वालिङ नगरपालिका–६, मिर्दी स्याङ्जामा जन्मिनुभएका शम्भु अर्याल समकालीन नेपाली साहित्यमा साधनारत व्यक्तित्व हुनुहुन्छ । उहाँ साठीको दशकदेखि कविता, निबन्ध र लघुकथा लेखनमा क्रियाशिल रहनुभएको छ । उहाँ सगरमाथा साहित्य प्रतिष्ठान गण्डकी प्रदेशको अध्यक्ष, स्याङ्जा साहित्य प्रतिष्ठानको सहसचिव, भेषजराज साहित्य प्रतिष्ठानको कोषाध्यक्ष, वालिङ प्रज्ञा प्रतिष्ठानको सचिव लगायत साहित्यिक संस्थामा रहनुभएका उहाँले स्थानेश्वर शर्मा राष्ट्रिय प्रतिभा पुरस्कार स्थापना गर्नुभएको छ । उहाँ मनोहर बचत तथा ऋण सहकारी संस्था, चितवन साहित्य परिषद, नरेन्द्र अनुराग साहित्य सम्मान, हरिहर रेग्मी स्मृति अक्षयकोष सम्मान, सुदूर पश्चिमाञ्चल साहित्य समाजले आयोजना गरेको विश्व नेपाली नारी साहित्य महोत्सव सहभागिता सम्मानबाट सम्मानित भैसक्नुभएको छ । उहाँको सेतो सुनखानी कविता सङ्ग्रह–२०७५ असारमा प्रकाशन भएको छ ।

अन्तर्मनको आनन्द

अर्काको हित गर्नु, भलाई गर्नु, अशक्त असहाय, वृद्ध रोगीहरुको हेरचाह र समाजको सेवा गर्नु नै परोपकार हो । हरेक काम आनन्दको लागि गरिन्छ । परोपकार हृदयको आनन्द हो । परोपकारमा अन्तरहृदय पुलकित हुन्छ । यो समुद्री छालजस्तो हृदयमै लहराउँछ, खिलखिलाउँछ । चङ्गाजस्तो हलुङ्गो हुन्छ । कपास जस्तै नरम हुन्छ, जो मनुष्यभित्रको साक्षात् ईश्वर हो । धरती, जल, आकाश र अन्तरिक्षमा उडिरहेको हुन्छ । कुरौटे कुरा उसको कानले सुन्दैन । धरतीलाई परिवार ठानिरहेको हुन्छ । छुद्र र सङ्कृर्ण हृदयबाट टाढै रहन्छ र परोपकारमा उदार मस्तिष्कमात्र सफल रहन्छ । यसले विनलादेन र हिटलरको साम्राज्यलाई छि ! छि ! र दुर्दुर गर्दछ । मदर टेरेसा र नेल्सन मण्डेलाको सदैव सन्निकट रहन्छ । अन्तर्मनको आनन्दका लागि परोपकार तिमी अन्तर्मनको बुद्ध बनिराख !

के मनुष्यको  हित गर्नुमात्र परोपकार हो त ? परोपकारकोे शब्दकोष कत्रो हुन्छ ? लागिरहेको छ यो मनुष्यमात्रमा सङ्कृर्ण रहँदैन । खगोलका सम्पूर्ण जीवात्माको भलाइमा रमाउँदै घातप्रतिघात, छलकपट, यातना, धोखाधडी, रमिता उसको शब्दकोषमा हुँदैन । नजरमा यसको जगत एक हो । जीवनको एकीकरणमा मान्छेलाई पशु हुनबाट बँचाउने मूलमन्त्र तिमी सधैँ जपिराख । जसको हृदय द्रवित भई नै रहन्छ, कन्दराको तप्केनी जस्तो । लोभलालचको क्षितिज ! कहिल्यै भेटाउन नसकूँ तिमीलाई । तिमी कदापि कठोर हुनै सक्दैनौ । हृदयको मैन तिमीले सेवा नै कर्म मानिरहेका हुन्छौ । सेवा नै धर्म ठानिरहेका हुन्छौ । ममताको आफ्नो मर्म बुझिरहेका हुन्छौ । यो धरतीमा ह्रास हुँदै गएको सद्भाव, दया र मायाममता तिम्रो जस्तै उदार मन र मस्तिष्कले अलिकति भएपनि अहिलेसम्म टिकिराखेको छ ।

