“पत्रकारिताको आडमा धन्दा गरिरहेकाहरूको तारो भएको छु ।” भन्ने आरके अदिप्त गिरी कालीगण्डकी बचाउ अभियानका अभियन्ता हुनुहुन्छ ।
उहाँ कला, संस्कृति, भाषा, साहित्यको संरक्षण गर्न कुश्मा, पर्वतमा रहेको ३ सय १५ वर्ष पूरानो ‘शताब्दी घर’ को संरक्षण र पर्यटन प्रवर्द्धनमा आबद्ध कुश्मा परियोजनाका अध्यक्ष हुन् । उनीविरूद्ध मंगलबार पक्राउ पूर्जी जारी गरिएको छ । सोअघि उनले फेसबुकमा यस्तो स्टाटस लेख्नु भएको थियो- “हात मल्छ, नाक दल्छ, प्रशस्ति लेख्छ । दलाल, तस्कर, माफिया र नेताको स्तुति र भाषा बोल्छ । गोमन साँपले झैं समाजलाई डस्छ । थुक्क पर्वते पत्रकारको नियति । अब भण्डाफोरमा उत्रौं ।”
यसै स्टाटसलाई आधार मानी केही व्यक्तीहरूले उहाँ विरुद्ध उजुरी दर्ता गराएका थिए । कालीगण्डकी नदीमाथि भएको दोहनमाथि आवाज उठाउने उहाँ स्वतन्त्र फोटो पत्रकार र लेखक समेत हुनुहुन्छ ।
सर्वोच्च अदालतले अवैध रूपमा हुने नदी दोहनमा रोक लगाउँदा पनि दोहन नरोकिएपछि उहाँले समय समयमा यस विरुद्ध आवाज उठाउँदै आइरहनु भएको छ । सभ्यता बोकेको कालीगण्डकीलाई ब्राण्डिङ गर्नुपर्नेमा दोहन गर्दै जानु राम्रो नभएको साथै दलाल र तस्करसँगको सेटिङमा काम गर्नेहरूका कारण राम्रा पत्रकार विस्थापित हुँदै गएको चिन्ता गर्ने आरकेविरुद्ध जारी भएको पक्राउपूर्जीको खबरपश्चात् लेखकहरूले सामाजिक सञ्जालमा विभिन्न धारणा राख्नु भएको छ । जस्ताको तस्तैः
चौबीस रिल, सुप्लाको हवाइजहाज, मैदारो कृतिका लेखक चितवन निवासी सर्जक भुपिन लेख्नुहुन्छः
आरके अद्वीप्त गिरी कुस्मामा बसेर कालीगण्डकी बचाऔँ अभियान लगायत साहित्य, कला, सस्कृतिको विकाश र प्रबर्धनमा लागिरहेका समाज सुधारको चिन्ता गर्ने अभियन्ता हुन् । उनलाई भेट्दा लाग्छ, देशका हरेक सहरमा एकएक जना आरकेहरू भए कति गजब हुने थियो । विसंगतिको विरुद्ध लेख्नु र विद्रुपताविरुद्ध व्यङ्ग्य गर्नु उनीजस्ता सबै लेखक/अभियन्ताको धर्म हो ।
पत्रकारीता पनि यस्तै अभियान नै त हो ।
अरू ठाउँका विसंगति र विद्रुपता लेख्ने पत्रकार साथीहरूले बुझ्नु पर्छ- आफू संलग्न पत्रकारिता क्षेत्रमा पनि विसंगति र विद्रुपता हुन सक्छन् । आफू लागेको पेशा वा क्षेत्र आफू संलग्न भएकैले पवित्र छ भनि मान्नु ठूलो भ्रम हो । यतिकै आधारमा पत्रकार साथीहरू आत्तिनु पर्ने र अभियन्ता आरकेलाई जेल हाल्नु पर्ने त म केही देख्दिन । उनी अपराधी होइनन्, समाज सुधारको लागि लड्ने एक चेतना हुन् ।
उमेरको नदी कृतिका लेखक हेटौंडा निवासी कवि/लेखक/सम्पादक निमेष निखिल लेख्नुहुन्छः
लेखक/पत्रकार आरके अद्वीप्त गिरीको अभिव्यक्ति स्वतन्त्रताको म सम्मान गर्दछु र उनको सुधार अभियानको समर्थन गर्दछु । र म उनको अभियानप्रति ऐक्यबद्धता पनि व्यक्त गर्दछु ।
एकान्त भीड र यादको कोलाज कृतिका लेखक पोखरा निवासी अमृत लेख्नुहुन्छः
