भारतीय गायक किशोर कुमारको खास नाम आभासकुमार गाङ्गुली हो । उनले २ हजार हाराहारी गीतमा आवाज दिएका थिए । उनी गायक त हुँदैहुन्, राम्रा सङ्गीतकार र अभिनेता समेत हुन् ।
भनिन्छ, सानामा उनको स्वर निकै कर्कस थियो । सोही समयमा उनको एउटा औंलामा चोट लाग्यो । उतिखेर चोटपटकमा घरेलु औषधी लगाउने चलन थियो । औषधीले निकै चहराउँथ्यो । औषधीको समयमा उनी निकै रुन्थे । केही दिनसम्म यो क्रम चल्दै गएपछि उनको आवाजमा पूरापूर परिवर्तन भयो । बल्ल उनको कर्कस आवाज सुरिला आवाजमा बदलियो ।
उनलाई धेरै गायकहरू हंगामाबाज मान्थे । कोही कोही त उनलाई बेसूरका गायक पनि भन्थे ।
हाफ टिकेट फिल्ममा रहेको आँखे सिधी लगी गीत किशोर कुमारले केटा र केटी दुवैको स्वरमा आफैंले गीत गाएका हुन् ।
उनका बारेमा रमाइला किस्सा यसै सकिँदैनन् । एक पटक कसैले उनलाई गीत गाउनका लागि अनुरोध गरेछ । गीत गाउनुअगाडि आधा पैसा दिएको रहेछ, उनले त आधा गीत मात्रै गाएर टाप कसेछन् ।
एक पटक हाफ टिकेट नामक चलचित्रका लागि लता मङ्गेस्करसँग र किशोर कुमारको संयुक्त आवाजमा गीत रेकर्ड गराउनुपर्ने भएछ । कुनै कार्यक्रममा लता व्यस्त भएपछि उनले आफ्नो र लता मङ्गेस्कर गरी दुवैको आवाजमा आफैंले गाइदिएछन् । निर्देशकलाई यो आवाज राम्रो लागेछ र मङ्गेस्करको गीत नै रेकर्ड गराएनछन् । यस्तै अर्को एक कार्यक्रममा दादा बर्मनको अगाडी बर्मनकै आवाजमा उनकै गीत गाइदिएछन् । सराबी चलचित्रलाई नै चर्चित बनाएको गीत इंतहां हो गई इंतजार की बोलको गीत गाउँदा उनी टेबलमा लडिबुडि गर्दै गाएको प्रसङ्ग पनि छँदैछ ।
यस्ता किशोर कुमारको वैवाहिक जीवन भने चौपट नै भएछ । पहिलो विवाह केही वर्षमैं विदाई लिएपछि उनले चर्चित नायिका मधुवालासँग दोश्रो विवाह गरे । उनको निधनपछि अर्की अभिनेत्री योगिता बालीसँग विवाह गरे । २ वर्षमैं फेरि सो नाता टुङ्गियो र अर्की नायिकासँग चन्दा बर्मासँग विवाह गरे । विहेअघि बर्मालाई एक नायकले भनेका थिए अरे- किशोर कुमारले दायाँबायाँ कुरा गर्यो भने सिधै राखी बाँधिदिनु । नभन्दै यो सम्बन्ध पनि टिक्न सकेन । उनको पहिलो विवाहबाट एक र चौथो विवाहबाट एक सन्तानको जन्म भएको थियो ।
हिन्दी गीतको प्रशंसक कोही छन् भने उनीहरूको गीतको सूचीमा किशोर कुमारका गीत पक्कै रहनेछन् । उनै किशोर कुमारले ४ अगस्ट १९२९ मा जन्मिएका उनले १३ अक्टोबर १९९७ मा दुनियाँबाट विदा लिए । वैवाहिक असफलता रहे पनि उनले संसारमाझ सयौं वर्षपछिसम्मका लागि आफ्ना आवाज छोडेर गएका छन् ।