“मै खाउँ मै लाउँ सुखसयल वा मोज मै गरूँ” को कटु आलोचक हुन्छ अन्तर्मनको आनन्दका लागि परोपकार । सहयोग र सद्भावनाको गरूङ्गो भारी बोक्दै हतारमा कुँदिरहेको हुन्छ । तिमी स्वयं भलोभन्दा स्वस्फूर्त अरूको भलाइको नाङ्लो बोक्दै अन्तर्मनमा दौडिरहेका हुन्छौ । त्यही तिम्रो विजय हो । के गरुङ्गोपना मात्र भारी हो ? अन्तर्मनको हलुङ्गो आनन्द ! यमानको पहाड बोक्दै सिमल भुवाजस्तो कोमल र हलुङ्गो मन लिएर सेवामा तल्लिन छ त ! मात्र तिमीले काँध थापिदेऊ । गरूङ्गो भारीमा हातमात्र कति हलुङ्गो हुन्छ थाहा छ तिमीलाई ? हातमा हात मिलाउनेहरूको कुनै कमी हुनेछैन तिमीलाई । असंख्य हुनेछन् तिम्रा लागि काँध थाप्नेहरू ।

वर्तमान समयमा रातदिन रूपियाँले टोकिरहने उपियाँ भक्तहरूको पनि अन्तर्मनले सेवा गरोस् । परोपकार उसको केन्द्र हो । धड्कन उसको मुटु हो । सञ्चार उसको रगत हो ।

स्वयंभलो र आर्जनमा मात्र जीवन देख्ने विश्वजन्य जटिल परिस्थितिबाट परोपकारी मन टाढै रहन्छ । महात्मा गान्धीको यथार्थ तस्विर । तिमी भित्तामा सधैँ मूर्त बनिराख । फ्लोरेन्स नाइटिङ्गेल तिमीले हातमा बत्ती लिई नै राख । मजदुरले जस्तो पसिना बगाइ नै राख । ढाबिलो ढाबमा आफू भासिन सकौला तर भासिएकाहरूको उद्धारकर्ता ! जिन्दगीभरिको एउटा पूर्णपाठ । तिमी सदैव पढिईरहने छौ । पढिनुपर्छ । लेखिईरहने नै छौ । लेखिनुपर्छ ।

माया र प्रेमको स्नेहले मनको रिक्तता भरिरहेको हुन्छ । सहयोग र सद्भावले तृप्त भइरहेको हुन्छ । भोको बनिदिन्छ सेवाको खातिर । सेवा नै उसको भोक हो, सेवा नै उसको भोजन हो । भगवान उसको खोज हो । आयाम उसको ब्रह्माण्ड हो । प्रमाणित सत्य उसको ज्ञान हो । सेवा उसको श्वासप्रश्वास हो । सेवा नै उसको धड्कन र ज्ञान । परोपकारमै मन आनन्दित हुन्छ । दीर्घायुको दीर्घव्यायाम निरन्तर लागिरहनू । कपट, रिस द्वेष, छक्कापञ्जाबाट टाढा भागिरहेको हुन्छ । सेवालाई अमृत मानिरहेको हुन्छ, धोका र लोभको धज्जी उडाइरहेको हुन्छ । परोपकारले मनलाई माझेर हिउँजस्तै कञ्चन बनाइरहेको हुन्छ । विचारलाई आकाशजस्तै विशाल बनादिएको हुन्छ । कदलाई सगरमाथाजस्तै उँचो बनाइरहेको हुन्छ ।

