गी द मोपासाँ अर्थात् लघु कथाका मास्टर । १९औं शताब्दीका (१८५० अगस्ट ५- १८९३ जुलाई ६) फ्रान्सेली लेखक । उनको पहिलो प्रकाशित कृति “बूल द सुइफ” सबैभन्दा प्रसिद्ध कृति मानिन्छ । अति देशभक्तिलाई युद्ध जन्माउने भ्रुण मान्ने उनले आम मान्छेका दैनिकीलाई नै आफ्ना लेखनीमा समावेश गरेका छन् । आज उनै मोपासाँका व्यक्तिगत र कृतिगत जानकारी बारे साहित्य सर्जक वत्सराज कोइराला प्रस्तुति उल्लेखित छ ।
फ्रान्समा मात्रै होइन संसारभर मोपासाँलाई एक उत्कृष्ट कथाकार मानिन्छ। सन् १८५० मा जन्मेका गी दे मोपासाँ आजीवन अविवाहित रहे। लेखनबाट कमाएको अथाह सम्पत्ति उनले हावामा उडाए। तृतीय श्रेणीका नगरवधुहरुदेखि उच्च कुलीन स्त्रीहरुसँग उनको निरन्तर सम्पर्क रहिरह्यो। बीस वर्षकै उमेरमा उनलाई भिरिङ्गी भन्ने यौनरोग लाग्यो। उनको दाजु भिरिङ्गी लागेर अनि भाइ पागल भएर बिते। टाउको दुख्ने र आँखा दुख्ने असह्य समस्याले मोपासाँ हैरान थिए। डिप्रेसनको सिकार भएर सन् १९९२ मा आमाकै सामु सेरिएर मर्न खोजे। पेरिसमा उपचारपछि ज्यान बच्यो। तर घाउ गहिरो थियो। त्यसको एकवर्षपछि असीम पीडा भोग्दै उनले संसार छाडे। यसरी ४३ वर्षमै बितेका मोपासाँका ३०० भन्दा बढी लामा कथाहरु, ६ उपन्यास, ३ नियात्रा संग्रह र १ कविता संग्रह प्रकाशित छन्। कथाहरुको माध्यमबाट मोपासाँले मानवीय सम्बन्ध, त्रासदी, मनवीय गरिमा र दु:खका थुप्रै आयामहरुलाई कुशलतापूर्वक चित्रण गरेका छन्। तत्कालीन समयका कथाशील्पीहरु लीयो टाल्सटाय र तुर्गनेभले उनको प्रशंसा मुक्तकण्ठले गरेका छन् भने उनीपछिका कथाकारहरु चेखोब, ओ हेनरी, समरसेट ममले मोपासाँलाई गुरु मानेका छन्। मोपासाँका कथाहरूमा मानव जीवनको दारुण त्रासदी, मान्छेको आन्तरिक सौन्दर्य, मानवीय मनोविज्ञानको जीवंत चित्रण पाइन्छ। उनका कथाहरुमा सन् १८७० देखि १८९० सम्मको फ्रान्सिसी जीवनको बिराट चित्र देख्न पाइन्छ। यिनै महान कथाकारको एउटा प्रतिनिधि कथासङ्ग्रह सर्च गरेर त्यसमध्येको एउटा कथा पढें, “द बल अफ फ्याट” आज। दिल्लीको रजकमलबाट प्रकशित थुप्रै हिन्दी तथा हिन्दीमा अनुदित विश्वकथा पढ्ने गर्छु फुर्सद कटाउन म। यो कथासंग्रहलाई भारतका नरेन्द्र सैनीले अनुवाद गरेका हुन्। पहिलो कथा “द बल अफ फ्याट” अर्थात् “चर्बी की गुडिया” पढेपछि बहुत सन्तुष्टि मिल्यो। यस कथामा कथाकारले एउटी युवती एलिजाबेथ रोजेटको वर्णनातीत दु:ख अनि ठालुहरुको चरम पाखण्ड र कृतघ्नताको जीवंत चित्रण गरेका छन्। एलिजाबेथ रोजेट फ्रान्स र पर्सियाको युद्धकालमा रुवाँबाट एउटा बग्गीमा अरु दसजनासँगै भागेर लुभ्र जान लागेकी हुन्छे। ठुलाठालुहरु उसलाई मान्छे गन्दैनन् किनभने उ नगरबधु हो। तर भोकले सताएपछि उसैले दिएको खाना लाज पचाएर हसुर्छन्। होटेलमा बास बस्दा पर्सियन सेनाले उसलाई समात्छ। सेनाको प्रमुखसँग यौन संपर्क राखेमा छोडिदिने लोभ देखाउँछन्। दुश्मनको सेनालाई शरीर सुम्पन उ तयार हुन्न। प्रत्येक दिन हाकिम फकाउन आउँछ। उसका अरु नौजना ठुलाठालुहरुले पनि उसलाई बन्दी जीवनबाट उम्कने हो भने शरीर सुम्पिदेऊ भन्छन्। बन्दी जीवनबाट वाक्क भएपछि उसले बाध्यतापूर्वक सेनाको हाकिमलाई आफ्नो शरीर अर्पण गर्छे। उ सहित सबै साथी थुनामुक्त हुन्छन्। तर उल्टै ती साथीहरुले उसको तिरस्कार गर्न थाल्छन्। जसको मुक्तिको लागि आफ्नो शरीर सुम्पिएको थियो उनीहरुले गुन बिर्सेको देखेर उसको आँखाबाट आँसु बग्छ। यो कथाले मोपासाँलाई अन्तरराष्ट्रीय रूपमा लोकप्रिय बनाइदियो। तत्कालीन ठुला कथाकार एमिल जोलाले समेत यो कथालाई विश्वको सर्वश्रेष्ठ कथा भनेका थिए। यो कथामा नारी चेतना, दु:ख र बिडम्बना तथा महिला संवेदनाको गहिरो चित्रण पाइन्छ। मोपासाँका कथाहरुको यो संग्रहमा चर्बी की गुडिया, हीरों का हार, रस्सी का टुकडा, एक नौकरानी की कहानी, चाँदनी रात में, मादाम तेलिए का अड्डा, प्रेम, मदफोजाल फीफी, मोस्युँ पारेँ र निरर्थक सुन्दरता नामका कथाहरु छन्। – वत्सराज कोइराला, नवलपुर
