ऊ कथाकी पात्र हो । ऊ मतलव ‘शान्ति’ ।
एउटा अयोग्य पात्र ।
कथाका निम्ति भने हैन । कथाको निम्ति अयोग्य भएका भए त अहिले यो कथामा ऊ नभएर विप्लवी, आभा ,आशा यस्तै कुनै पात्रको स्थान हुन्थ्यो । कथाकी पात्र, यसको मतलब उसलाई कथाकारले आफ्नो विचारअनुसार खडा गर्न सक्थ्यो र त्यही उसको परिचय बन्न सक्थ्यो । तर कथाकी पात्र भएकै नाताले ऊ बदलिएकी छैन । कथाकारले उसलाई आफ्नो विचार अनुसार खडा गरेको छैन । कथा वास्तविकता नै मान्दा पनि फरक पर्दैन । त्यस हिसाबले ऊ पनि वास्तविक पात्र हुन सक्छे । पाठकका आँखामा विश्वसनीय ठहरिए वास्तविक र अविश्वसनीय ठहरिए अवास्तविक, यस्तै मानौँ ।
ऊ पात्र सङ्ख्यामा एक हो तर परिचय दुईवटा बनेको छ, यही कुरा नै सिद्घ भएको छ । यो लिङ्गको आधारमा हैन । उसको परिचय÷परिभाषा दुईवटा स्थापित छ ।
परिचय एक : ऊ एक जनताका निम्ति लड्ने क्रान्तिकारी साहसी योद्घा हो ।
परिचय दुई : ऊ एक आतङ्ककारी हो ।
समय असहज छ । देशमा विभेदका पर्खालहरू छन् । हुँदा खाने र हुनेखानेहरूका बीचमा ठूलो खाडल छ । गाउँमा सामन्तका अवशेषले खडा गरेका दुखका ठुला पर्खालहरू छन् । सहरमा पनि मजदूर तथा मालिकहरूका बीचमा विभेदका अनन्त शृङ्खला छन् । जन्मिनुको स्थान सन्दर्भका हिसाबले ऊ गाउँमा जन्मिई । कमजोर वर्गको परिवारमा जन्मेकी हुनाले विभेदले खडा गरेको पर्खाल र जञ्जीरहरू तोड्नुपर्छ भन्ने विचारबाट प्रशिक्षित भई । क्रान्तिकारी र जनताका निम्ति लड्ने सहयोद्धाको परिचय बोक्न पुगी वा यो परिचय बोक्नलाई उत्साहित गरियो ।
देशको परिस्थिति असहज छ । स्वतन्त्र ढङ्गले कुनै पनि विकासात्मक कार्यक्रम अगाडि बढाउन सम्भव भएको छैन । द्वन्द्वका बिउ रोपिएका छन् । राजनीतिक अस्थिरता लामो समयदेखि कायम छ । क्षणक्षणमा बदलिइरहने अल्टरनेटिङ करेन्टको ध्रुवजस्तै भएको छ परिस्थिति बदलिनु । सरकार बन्नु र ढल्नु भनेको डोरीको बलले एकछिन घुर्रा घुमेर फेरी ढल्नुजस्तै भएको छ । यस स्थितिमा गृहद्वन्द्व बढाउने जनसमूहको सदस्य बन्नु र त्यही दिशामा अघि बढ्नुले उसलाई राज्यको सरकारी निकायले आतङ्ककारीको परीभाषा दिएको छ ।
उसकी आमाले सानो हुँदा उसको शान्त स्वभावलाई सम्बोधन होस् भन्ने हिसाबले उसलाई ‘शान्ति’ नाम दिएकी थिइन्् । तर घर छाडेर हिँडेपछि धेरै भइसक्यो उसले आमालाई नभेटेको । उसलाई थाहा छ उसकी आमाले उसलाई धेरै माया गर्छिन् । यो परिस्थितिकोे बित्दो क्रमसँगै उसका थुप्रै साथिहरूको नाम परिवर्तन भयो । उदाहरणका रुपमा आभा, विप्लवी, परिवर्तन, ज्वाला, पृथक, अग्नि आकाश आदि । सो समय यी निकै चर्चित नामहरू थिए । तर ऊ भने आफ्नै नाम मोहमा फसेकी थिई । वा आमाले राखिदिएको नाम भएका कारण आमाको मायामा । उसको नाम परिवर्तन भएन । ऊ आमालाई असाध्यै माया गर्छे । त्यस विषयको सम्बोधन पनि हो उसले नाम परिवर्तन नगर्नु ।
