राम बिनय प्रगतिशील साहित्यका एक अग्रज स्रष्टा हुन् । साहित्यकार राम विनय अर्थात् रामकुमार श्रेष्ठ नेपाली वाङ्मय क्षेत्रमा छ दशकदेखि निरन्तर सक्रिय छन् । कविता, कथा तथा नियात्रामा कलम चलाउँदै आएका राम विनयका आधा दर्जन साहित्यिक कृति प्रकाशित छन् ।
राम विनय कला साहित्यले समाजको यथार्थ पक्षलाई उजागर गर्नुपर्ने भन्ने धारणा राख्दछन् र स्रष्टाले परिवर्तनका पक्षमा महत्वपूर्ण भूमिका निर्वाह गर्नु पर्ने विचार राख्दछन् । नेपाली समाजलाई समानतामूलक बनाउन कला साहित्यको भूमिका विशिष्ट रहने भएकाले यसको विकासमा सबै पक्षले ध्यान दिनुपर्ने भनि समाज रूपान्तरणमा स्रष्टाको पहल बढी जिम्मेवारपूर्ण हुने तर्क देख्दछन्।
साहित्य सन्ध्या काठमान्डौँमा २०५४ देखि हालसम्म निरन्तररूपमा सक्रिय रहेका राम विनय, विगतमा राष्ट्रिय जन साहित्यिक सङ्घ नेपालको अध्यक्षको रूपमा कार्यरत रहेका छन ।
“नयाँ बर्ष आउँदैछ । शुभकामना आदान प्रदानको कार्यक्रम राखिएको छ । तपाई पनि अतिथिको रुपमा कार्यक्रममा उपस्थित हुनुहोला ।” उनले निमन्त्रणापत्र चाख मानेर पढे । एकछिन पछि आयोजकबाट उनलाई फोन पनि आयो । आयोजकले फोनमा भने “अपिलसाप ! निमन्त्रणापत्र पाउनुभयो होला । अबस्य आउनुहोला । तपाईले शुभकामना मन्तब्य ब्यक्त गर्नुपर्छ ।” “ ल हुन्छ । म आउँछु ।”उनले भने । कार्यक्रम हुने दिन तोकिएको समयमा अपिल प्रसाद कार्यक्रम स्थलमा पुग्यो । त्यहाँको कार्यक्रम स्थलमा सहभागीहरु टनाटन भरिभराउ थियो । आयोजकले अपिल प्रसादलाई पनि आशन ग्रहण गराए ।
त्यहाँ केहीले छोटो मन्तब्य दिदै थिए । कोही कोही हतारमा थिए र आयोजकलाई छिटो छिटो भनेर अत्याउँदै थिए । आयोजक पनि हतारमा भए जस्तै देखिन्थे ।
उदघोषकले अपिल प्रसादलाई पनि नयाँबर्षको उपलक्षमा मन्तब्य राख्न भने । उनले मन्तब्य राख्न थाले ।
“नयाँ बर्ष आउदैछ । नयाँ बर्ष शुभ होस् भनेर हामीहरुले यसप्रकारको कार्यक्रम गर्दै आएका छौ । शुभकामना आदानप्रदानको बेलामा हामीले राष्ट्रिय तथा अन्र्तराष्ट्रिय बिषयमा पनि चासो राख्न सक्नुपर्छ ।थाहा पाउनु पर्छ ।
पहिले पहिले उपनिबेशि हैकमबादीहरुले धेरै देशहरुमा कब्जा गरेर शोषण, दमन गरेर अर्थात अरु देशका मानिसहरुलाई दास बनाएर रजाई गरेका थिए । त्यसबाट मुक्त हुनको लागि ति देशहरुले स्वाधिनताको लागि लडे । सँघर्ष गरेर सँसारका बिभिन्न देशहरु स्वतन्त्र भए । आफनै किसिमले चल्न थाले । त्यसरी चलेका देशहरुले ति हैकमबादीहरुले आफनो नीहित स्वार्थ अनुरुप चलाउन चाहे । आफनो स्वार्थ अनुरुप भएन भने त्यहाँका जनतालाई उक्साएर आफु अनुकुलको सत्ता कायम गराएर आफनो रजाँइ गर्न थाले । आफनो देशको स्वाधिन, स्वाभिमान र स्वतन्त्रता भन्दा पनि आफनो देशलाई अरुको दासत्वमा लैजानु भनेको रामायणमा बर्णित रावणको भाई बिभिषणको चरित्र हो, जस्ले आफनो दाजुको पक्षमा नलागेर उस्को शत्रुको पक्षमा लागे । अहिले हैकमबादीहरुले बिभिन्न देशहरुमा यस्ता बिभिषणहरुलाई जन्माई रहेका छन । आफनो देशलाई अरुको हैकममा सुम्पिरहेका छन् ।यो साह्रै खतरनाक बिभिषण बाद हो । यसबाट हामीले हाम्रो देशलाई बचाउन सक्नुपर्छ ।”
अपिल प्रसादले यस्तै बोल्दै थिए । उपस्थित सहभागीहरुले पनि निकै चाख मानेर सुनिरहेका थिए । उदघोषकले अपिलको नजिक गएर छिटो छिटो भन्न थाले । उनी धाराप्रवाह बोल्दै थिए । उनलाई बिचमा रोकेको मन परेन । उनी पनि के कम ? “ मलाई बोल्न बोलाएको होइन ? किन हतार ? मलाई बोल्दाबोल्दै हस्तक्षेप गर्ने ? तिमीहरु पनि बिभिषणबादी हो कि क्या हो ? ल म पनि बोल्दिन जा ।” यति भनेर अपिल प्रसाद सरासर बाहिर निस्केर गयो ।आयोजकहरु अक्क न बक्क परे ।
राम बिनय