परोपकारले मेरो जात, तेरो जात, मेरो धर्म, तेरो धर्म, मेरो घर, तेरो घर, तेरो देश, मेरो देश जस्तो विभाजनको रेखा कहिल्यै कोर्दैन । ऊ आनन्द रहिरहन्छ सम्पूर्ण जिवात्माको सेवाका लागि । वृहत् अर्थ र परिभाषा खोज्दा सजीवमा मात्र होइन निर्जीव वस्तुमासमेत उसले प्रेमभाव राखिरहेको हुन्छ । प्रकृति प्रेममा समेत यसले अन्तर्दृष्टि राखिरहेको हुन्छ । प्रकृतिको विकासमा यसले दखल राख्छ । प्रकृति प्रेममा अन्तर्दृष्टि र प्रदुषणमा दुःखी हुनु उसको हृदयको स्वभाव हो । प्रकृतिको स्वच्छ विकासमा उ खिलखिलाइरहेको हुन्छ । विनाशमा उसको चित्त दुखिरहेको हुन्छ, त्यसैले त आमा ! बेलाबखतमा तिमीले आफ्नो तराजुको सन्तुलन आफै गरिरहन्छ्यौ जसरी हरेक वस्तुमा सुन्दरता हुन्छ त्यसरी प्राकृतिक सुन्दरता अनुपम हुन्छ ।

कुरूप कुनै पदार्थ हुँदैन । त्यो त केवल हेर्ने दृष्टिको भेद हो । नजरको अन्तर हो । हरेक वस्तु सुन्दर हुन्छ । पदार्थ धरतीकै उपज हो । पदार्थको उच्च कलात्मकता नै सबैभन्दा सुन्दर वस्तु हो । सुन्दर–कुरूप सजीवमा छन् । निर्जीवमा छन् । मनुष्यमा छ । जीवात्मा र प्रकृतिमा छ । तसर्थ यसले कलाको उच्चतम साधनामा विश्वास राखिरहेको हुन्छ । मनुष्यमा यो दया, माया, प्रेम, सद्भाव र सहकार्य हो । प्रकृतिमा यो संरक्षण र उच्च कलात्मक विकास हो ।

जीवात्मामा उ प्रेमिल रहन्छ । परोपकारी मन कहिल्यै पनि कसाई बन्न सक्दैन । कोमलता उसको पर्यायवाची हो र यसैमा सगौरव विजयको घोषणा गरिरहेको हुन्छ । हृदयको दीप तिमी आफू जलिरहेका हुन्छौ । अरुलाई प्रकाश छरिरहेका हुन्छौ । कति गाह्रो हुन्छ हँ उज्यालो देख्न ? अँध्यारोमा प्रकाश दिन पहिला मैन आफैँ जल्नुपर्छ । अन्तर्मनको आनन्दको लागि परोपकार गहन छ । गम्भीर छ । मनभित्र रहेको मन नै अन्तर्मन हो । मन सबैको हुन्छ । परोपकारी मन तिमी कहिल्यै निष्ठुर हुन सक्दैनौ । क्रुर हुनसक्दैनौ । सेवा तिम्रो आनन्द हो । कलुषित मन अर्काको यातना, दुःख, टस, ठेस, इष्र्या, औडाहा र कपटले प्रेरित हुन्छ । परोपकारी धोकाको सट्टा सहयोग, परत्वको सट्टा अपनत्व, बेइमानको सट्टा इमान, उसको सूत्र हुन्छ । सम्पूर्ण जगतको सेवा र परोपकारमै परमआनन्द मानिरहेको हुन्छ ।

मन आनन्द पार्न मनुष्य अनेक तरिकाको अनुशरण गरिरहेका हुन्छन् । मान्छेले प्रत्येक गतिविधि मनले गरिरहेको हुन्छ । शायद् आनन्दकै लागि गरिएको हुनुपर्छ । अन्तर्मनको आनन्दका लागि कसैले व्यायाम गरिरहेका होलान् । कसैले साहित्य सिर्जना गरिरहेका होलान् । गुरूहरूले पढाइरहेका होलान्, विद्यार्थीहरूले पढिरहेका होलान्, केटाकेटीहरू खेलिरहेका होलान्, व्यापारीहरू कमाइरहेका होलान् । चीनले कृत्रिम चन्द्रमा बनाइरहेको छ । युएई आईसवर्ग प्रोजेक्टमा काम गरिरहेको छ ।