‘यो बढि भावनात्मक छे, पार्टीको लागि यो विश्वसनीय मानिस होइन है ।’ यो उसले निकै पटक मानसिक तनाव व्यहोर्न झेलेको वाक्य हो –पार्टीभित्र । साथिहरू उसको स्वभावलाई आँकलन गरेर यसरी आरोपित गर्ने गर्दथे ।
– ‘मेरो संवेदनशीलता र भावनात्मकता मेरो निजत्व होइन र ?’ उसको एक मनले यसो भन्थ्यो ।
– ‘देश सङ्गीन घडीमा उभिएको बेला हामीले मुटु दरो पारेर शत्रुहरूसँग लड्नु आवश्यक छ ।’ अर्को मनको उत्तर यस्तो हुन्थ्यो ।

यी केही तरङ्गहरूले उसको मष्तिष्कमा भावावेगहरू ल्याइदिइरहन्छ ।

अगाडि बढ्नु बाध्यात्मक ठहरिन्छ । कारण के हो भने पछाडि फर्किने स्थिति शेष रहँदैन । राज्यले उनीहरूका निम्ति तय गरिदिएको दर्जाले तत्कालै जीवनको सहज बाटोतिरको अवतरण असम्भव भइसकेको थियो ।
ऊ एउटा डफ्फाको कमान्डर थिई । उसमा आफ्नो मोर्चाको कतिपय ठाउँमा भएको सहज विजयले ठूलो हौसला र खुसी ल्याइदिन्थ्यो । त्यसले उर्जा दिन्थ्यो र अबको यात्रामा विजय सधैँ हात लाग्छ भन्ने विश्वासमा हुन्थी । पार्टीको माथिल्लो तहबाट आउने निर्देशनलाई पालना गर्दै अगाडि बढ्ने प्रेरणा पाउँथी । बेलाबेलामा कवि गोपालप्रसाद रिमालले लेख्नुभएको –‘एक जुगमा एकदिन एकचोटि आउँछ……’ गीत सम्झिन्थी र त्यही दिनको पर्खाइमा रहनुपर्ने बोध गर्थी ।
कहिलेकाहीँ आफ्नो हात नियाल्थी । हातमा रेखाहरू कति स्पष्ट छन् । उसको पार्टीको मान्यता थियो– ‘ज्योतिषी र भविष्यवाणीलाई विश्वास गर्नु भ्रम हो । भाग्यमा विश्वास गर्नेहरू कर्मशील हुने चेष्टा गर्दैनन् ।’ पार्टीका प्रशिक्षणमा उसले यी कुराहरू सुन्दै आएकी थिई ।
ऊ सानामा आमाले उसको हात हेराउँदाका कुराहरू सन्झिन्थी । यो स्मरणलाई रोक्न खोजेपनि सम्भव हुँदैनथ्यो ।
– ‘ यो केटी बहुत लक्षिनकी छे ।’
– ‘ यसका हातहरू कोमल छन् । जीवनमा सुख पाउने देखिन्छ ।’
– ‘ हस्तरेखाहरू सुस्पष्ट छन् ।’
– ‘ समयले साथ दिएमा यसको भविष्य राम्रो देखिन्छ ।’
ज्योतिषले जोडेको ‘समयले साथ दिएमा’ भन्ने शब्दसमूहले उसमा ज्योतिष विश्वासमा कमी ल्याउन सहयोग पुर्‍याएको थियो ।
–‘समयले साथ दिएमा भन्ने कुरा नराखे पो पूर्ण विश्वास हुनु ।’ उसलाई आफ्नो यात्रा सही भएको चिन्तन गर्न तिनै शब्द समूहले सहयोग पुर्‍याउँथ्यो ।
आफ्ना कोमल हातहरूमा बन्दुक नसुहाएको भने उसलाई किन किन लागिरहन्थ्यो । सानो हुँदा उसलाई फूल रोप्नु, गोडमेल गर्नु र बगैँचा बनाउनुको खुब शौख थियो ।
‘शौख राख्नु हुन्न । कुनै पनि एउटा कुराप्रति बढी मोह राख्नु हुन्न । यसो गर्नु सामन्ती सोच हो । यो तोड्नुपर्छ ।’ उसले आन्तरिक प्रशिक्षणमा धेरै पटक सुनेको कुरा हुन् यीे ।
मनपर्ने–
फूल । कलम । साहस ।
अहिले बन्दुक उसको साथि भएको छ र उसलाई मन पर्नुु परेको छ ।
बन्दुक, जुन उसको वास्तविकता हो । योसँग उसको सफा सोच छैन । यसो भनौँ बन्दुकले सिर्जना गरेको द्वन्द्व उसमा रहेको छ । यो रहर होइन बाध्यता हो भन्ने सम्झेकी छे ।
