सुन्दरीपुर, सिन्धुपाल्चोकमा जन्मनुभएका कवि आर. आर. चौलागाईं हाल हेटौँडा–४, अभिकुञ्‌ज, मकवानपुरमा स्थायी बसोबास गर्दै आउनुभएको छ । उहाँ नेपाल विद्युत प्राधिकरणबाट सेवा निवृत्त कर्माचारी रहनुभए पनि कविता, लघुकथा, कथा, सूत्रकथा, निबन्ध, मुक्तक, गीत, गजल, हाइकु, छोक, एलाक, बाछिटा, समीक्षालगायतका विधामा सक्रीय हुनुहुन्छ । २०३४ सालतिर इच्छा कविताबाट लेखन आरम्भ गर्नुभएका उहाँका  सामन्तीलाई चिठ्ठी (कवितासङ्ग्रह–२०३७), नौलो बिहानी (कवितासङ्ग्रह–२०३७), जिउँदा मानिसहरू (कवितासङ्ग्रह–२०४३), बन्धनभित्रका अभिव्यक्तिहरू (संयुक्त कवितासङ्ग्रह–२०४६), चास्सचुस्स (संयुक्त हाइकु, छोक र मुक्तकसङ्ग्रह–२०५२), यात्राका गीतहरू (गीतसङ्ग्रह–२०५३), तुवाँलोभित्र र तुवा“लोबाहिर (कवितासङ्ग्रह–२०५४), कविता लेख्नु निरर्थक हुन्छ (कवितासङ्ग्रह–२०५६), आस्था रोपेर मनका गराहरूमा (कवितासङ्ग्रह–२०६०), विघटनको तयारीमा (लघुकथासङ्ग्रह–२०६५), असीम पर्खाइहरू (प्रतिनिधि कवितासङ्ग्रह–२०७३) लगायत प्रकाशित छन् । उहाँ साहित्य सङ्‍‌गम मकवानपुरको संस्थापक संयोजक तथा पूर्व अध्यक्ष, जन सांस्कृतिक मञ्च,मकवानपुरको संस्थापक प्रगतिशील लेखक संघ, मकवानपुरको संस्थापक सचिव, पूर्व केन्द्रीय सदस्य, तथा सिस्नुपानी नेपाल, मकवानपुरको सल्लाहकार हुनुहुन्छ । उहाँ मकवानपुर जिल्लास्तरीय अन्तर मा. वि. कवितागोष्ठी (प्रथम–२०३४, मकवानपुर साहित्य प्रतिभा पुरस्कार–२०५२,बृहत् प्रतियोगितात्मक राष्ट्रिय कवि सम्मेलन (सान्त्वना–२०५४, राष्ट्रिय कविता महोत्सव (द्वितीय–२०५४, राष्ट्रव्यापी कविता प्रतियोगिता प्रथम–२०५५, राष्ट्रव्यापी लघुकथा प्रतियोगिता (उत्कृष्ट–२०५५,राष्ट्रव्यापी मुक्तक प्रतियोगिता (प्रथम–२०५६, श्याम श्रेष्ठ स्मृति मातृभूमि साहित्य पुरस्कार–२०७९लगायतबाट सम्मानित पुरस्कृत हुनुहुन्छ ।  उहाँले हेटौँडा सन्देश (सामयिक सङ्‌कलन–२०३८,श्रमिक (सामयिक सङ्‌कलन–२०३९,अविरल (साहित्यिक त्रैमासिक)–२०४७,सत्प्रयास (विचारप्रधान साहित्यिक सँगालो) २०४९–२०५०,क्रमशः (सामयिक साहित्यिक सँगालो –२०५३, दीपशिखा (साहित्यिक त्रैमासिक–२०५३, अजम्मरी नामहरू (मकवानपुरे साहित्यकारहरूको नामावली–२०५८को सम्पादन गर्नुभएको छ ।

पूर्वमा भारत
पश्चिममा भारत
उत्तरमा चीन
अनि दक्षिणमा पनि भारत
सात प्रदेश
र सतहत्तर जिल्ला
हिमाल, पहाड र तराई
मिलेको भूभाग
असङ्ख्य खानी भएको
संसारमै धेरै पानी भएको
सम्पन्नताको प्रचुर सम्भावना भएको
जनसङ्ख्या करीब तीन करोड
राष्ट्रिय झन्डा चन्द्रसूर्य अङ्कित
कहिल्यै विकास नभएको
सधैँ पछाडि परेको
जनताभन्दा नेता धेरै भएको
चलाउन नसकेर-नजानेर डुब्न आँटेको
नेपाल नाम भएको
विश्वकै तन्नम
सुनको कचौरामा भीख मागिरहेको
कार्यकर्ता पोस्दापोस्दा
डनहरू पाल्दापाल्दा
हैरान भएको
अनि बिचौलियाहरूले हाँकिरहेको
सदियौँदेखि अलपत्र परिरहेको
हाम्रो उर्वर भूमि बिक्रीमा छ
जसले किन्छ ऊ मालामाल हुन्छ
कुरा बुझ्नु भो होला नि ! नत्र अवसर जान्छ
आउनोस् यो देश बिक्रीमा छ
यो देश बिक्रीमा छ ।

हेटौँडा–४, मकवानपुर

आर आर चौँलागाई संग सम्वन्धित केहि भिडियोहरु