कवि चन्द्र गुरुङको ‘जब एउटा मान्छे हराउँछ’ कविता संग्रह हिन्दी भाषामा पनि प्रकाशित भएको छ । हिन्दीमा कवि गुरुङको कविता संग्रह ‘बूढे माँझी का देश’ नामले प्रकाशन गरिएको छ ।
कूल ५० कविता रहेको यस कविता संग्रहलाई नयाँ दिल्लीस्थित सर्वभाषा प्रकाशन गृहले हिन्दीमा सो पुस्तक प्रकाशन गरेको हो । यसअघि ‘माइ फादर्स फेस’ नामले अंग्रेजी भाषामा प्रकाशन भैसकेको सो कृति भारतमा अमेजनमार्फत् खरीद गर्न सकिने गुरूङले बताउनुभयो । साथै उहाँले आफैंले हिन्दीमा अनुवाद गरिसक्नु भएको ती कविताहरू भारतीय कवि शहन्शाह आलमले पढेपछि उहाँकै पहलमा प्रकाशन गरिएको बताउनु भयो ।
नेपालीमा सो कृतिको तेस्रो संस्करण प्रकाशन भैसकेको छ भने उहाँले अंग्रेजी, हिन्दी, अरबी कविताहरू नेपाली भाषामा अनुवाद गर्दै विभिन्न भाषामा लेखिएका कविता र नेपाली पाठकबीचको दूरीलाई कम गर्दै आइरहनु भएको छ । भूगोल को भोक मेटाउने प्रयास गरिरहनु भएको छ ।
उहाँको पहिलो कविता संग्रह नेपाली संस्करणमा ‘जब एउटा मान्छे हराउँछ’ इण्डिगो इङ्क प्रकाशन गृहले २०७९ जेठमा प्रकाशन गरेको हो । जसलाई लेखक बसन्त बस्नेतले ‘छोटा अर्थपूर्ण अनि पछिसम्म तरंग छाड्ने कविताहरू’ भन्नु भएको छ भने कवि नेत्र एटमले ‘आलोचनात्मक चिन्तन बोकेको, हृदयको भाषा रहेको र मस्तिष्क हल्लाउने कविताहरू’ भनी प्रतिक्रिया दिनु भएको छ ।
यस्तै खगेन्द्र गिरि ‘कोपिला’ ले ‘नेपालमा आफ्नो पहिचान आफैं मेटाएर पहिचान खोज्ने चलन चलेकोमा कवि चन्द्र गुरूङको हृदय, अनुभूति र संवेदनाको कुनै नश्ल, कुनै जात र धर्म समेत नहुने’ विचार राख्दै उहाँलाई आफ्नै मनको कविता लेख्न मन पराउने कविका रूपमा चिन्नुहुन्छ ।
मान्छे हराएपछि भेटिएको कविता जब एउटा मान्छे हराउँछप्रति कवि अनिता न्यौपाने भन्नुहुन्छ- ‘शालीन मान्छेको कविताले विद्रोहको आवाजहरू कसरी ओकल्छ, त्यो बुझ्न पनि यस पुस्तक पढ्नुपर्छ ।’
यसरी गहकिला कविताहरूको संग्रहको अंग्रेजी संस्करण ‘माइ फादर्स फेस’ रुब्रिक पब्लिसिङले र हिन्दी संस्करण ‘बुढे माँझी का देश’ सर्वभाषा प्रकाशनले पाठकमाझ ल्याएको हो ।
नवसाहित्य परिवारको तर्फबाट कवि गुरूङप्रति हार्दिक बधाई तथा शुभकामना ।