‘कुन बन्दुकबाट सिर्जना सम्भव छ ?’ आफैँलाई प्रश्न गर्छे ।
‘निरपेक्ष हिंसाको विरोध गर्नु गलत हो । कुनै सही चीज प्राप्त गर्न यो आवश्यक पनि छ । नयाँ विरुवा हुर्काउन जीर्ण र ओगटेर बसेका काम नलाग्ने बूढा र धोद्रा रुखहरू फ्याँक्नै पर्छ । – आफैँलाई उत्तर दिने प्रयत्न गर्र्थीे ।
ऊ रजनीश ओशो पढ्दैथिई । र उसलाई ज्ञान भएको थियो कुनै वादको पछाडि लाग्नु, पिछलग्गु हुनु, अनुयायी हुनु परतन्त्रता हो तर ऊ जुन यात्रामा थिई त्यो एउटा विचारको यात्रा थियो । त्यसका उद्धेश्यहरू थिए । उसले पढेका आधारमा ऊ परतन्त्र थिई । ऊ सोच्न थालेकी थिई – ‘स्वतन्त्रता पनि परतन्त्रताको आडमा प्राप्त हुँदो रहेछ ।’
देश अर्को चरणमा प्रवेश भयो । सरकार र उसको पार्टीबीच शान्ति सम्झौता भयो । हिजो सम्मको यात्राको स्वरुप बदलियो । देशमा गणतन्त्र घोषणा गर्नेमा शान्तिपूर्ण आन्दोलन गर्ने दलहरू र सशस्त्र सङ्घर्ष गर्ने दलबीच सहमति भयो । परिवर्तन भयो, यसो त भनी नहालूँ । परिवर्तन हुने कुरा व्यवहारपरक सिद्ध हुनुपर्दछ । तर एउटा स्वरुप बदलियो । समयले अर्को गति लियो ।
सहर उस्तै छ । गाउँ उस्तै छ । समयले वृद्ध बनाउँदै लगेकाले उसकी आमा अझै असहज हुँदै गएकी छिन् । यो उसको अनुमान मात्र होइन । उसले अवस्था अनुकूल भएपछि आमासँग एक पटक भेटेकी थिई । भेटको समयमा आमा निकै खुसी भइन् तर आमा निकै कमजोर र मलिन हुँदै गएकी थिइन् । शरीर झनै जीर्ण हुँदै गएको उसले महशूश गरेकी थिई । हुन त दाजुभाउजुसँगै बस्ने आमाको बारे उसलाई उत्ति चिन्ता नभएपनि हुने हो तर आमाको प्रेमले कहिलेकाहीँ अत्यधिक तड्पाउँथ्यो । न्यास्रोले सताउँथ्यो । आमासँग बितेका पूराना दिनहरूका स्मरणमा भासिन पुग्थी ।
उनीहरू शिविरमा छन् । सबैले बुझ्ने र सहज भाषा –‘लडाकुका अस्थायी शिविर’ । सशस्त्र सङ्घर्षमा होमिएका लडाकुहरूलाई उचित व्यवस्थापन नभएसम्म राखिएको ठाउँ थियो– शिविर । ‘शान्ति, सम्झौता, लडाकु, अस्थायी शिविर, गणतन्त्र’ जस्ता शब्दहरू बढी प्रचलनमा रहेको समय रह्यो यो । यी शब्दहरूसँग सबै जानकार थिए । रेडियोमा बज्ने समाचार, चोकका चिया गफदेखि नेताहरूसँगका अन्तर्वार्ता सबैतिर यी शब्दहरू दोहोरिरहन्थे ।
शिविरमा उनीहरू छन् । यो समय लम्बिँदै गइरहेको छ । उनीहरूको व्यवस्थापनका निम्ति विविध निकायहरू गठित छन् । ती निकायहरू आफैँमा व्यवस्थापन हुन सकिरहेका छैनन् । चार महिना, आठ महिना हुँदै यो समय पनि लम्बिँदो छ ।
उसमा एउटा नयाँ अनुभूतिको सिलसिला सुरू भएको छ–आजभोली ।
–‘प्रेम’
उसमा पलाएको यो एउटा नितान्त नयाँ अनुभूति ।
‘केही सहारा नपाए पनि, पाएजस्तो । केही भविष्य नदेखे पनि, देखेजस्तो । यो एउटा भ्रम भनूँ भने सत्यजस्तो । सत्य भनूँ भ्रमजस्तो ।’
आजभोली ऊ शिविरकै एउटा पात्र मन पराउँछे ।
‘प्रेम के हो ?’
