श्रावण ३२, मकवानपुर ।
झरना साहित्यिक परिवार (झसाप) मकवानपुरले एकै दिन बकैया गाउँपालिकामा रहेको बुद्ध मा.वि. र बागमती गाउँपालिकामा रहेको जनता मा.वि.मा काव्य प्रशिक्षण कार्य गरेको छ ।
झसाप मकवानपुरले २९१ औँ साहित्य शृङ्खलाअन्तर्गत बुधबार बुद्ध मा.वि. हात्तीसुँडेमा कक्षा ११/१२ का करीब ८० विद्यार्थीहरूलाई कविता,गीत र गजल लेखन सम्बन्धि प्रशिक्षण गरिएको थियो ।
सो कार्यक्रममा विद्यालयका प्रधानाध्यापक प्रेम बोम्जन, सहायक प्रधानाध्यापक योगबहादुर राई तथा शिक्षक सुरेश रेग्मीलगायतको आतिथ्यता रहेको थियो ।
सोही दिन संस्थाको २९२ औँ साहित्य शृङ्खलाअन्तर्गत जनता मा.वि. बागमतीमा माध्यमिक तहका करीब ६० विद्यार्थीहरूलाई काव्य प्रशिक्षण गरेको छ ।
कार्यक्रमका प्रमुख अतिथिको रुपमा बोल्नु हुँदै झसाप मकवानपुरका संरक्षक रमेशमोहन अधिकारीले आफूसँग भएको क्षमतालाई प्रष्फुटन गर्नका लागि यस्ता कार्यक्रमले सहजीकरण गर्ने बताउनुभयो । उहाँले आफूभित्र भएको प्रतिभालाई सबैले समयमै चिन्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रमका विशेष अतिथि यादवराज बरालले झरनाले गाउँमा पुगेर यस्ता कार्यक्रम गर्दा विद्यार्थीलाई सिर्जनशील हुन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
सो कार्यक्रममा बुद्ध माविका प्रधानाध्यापक प्रेम बोम्जन, जनता माविका सहायक प्रअ दिनेश माझी, समाजसेवी बिष्णु घिमिरे, शिवराम ढकाल र तथा शिक्षकलगायतको व्यक्तिहरूको आतिथ्यता रहेको थियो ।
झसापका अध्यक्ष विश्वनाथ सञ्जेलको सभाध्यक्षतामा भएको कार्यक्रममा संस्थाका सचिव मसान उपासकले काव्य प्रशिक्षण दिनुभएको थियो भने कार्यसमिति सदस्य प्रेम बोम्जनले कार्यक्रमको सहजीकरण गर्नुभएको थियो ।
“सिर्जनशील नयाँ पुस्ता निर्माण अभियान” अन्तर्गत सो काव्य प्रशिक्षण गरिएको संस्थाका सचिव मसान उपासकले जानकारी दिनुभयो । अबको पुस्ता सिर्जनशील रहे मात्रै समाज उन्नत बाटोमा जाने भएकोले यो अभियान चलाएको उहाँले बताउनुभयो ।
