मकवानपुर । सर्जक सञ्जाल मकवानपुरको आयोजनामा भइरहेको आन्दोलन तेस्रो दिन पनि चलेको छ । सर्जक सञ्जाल मकवानपुरले संगमचोकमा भ्रष्टाचारविरूद्ध सचेतनाका लागि रचना वाचन कार्यक्रम गरेको हो ।
ओमभक्त भण्डारीले एकोहोरो शङ्खनाद गरी शुरू गरेको कार्यक्रममा साहित्य सर्जक, स्थानीय, बटुवा, मिडियाकर्मीहरूको उल्लेख्य सहभागिता रहेको थियो ।
भ्रष्टाचारका विभिन्न घटनाहरू सार्वजनिक भैरहेका बेला कारबाहीका लागि सर्जकहरूले देशव्यापी रूपमा खबरदारी गर्ने क्रम बढ्दै जाँदा ७ दिने अभियान घोषणा गरिएको थियो ।
आजको कार्यक्रममा सानुभाइ विश्वकर्मा, शम्भुप्रसाद बाँस्कोटा, दीपक गौतम, राजकुमार चौधरी, देवराज तिवारी, पुरूषोत्तम आचार्य, छवि अनित्य, सञ्जीत श्रेष्ठ, अनिता न्यौपाने, सुवास सजल, देव निर्दोष, समर्पण न्यौपाने, एस।के। निधन, ओमभक्त भण्डारी, बैकुण्ठ लामिछाने, सानु खनालले रचना वाचन तथा लोक गायिका सरू कार्कीले गीत गायन गर्नुभयो ।
पत्रकार प्रताप बिष्टले भ्रष्टाचारविरूद्धको रचना वाचन अभियानमा आफू पनि सँगसँग रहेको जनाउँदै सबैले बोल्ने र गर्ने बानीबीच समानता हुनुपर्ने बताउनुभयो । यस्तै, सर्जक भूपिन चितवनदेखि सो कार्यक्रममा ऐक्यबद्धता जनाउन आउनुभयो भने चोकचोकमा सप्ताहव्यापी रचना वाचन आयोजना गर्नु कठिन रहेको बताउँदै यसमा होमिनुभएका सर्जक, अभियन्ता, स्थानीयलाई धन्यवाद दिँदै उहाँले रचना वाचन समेत गर्नुभयो ।
कार्यक्रमलाई रेडियो निकासले प्रत्यक्ष प्रशारण गरिरहेको छ भने एनएस टेलिभिजनले भिडियोमा कैद गरिरहेको छ ।
दैनिक कार्यक्रम अन्तर्गत बुधबार चौघडाचोकमा रचना वाचन हुने संयोजक निमेष निखिलले बताउनुभयो ।
सर्जक सञ्जाल मकवानपुरका संयोजक निमेष निखिलको अध्यक्षतामा आयोजित कार्यक्रम संप्रस पौडेलले सहजीकरण गर्नुभएको हो ।
#भ्रष्टाचारविरूद्ध सचेतना #रचना वाचन #सर्जक सञ्जाल मकवानपुर