लोकतान्त्रिक व्यवस्थामा सामाजिक संजालमा प्रतिक्रिया लेखेकै भरमा यस्तो प्रपन्च रच्नुपर्ने के थियो ? यिनीहरुले शान्त तलाउमा ढुंगा हाने । यिनीहरु सबै चोर बाटो हिँडेर पत्रकारिता गरिरहेका थिए । चोर बाटोबाट हिँडेर पनि पत्रकारिता हुन्छ ? कस्तो मानक खडा गर्यौं हामीले ? यसको भोलि समाज, आमनागरिकले मूल्याङ्कन गर्ला । आवाज उठाउँदै पनि जाला । र मविरुद्ध यस्तो प्रोपोगाण्डा रचिएपछि मैले लड्नुको विकल्प छैन ।
“प्रकृतिले मौन भाषा बोलिरहेको हुन्छ । काली एउटा सामान्य खहरे होइन । हामीले चौडा दिमागले सोचेर जनसरोकारलाई सम्बोधन गर्न सक्यौं भने हामीले यसबाट धेरै नै फाइदा लिन सक्छौं । अन्यथा भयाभय नतिजा भोग्नुपर्ने हुन्छ । यसर्थ कालीगण्डकीमाथि भएका दोहन जनअधिकारमाथि अक्षम्य आक्रमण हो ।विश्व सम्पदा सूचीमा पुर्याउन लागि परेका छौं ।” भन्ने आरकेको पक्षमा देशभरका सर्जकहरू जुर्मुराएका छन् ।
चितवनका गजलकार/पुस्तक व्यवसायी लेखाराम सापकोटा लेख्नुहुन्छः
असल पत्रकारलाई आरके अदीप्त गिरीले आक्षेप लगाएका छैनन् ।जो साँच्चिकै असल छन्, ती पत्रकार आरके विरुद्ध आउन पनि चाहन्नन् ।(आरकेको साथमा हामी छौँ ।)
कविता संग्रह छुटेका अनुहार तथा अन्तर उपन्यासका लेखक रमेश सायन लेख्नुहुन्छः
आरके अदिप्त गिरीले कालीगण्डकी बचाउ भनेको हो। कालीगण्डकी सभ्यता र जीवनको नसा हो। यसलाई दोहन गर्न हुन्न भनेको हो। सामाजिक व्यतिथि रोकौं भनेको हो। अत्याचार विरूद्ध औंला उठाएको हो। यसो गर्दा थुनिनु पर्ने ? सरकार डरछेरुवा हो। आर.के. सँग डरायो सरकार। बोल्न नछाड साथी, तिमीसँग हामी छौं।
गजल विधालाई एक अभियानकै क्रममा लिएर हिँड्नुहुने सर्जक बाबु त्रिपाठी लेख्नुहुन्छः
म मेरा कवि मित्र आर.के. को पक्षमा छु । बोलौँ ।
आरके पक्राउका विषयमा पर्यासाहित्यका अभियन्ता, लाहुरेको रेलिमाईका लेखक विजय हितानको विचार यस्तो रहेको छः
उनी वातावरण संरक्षण अभियन्ता हुन् । कालीगण्डकी जस्तो पर्यावरणीय र धार्मिक/साँस्कृतिक हिसाबले महत्व राख्ने नदीलाई डाइभर्सन गरिन हुन्न, यसबाट गैरकानुनी तरिकाले गिट्टी बालुवा झिकेर यसको दोहन गरिन हुन्न भनेर एक्लै लागेका वातावरण संरक्षणका पहरेदार आरके अदिप्तलाई प्रहरीले पक्राउ गर्न गैरहेको छ भन्ने समाचारले मलाई दुखित तुल्याएको छ र यस्तो कार्यको म निन्दा गर्छु । देशैभरिका संरक्षणकर्मी साथीहरु आरकेको समर्थनमा एक हुन हार्दिक आह्वान गर्दछु ।
यस्तै कालीगण्डकी बचाउ अभियानद्वारा प्रेस विज्ञप्ति जारी गर्दै लेखिएको छ- सक्रिय राजनीतिमा लाग्ने तथा अन्य संस्थामा रोजगारी गर्ने व्यक्तिहरू जो पत्रकार महासंघको शुद्धिकरण अभियानका क्रममा कारबाहीमा परेका गैर पत्रकारद्वारा आधारहीन उजुरीका आधारमा पक्राउपूर्जी जारी गरिनु अनुपयुक्त मात्रै नभई आपत्तिजनक पनि छ ।
सर्जक, फोटोपत्रकार, तथा साँस्कृतिक अभियन्ता गिरीले यसअघि लोक कल्याणकारी विज्ञापनको पैसा असुल्ने तथा बजारमा पत्रिका नबेच्ने भनी आलोचना गर्नु भएको थियो ।उनीविरुद्धको पक्राउपूर्जीको खबरलाई लेखक, अभियन्ता, राष्ट्रियस्तरका पत्रपत्रिकाहरूले महत्वका साथ स्थान दिएका छन् ।