‘यो थाहा छैन । तर अनुभूति छ ।’
‘कस्तो अनुभूति ?’
‘त्यो पनि यस्तो भन्ने छैन । कहिले पीडाबोध हुन्छ कहिले खुशी । कहिले धेरै पाएजस्तो लाग्छ ,कहिले केही नपाएजस्तो । जहाँ कुनै विषय छैन, त्यहाँ धेरै ठूलो विषय देखिन्छ । जहाँ अत्यन्तै ठुलो विषय छ, त्यो निकै सानो भइदिन्छ । अमूर्त प्रेमको गहिराइमा उनीहरू कल्पनाझैँ हराएका छन् । कहाँ–कहाँ एकाकार हुन पुगेका छन् । अदृश्य उडानमा छन् । एउटा अपूर्व भविष्यसम्मको कल्पनामा खिचिएका छन् ,कुनै डोरीले तानिरहेको चङ्गाझैँ ।’
भविष्यकल्पना –
‘ऊ आमा हुनेछे । ऊ बाबु बन्नेछ । उनीहरूका बालबच्चा हुनेछन् । ऊ बच्चाहरूलाई भनेका कुरा नमान्दा हप्काउँदै हुनेछे । बालबच्चालाई हप्काएकामा बाबुचाहीँ उसलाई हप्काउँदै हुनेछ ।’
कथाकार यो भन्दा अघि बढ्न चाहेन । कथाकारले लेखेकै छ,उनीहरूमा भावनात्मक उतारचढावहरू अत्यन्तै आएका थिए ।
उता सरकारले एउटा मान्यता बनायो । जसमा उसले विश्वास गरेको दल पनि सहमत भयो । लडाकु मध्येका योग्यहरूलाई छानेर सरकारी सेनामा समायोजन गर्ने योजना बन्यो । अयोग्य सावित हुनेहरूलाई घर फर्काइने भयो ।
आज ऊ बसेको शिविरमा छनौटको कार्यक्रम थियो । सबै निर्णयकर्ताहरू भेला भए र योग्य तथा अयोग्य पात्रहरूको नामावली सार्वजनिक गरे र अयोग्यलाई शिविरबाट बिदाइ गरिने भयो ।
अन्तत: ऊ अयोग्य पात्र ठहरिई र क्याम्पबाट बाहिरिने भई । योग्य पात्र छनौटका केही आधारहरू थिए । ऊ आधारहरूका आधार रेखाभन्दा बाहिर परी । अर्को पात्र जो उसको रोजाइमा थियो । जसलाई ऊ प्रेम गर्थी । ऊ योग्य पात्र ठहरियो । ऊ क्याम्पबाट बाहिरिने भएन ।
ऊ क्याम्पबाट बाहिरिई । ( उसले कसरी सकी ?) । यो कथाकारलाई पनि थाहा छैन । कथाकारलाई यत्ति थाहा छ –ऊ बाहिरिई । ऊ जस्ता अरू केही पनि बाहिरिए । ऊ आँसु झार्दै गएकी थिई । पत्रिकाहरूले फोटो छापे उसका र उनीहरूका । त्यस दिन टेलिभिजन र रेडियोका रिपोर्ट पनि खुब राम्रो बन्यो ।
उसको हृदयभित्रको रहेको एउटा कथा कसैले क्यामरामा कैद गर्न सकेन । मनभित्रको ठूलो पीडा पत्रिकामा फोटो बनेर छापिएन । अयोग्य पात्रहरू बाहिरिएकोमा सरकार खुसी थियो । उसैका सङ्गठकहरूले पनि एउटा बोझ पन्छिएझैँ अनुभूति गरे ।
यो भन्दा पछि कथाकारलाई पनि थाहा छैन ।
कथाकारका अनुसार यो कथाको अन्त्य यहीँ हुन्छ ।
तर समाजमा यस्ता कथाहरूका अन्त्य भने भएका छैनन् ।

सुवास खनाल, मकवानपुर