सृष्टिका प्रत्येक गतिविधिहरु सुख सुविधाकै लागि गरिएको भएतापनि ती सुख सुविधाहरु आनन्द प्राप्तिका स्रोत बनिरहेका छन् त ? के अर्थोपार्जन मात्रै आनन्द हो त ? के टहलिनु मात्रै आनन्द हो त ? के घुमफिर गर्दैमा मात्र मान्छेको हृदय पुलकित हुनसक्छ ? स्वयं भलो र व्यक्तिगत लाभमा मात्रै आनन्द देख्ने हृदय पनि संसारमा प्रशस्तै होलान् । तर फरक अन्तर्मनको आनन्दका लागि गरिने परोपकार सामाजिक यथार्थमा समाहित हुन्छ । ऊ आनन्दले गद्गद् त हुन्छ नै तर ऊ केवल परिवारभित्र मात्र सीमित रहँदैन । बनिदिन्छ समाजको स्तम्भ । सिङ्गो देशको उचाइलाई आरोहण गर्दै संसारभरि फैलिईरहेको हुन्छ, जसरी बगिरहेको हुन्छ खोला, जसरी बहिरहेको हुन्छ हावा, जसरी फैलिरहेको हुन्छ बादल र जसरी जलिरहेको हुन्छ दीपक । उसको शरीर यो दुनियाँबाट लोप हुनसक्छ तर उसको नाम कालजयी रहिरहने निश्चित छ । उसको अनुहार यो दुनियाँले नचिन्न पनि सक्छ तर उसको नाम दुनियाँको मुखमा झुण्डिरहेको हुन्छ । दुनियाँको होष्टेहैसेमा ऊ छायाँ होला । अनुकृति खलनायकहरूको जोडघटाउको प्रतिस्पर्धामा ऊ ओझेल पनि पर्नसक्छ तर निर्णयमा ऊ सधैँै नायक बनिरहेको हुन्छ र दीनदुःखीहरूको मनमुटुमा बसिरहेको हुन्छ ।

परोपकारी मन ब्रह्माण्डको तारो बनिरहेको हुन्छ, जसको आयतन अरुले नै नापिरहेका हुन्छन् । सूक्ष्म बनिरहेको हुन्छ आफू अरू कसैका लागि तर अरू नै उसको आँखो बनिरहेका हुन्छन् । वर्तमानमा ऊ सङ्कीर्ण रहला, भविष्यमा उसको आयतन अवश्य विशाल रहन्छ । विद्यार्थीका लागि उ खोज हो त विज्ञका लागि ज्ञान । मृत्युपर्यन्त पनि उ चीर रहिरहन्छ । यो सृष्टिको अनन्तसम्म कालजयी रहिरहनेछ । आम मान्छेहरू एक जीवन बाँच्छन् त परोपकारी अजम्बरी जीवन बाँचिरहेको हुन्छ ।

के सन्तान जन्माउनु मात्र उर्वरता हो ? वर्तमानमा उसको कदर नहोला तर पक्का–पक्का दिवङ्गगत पश्चात परोपकारी मन पूर्वीय दर्शनको श्रीकृष्ण हो त पश्चिमी दर्शनको सुकरात, जो स्वयंमा अर्जुनदृष्टि राखिरहेको हुन्छ । वर्तमानमा उसलाई हेमलक नै पिउन किन नपरोस् भविष्यमा ऊ शाश्वत सत्य हो । वर्तमानमा ऊ बोक्रा होला भविष्यको अग्राख हो ।

