लमजुङको सोतीपसलमा जन्मेर पोखरालाई कर्मभूमि बनाएका दीपक समीप समकालीन पुस्ताका चर्चित साहित्यकार हुन् । उनी पचासको दशकदेखि गजल, गीत, कविता, कथा, लघुकथा, मुक्तक लेखनमा क्रियाशील छन् । उनले पोखरेली युवा सांस्कृतिक परिवार र गजल सन्ध्या पोखराको अध्यक्षको रूपमा समेत काम गरिसकेका छन् 

यिनका अलावा दीपक अन्य विभिन्न साहित्यिक संस्थाहरूमा पनि महत्त्वपूर्ण जिम्मेवारीमा रहँदै आएका छन् । दीपकले हालसम्म एक दर्जन भन्दा बढी साहित्यिक पुरस्कार र सम्मानहरू प्राप्त गरिसकेका छन् । पोखरामा गजलका धरोहर मानिने दीपक  युवापुस्तालाई साहित्यमा उत्प्रेरित गर्ने अभिभावकको रूपमा समेत चिनिन्छन् ।

आफ्नै लयमा निरन्तर सिर्जनाकर्ममा रमाएका दीपक समीप प्रकाशनमा भने उतिसारो हतारो गर्दैनन् । भूगोलभित्र नकोरिएको देश (गजलसङ्ग्रह २०६२) को प्रकाशनपछि हालसालै उनको दोस्रो कृति अक्षरअक्षरमा देश (मुक्तकसङ्ग्रह २०७८) बजारमा आएको छ ।

मलाई
बन्न मन थियो
हिमाल जस्तो
तर मेरा आँसुहरू पग्लेर
नदी बन्न सकेनन्

घरि घरि
मलाई असाध्यै डर लाग्छ
आफ्नो इमानप्रति
मभित्र
एक थोपा वीर्य नचढोस् उत्तेजनाको
ता कि
तिमीलाई एकान्तमा पनि
निस्वार्थ प्रेम गर्न सकुँ ।

अक्सर
म डराइरहन्छु
आफ्नै पुरुषत्वप्रति
कतै
ताँदोबाट फुत्केर भाग्छन् कि बाणहरू
ता कि रगतपच्छे बनाउँलान् कि
धरतीका कुमारी योनिहरू ।

मलाई भय छ
फूलहरूदेखि भय छ
मलाई भय छ
जूनहरूदेखि भय छ
मलाई भय छ
आफ्नै आँखादेखि भय छ
ता कि
देखुन् आँखाहरूले सिर्फ सौन्दर्य
नदेखुन् मेरा आँखाहरूले
कसैलाई कामुकताले
मलाई भय छ
मलाई आफैँदेखि भय छ ।

खासमा
मलाई
बन्न मन थियो
नदी जस्तो
तर नदीले पनि
बगाउन सक्दो रहेनछ
मेरा देशका दुःखहरू ।

दीपक समीप, पोखरा