भाद्र १, मकवानपुर ।

हेटौंडा १६ मा अवस्थित जनप्रिय माध्यमिक विद्यालयका २८ विद्यार्थीहरूको पुस्तक विमोचन गरिएको छ ।

शुक्रबार आफ्नै प्राङ्गणमा गरिएको कार्यक्रममा पुस्तक विमोचनका साथै प्रत्येक विद्यार्थीले आफ्ना पुस्तकबाट एक/एक रचना वाचन गरेका थिए । सार्वजनिक गरिएका पुस्तकहरूमा विद्यार्थीहरूले कविता, कथा, मुक्तक, गजल, चित्रकथा, सामान्यज्ञान आदि समावेश गरेका थिए भने ती पुस्तकलाई विद्यालयको पुस्तकालयमा सबैले पढ्न पाइनेगरी सुरक्षित गरिनेछ ।

कार्यक्रमकै क्रममा आफ्नो कविता कृति ‘मुर्धन्य’ विमोचन गराउँदै कक्षा ९ की बिबिशा खड्काले विद्यालयले दिएको अवसरप्रति धन्यवाद व्यक्त गर्नुभयो । साथै उहाँले आफ्ना आमाको साथमा राखेर बाबाको बयानमा कविता वाचन गर्दा ‘बाबा, मलाई नयाँ लुगा किनेर पनि तपाईँ किन थोत्रै लगाउनुहुन्छ’ भन्दा अन्य अभिभावकहरू भावुक भएर सुनिरहेका थिए । अधिकांश विद्यार्थीहरूले आफ्ना रचना आफ्ना अभिभावकका साथमा पुस्तक सार्वजनिक गरेका थिए ।

कक्षा ८ की सारा गिरीले ‘चरा’ शीर्षकमा कविता सुनाउँदै आफ्नी आमाका साथमा रही विद्यालयले सार्वजनिक कार्यक्रममा बोल्ने, साहित्य रचना गर्ने लगायतका क्रियाकलापबाट आफूले निकै फाइदा लिएको र विद्यालयले दिएको यो अवसरले आफूलाई अत्यन्त हौसला मिलेकोले आफूले दोस्रो किताब सार्वजनिक गर्न पाएको कुरा सगौरव प्रस्तुत गर्नुभयो ।

विद्यालय व्यवस्थापन समितिका सदस्य कृष्ण पनेरूले यस्ता क्रियाकलापले विद्यार्थीहरूको क्षमता प्रदर्शनीमा महत्वपूर्ण भूमिका खेलेको बताउनु भयो भने विद्यालयका प्रधानाध्यापक भुपेन्द्र चौलागाईँले विद्यार्थीहरूका सिर्जनाको अवसर जुटाइदिने व्यवस्थापन समिति, शिक्षक तथा प्रशिक्षकहरूप्रति धन्यवाद ज्ञापन गर्नुभयो ।

३ दिने उद्घोषण कार्यक्रमका प्रशिक्षक रुपक कालिराजले विद्यार्थीहरूलाई आफ्नो भविष्यप्रति सकारात्मक बनेर अघि बढ्न प्रेरणा दिनुभयो । यस्तै साहित्य सिर्जनालाई बालबालिकाहरूमाझ अभियानकै रूपमा अगाडि बढाइरहनु भएका नवसर्जक साहित्य चौतारी नेपालका संरक्षक दीपक गौतमले ७० भन्दा बढी विद्यालयहरूमा यस्ता अभियान लिएर जाँदै गर्दा पहिलो पटक जनप्रिय माविमा आयोजित पुस्तक विमोचनले यो विद्यार्थीहरूको भविष्यप्रति विद्यालय परिवार लागिपरेकोमा खुशी लागेको बताउनु भयो ।

विद्यालयले करीब ३० विद्यार्थीहरूलाई प्रशिक्षकद्वय अमर गुरूङ तथा सुष्मा तिमल्सिनाबाट नृत्य प्रशिक्षण गराएको थियो भने झरना साहित्य परिवार (झसाप) मकवानपुरका अध्यक्ष विश्वनाथ सञ्जेलले मुक्तक तथा गजल लेखन अभ्यास गराउनु भएको थियो । यस्तै नेपाली लेखक संघका अध्यक्ष छवि अनित्यले वक्तृत्वकला तथा वादविवादबारे प्रशिक्षक गराउनुभयो । पुस्तक निर्माणका लागि नवोदय शिशु सदनका कला प्रशिक्षक मनिष योन्जनबाट विद्यार्थीहरूले रङ मिश्रणसम्बन्धी कलर ह्वीलबारे जानकारी, प्रयोग तथा पुस्तकको कभर पेजको कलासम्बन्धी प्रशिक्षण भएको थियो । साथमा शिक्षकहरू सुनिल गौतम, रविन श्रेष्ठ र संप्रस पौडेलले पुस्तकाकारमा ल्याउनका लागि सहजीकरण गर्नु भएको थियो ।

नेपाली भाषामा कथा लेखन तथा समापन कार्यक्रममा प्रशिक्षण तथा सहजीकरण जनप्रिय सञ्चार विभाग संयोजक सुनिल गौतमले गराउनुभयो भने अंग्रेजी भाषाका कथा लेखनबारे अंग्रेजी माध्यम संयोजक रविन श्रेष्ठ तथा नेपाली माध्यम संयोजक नीरबहादुर खड्काले सहजीकरण गर्नुभएको थियो ।

 

अतिरिक्त तथा साँस्कृतिक विभागका संयोजक युक्तलाल विश्वकर्मा तथा शिक्षक घनश्याम ढकालले योगका विविध आसनहरू प्रशिक्षणपश्चात् विद्यार्थीहरूले आजको कार्यक्रममा समेत प्रदर्शनी गरेका थिए ।

आजको कार्यक्रमको भिडियोलाई नवसाहित्य अनलाइनले छायाङ्कन गरेको थियो । जनप्रिय माविको आयोजना तथा जनप्रिय बालक्लबको संयोजनमा सञ्चालित विद्यार्थीको क्षमता अभिवृद्धि लगायतका प्रशिक्षण कार्यक्रमको कार्यक्रमलाई संप्रस पौडेलले संयोजन गर्नुभएको हो भने समापन कार्यक्रम विद्यार्थीहरू कृतिका बराल र प्रख्यातमान लोले सञ्चालन गर्नु भएको थियो ।