यसो प्रकृति नियालिरहेको हुन्छु । फूल फूलिरहेको छ । मूल फुटिरहेको छ । खोला बगिरहेको छ । अनाज पाकिरहेको छ । घाम उदाइरहेको हुन्छ, फेरि अस्ताइरहेको हुन्छ । समुद्र लहरिइरहेको छ । हिमाल चम्किइरहेको छ । सृष्टि माटोमै हुन्छ । विसर्जन माटोमै हुन्छ । लाग्छ यी प्रकृतिका क्रियाकलापहरू परोपकार कै लागि चलिरहेको छ । सोच्छु यस प्रकृतिको सबैभन्दा चेतनशील प्राणी मान्छे पनि प्रकृतिकै उपज हो । मान्छेमा पनि यसै प्रकृतिका गुणहरु अन्तर्निहित छ । अमृत माटोमै छ । विष माटोमै छ । एकै ठाउँमा उम्रिएको अम्बा टर्रो हुन्छ, अमिलो चुक हुन्छ । मेवा गुलियो हुन्छ । करेला तितो हुन्छ । श्रीखण्ड यहीँ छ । काउछो पनि यहीँ छ । यस्तैयस्तै गुणहरु समाहित छन् प्रकृतिको सन्तति मान्छेमा पनि । परोपकारी मन श्रीखण्ड हो त निष्ठुर निर्दयी मन काउछो हो । परोपकारी मन अमृत हो त निष्ठुर मन बिष हो ।

मान्छेहरू सुख खोज्दाखोज्दै विलासितामा विलिन भइरहेका हुन्छन् । सोचिरहेको हुन्छु आज विकासको चरम युगमा चिन्तन गर्दा–गर्दा मान्छे–मान्छेबीचको सौहार्दता ह्रास हुँदै गइरहेको त छैन ? कैयौँ मान्छेले गर्नुपर्ने काम रोबोटले गरिरहेको छ । सोफियाले भाषण गरिरहेकी छे । सोफियाले मान्छे चिनेर सोफिया प्रतिउत्तर दिइरहेकी हुन्छे । भोलिका दिनमा सडकहरूमा रोबोट र मान्छे आफ्नो काममा सँगसगै हिँडिरहेका हुनसक्छन् । अनुसन्धानको लागि मान्छेले केही सोच्नै नपर्ने पनि होला । कुनै यान्त्रिक प्रणालीले नै स्वचालितरुपमा अनुसन्धान गर्ला । मान्छेले गर्नुपर्ने काम सबै रोबोटले गरिरहेको होला । भेट्नुपर्ने मान्छे सामाजिक सञ्जालले भेटाइदेला । मान्छेले गर्नुपर्ने कामहरू मेसिनले गरिरहेको बेला हामी विकासको रफ्तारमा दौडिरहँदा उद्देश्य के लिनु गरिलिनु परोपकार !

मान्छेको एउटा चाहना पुरा हुन नपाउँदै अर्को चाहना जन्मिइहाल्छ । यसरी नै अभिलाषाको पछाडि भाग्दाभाग्दै मान्छेको इहलीला समाप्त हुन्छ । यो धरतीमा जन्मिएपछि विवेकशील प्राणीको रूपमा मनुष्यको सार्थकता र मृत्युपर्यन्त पनि उसको केही न केही कीर्ति रहिरहोस् । जसले सकारात्मक सोच बोकिरहेको हुन्छ उसको सदा रहोस साधना अन्तर्मनको आनन्दका लागि परोपकार । परोपकारी मनुष्यको उद्देश्य परोपकार, लक्ष्य परोपकार, दैनिकी परोपकार, मनमुटुमै परोपकार, सोच परोपकार, उ सदैव परोपकारमै रमाइरहेको हुन्छ । परोपकारमै आनन्द मानिरहेको हुन्छ, सुख परोपकारमै खोजिरहेको हुन्छ ।

यतिबेला सम्झिरहेको छु महाकवि देवकोटाको प्रश्नोत्तर कवितांश– “खोज्छन् सबै सुख भनी सुख त्यो कहाँ छ ? आफू मिटाइ अरुलाई दिनु जहाँ छ ।”

शम्भु अर्याल,स्याङ्जा