नेपाली गीतियात्रामा एउटा स्थापित नाम वसन्तराज श्रेष्ठ । समयको यात्रासँगै उनले आफूलाई अज्ञात नामबाट चिनाए । मूलतः गीतकार व्यक्तित्व अज्ञात पछिल्लो समय ‘हाइकु’ विधामा देखा परेका छन् । ‘साँझको जून’ (२०७९) उनको पछिल्लो साहित्यिक कृति हो । यसअघि उनले ‘सपना सजाएर आँखाभरि’ (२०६३) र ‘मखमली दरबार’ (२०६९) गरी दुई ओटा गीतिसङ्ग्रह प्रकाशित गरेका छन् । २०५० सालबाट साहित्य लेखनमा सार्वजनिक भएका ‘अज्ञात’ निरन्तर साहित्य साधनामा रहेका देखिन्छन् । कम बोल्ने र प्राविधिक ज्ञानलाई सबैको सेवाको माध्यम बनाउने कर्मले उनलाई देशभरिका धेरै साहित्यिक प्रतिभाहरूले चिन्दछन् । खोटाङ जिल्लाको दिरुम नगरपालिका चिउरीडाँडामा जन्मिएर उच्च शिक्षा अध्ययन र कामको खोजीमा काठमाडौँ छिरेका अज्ञात राजनीतिक परिवर्तनका आन्दोलनमा सक्रिय मात्र छैनन् उनको परिवारभित्रबाटै जनयुद्धको बेला ठुलकुमार श्रेष्ठजस्ता सहिदले दिएको योगदान बिर्सन हुँदैन ।
अज्ञान निरन्तरको लेखन, परिष्कार र प्रकाशनबाट स्थापित बन्दै थप परिचयको आधारस्तम्भ खडा गर्न लागिपरेका छन् । कवि अज्ञातले नेपाली समाजको यावत् घटनालाई नजिकबाट हेरी त्यस घटनावलीलाई मसिनो ढङ्गले केलाएर दाम्पत्य प्रेम सामाजिक जिम्मेवारी र राष्ट्रिय घटनाक्रमलाई सरल र सरस ढङ्गले बुन्दै तयार गरेको ‘साँझको जून’ले पाठकलाई सहज ढङ्गले प्रभाव पार्दछ । ‘साँझको जून’ हाइकुसङ्ग्रहभित्र जम्मा ३१२ ओटा हाइकुहरू सङ्कलित रहेका छन् । समय–समयमा लेखिएका हाइकुहरूले विविध क्षेत्रको विषय–सन्दर्भलाई कलात्मक ढङ्गले प्रस्तुत गरेको देखिन्छ । सकेसम्म जापानी हाइकुको संरचनात्मक पक्षलाई अधिकतम पालना गरिएको हाइकुसङ््रग्रहभित्रको विषय विविधताभित्र पनि समसामयिक नेपाली जनताको जनजीवन र मान्छेको अन्तस्करणमा रहेको प्रेमलाई प्रतिध्वनित गरेको पाइन्छ । यस सङ्ग्रहभित्र रहेका हाइकुहरूको मसिनो अध्ययनबाट कविको प्रेमप्रतिको दृष्टिकोण अनि गरिखाने वर्गप्रति कविले राखेको गहिरो सहानुभूति समेत झल्किएको छ । कवि वसन्त जीवनमा वसन्तको खोजी गर्ने व्यक्तित्व त हुँदै हो जनजीवनलाई साहित्यमा जोड्न रुचाउने एउटा जिम्मेवार लेखक पनि । कवि ‘अज्ञात’ले नेपालको अर्थ राजनीति, स्वास्थ्य सङ्कट र प्राकृतिक विपत्तिको पाटोमा जनताले पाएको दुःखलाई आफ्नो लेखनीको विषयमा समेटेका छन् । नेपाली साहित्यको क्षेत्रमा जापानी हाइकुलाई नवीन ढङ्गले अपनाउने र नेपाली समाजको विषय–सन्दर्भलाई प्रस्तुत गर्दा परम्परागत ढाँचा र लेखनस्थिति अपनाउने पछिल्लो शृङ्खलामा ‘अज्ञात’का हाइकुहरू प्रभाव दिन सक्षम देखिएका छन् ।

लिम्पियाधुरा
आँखा गाड्छ छिमेकी
नेपाली सिमा ! (पृ. २९)
अँध्यारो डाकी
पेटमा लात मार्छ
लोडसेडिङ (पृ. ३०)


