्दै गर्नुभएको नवसर्जकहरूलाई अनुरोध गर्न चाहन्छु । तपाईँ र तपाईँको नवसाहित्य टिमलाई मेरा विचारहरू राख्ने मौका दिनु भएकोमा धन्यवाद ।