माथिका यी दुई हाइकुहरूको समेटेको विषयलाई मात्र हेर्ने हो भने कविको लक्ष्य कतातिर छ भन्ने बुझिन्छ । खुसीको विषय त के हो भने एउटा कालखण्डमा अठार बिस घन्टा हुने गरेको लोडसेडिङ आज निर्णायक राजनैतिक नेतृत्व र प्राविधिक ढङ्गले दक्ष कुलमान घिसिङजस्ता व्यक्तित्वको टिमले आशाको सञ्चारसहित सम्बोधन गरेको छ । लिम्पियाधुरा हाम्रो राष्ट्रको सीमा र त्यसमाथि छिमेकी राष्ट्रले गरेको ज्यादतिप्रति कवि चुप बसेका छैनन् । देशको आर्थिक अवस्था मात्र होइन भौगोलिक सीमा विषयमा पनि कवि चिन्तनशील छन् । नेपालले आफ्नो नक्सामा जमिनलाई राखे पनि भारतसँगको आपसी सहमति मिल्न नसक्दा हामी अप्राप्तिको शिकार बनेका छौँ । भूगोल जस्तो होस् त्यो सीमाप्रति आम नेपालीको चासो रहनु स्वभाविक मात्र होइन पहिलो सरोकारको विषय नै बनेको छ । चर्को भाषण गर्ने तर नेपालको वास्तविक समस्यालाई सही ढङ्गले समाधान गर्न नसक्ने नेतृत्वप्रति कविको आक्रोश पनि त्यत्तिकै छ । नेपाली धर्तीमा हामीले उठाउने विषय धेरै होलान् हामीले मसिनो ढङ्गले विषयलाई समाधान दिन समेत सक्रिय र दक्ष बन्न जरुरी छ । कवि निराशा र आक्रोशको विषयलाई मात्र पस्कँदैनन् उनी त आशाका किरणहरू देखिन थालेको र त्यो प्राप्त हुने दिशामा अगाडि बढेको विषय उठान गरेर पाठकलाई सन्दर्भ सम्झन समेत आग्रह गर्दछन् ।


उज्यालो छर्दै
उदायो रातो घाम
पलायो आशा


मानव जीवनलाई आशाको मात्रामा जोड्ने विषयमा प्रगतिशील लेखकहरू सक्रिय रहन्छन् । जीवनलाई प्रगतिको बाटोमा लैजान प्रेरित गर्ने लेखक नै प्रगतिशील लेखक हो । उनले सामान्य जनताको जीवनस्तरलाई ध्यान दिन नेतृत्वलाई आह्वान गरेका छन् ।


चौकुना भ्वाङ
गरिबको झुपडी
आकाशै छानो !
जाडोले खायो
गरिबको सपना
के गर्ने अब ?


आखिर यस्तै रचनाले त जनताको वास्तविक समस्यालाई उजागर गर्दछ । जीवन निर्वाह गर्न धौँ धौँ पर्ने लाखौँ नागरिकको प्रवक्ता बनेर लेखक यहाँ प्रस्तुत भएका छन् । आखिर दैनन्दिन राम्ररी चलाउन पाए जनतालाई अरु कुरा त्यति आवश्यक पनि पर्दैन । राज्यको निकायहरूले जनताप्रति गर्ने व्यवहारलाई कविले अनुत्तरदायी र रुखो बनेको ओरोप लगाएका छन् । हजारौँ निम्नवर्गका परिवार आज पनि आकाशे छानोलाई नै घर भनेर बस्न बाध्य छन् । प्राकृतिक विपत्ति र स्वास्थ्य सङ्कटले पनि हामीलाई सताएकै छ । हालको राज्य संयन्त्रले जनताको समस्याको समाधान गर्न किन सकिरहेको छैन ? त्यसबारे पनि लेखक कलम माध्यम प्रस्तुत गर्दछन् ।
हाइकुसङ्ग्रहभित्रका हाइकुहरूको सङ्क्षिप्त टिप्पणीभित्र ‘साँझको जून’ शीर्षकले दिन जतिसुकै जलनपूर्ण भए पनि हामी ‘साँझको जून’को शीतलतामा रमाउन चाहन्छौँ । मनभित्रको ताप र चापलाई कतै शिष्ट यौन विषयसँग त कतै मानवको प्रवृतिसँग र प्रकृतिलाई मानवसँग तुलना गर्दै कवि विषयको प्रस्तुतिमा कलाको संयोजन गर्ने पथमा योग्य ठहरिएका छन् । यस सङ्ग्रहमा पाठकअनुरूप रचना पाउन सक्ने तथा विश्लेषणको योग्यताअनुसार सतही चिन्तनदेखि गहन विश्लेषण गर्ने सामग्री पठन गर्न पाउँछन् । मान्छे सिर्जनामा बाँच्छ, सृजनकर्म नै उसको दृष्टिकोणको प्रकाशन हो । यस पठनीय कृतिका लागि लेखक धन्यवादका पात्र छन् ।

तेजविलास