विदुर-१, नुवाकोटमा जन्मनु भएका कवि रुपा थापा लामो समयबाट अपाङ्गता भएका व्यक्ति तथा महिला र एकल महिलाहरूको हक अधिकारको लागि क्रियाशिल हुनुहुन्छ । उहाँको सिङ्गो जुनको प्रतीक्षा २०७९ कवितासङ्ग्रह प्रकाशित छ । उहाँ साहित्य संगम नुवाकोटको कोषाध्यक्ष तथा उद्यमशिल तथा सीप विकास अपाङ्ग संघ नुवाकोटका महासचिव हुनुहुन्छ ।
उनिहरूले बनाइदिएको
ऐनाभित्र चिह्याउँदा
ऐंठन भएपछि
जब छटपटाउथ्यो
म भित्रको एउटा मानिस ।
कोही भन्थे झिसमिसेको उज्यालोमा
पधेरीसँगै हराई
कोहि भन्थे संस्कारका भारीले थिचेर मरीसकी
कोहि भन्थे
केटाकेटीका खेलौनासँगै हराई ।
कोही भन्थे
काठका पुतलीहरू
हाम्रै हातका धागोमा बेरिएर मरिसकी ।
कसैले उनको हात भाँचीदिए
कसैले नली खुट्टाका हड्डिको सुप बनाएर पिए
कसैले भने उनको गिदीलाई नै भुटेर खाइदिए ।
भुट्दा भट्दै हाँडीबाट
कैले काहीँ उछिट्टिन नखोजेका होइनन्
ति ठेट्ना मकैहरू
फेरि पनि खोजी खोजी
त्यहि हाँडीभित्र राखेर
उनिहरूलाई भुटिदिएपछि
यस्तो लाग्थ्यो, उनिहरूभित्रको
एउटा मानिस
कहिले पनि जन्मिन पाएनन्
आफ्नै गर्भाशयबाट ।
आज ऐनाको सिसा नै चर्किने गरी
जब ऊ चिच्यायो
बिझाएका छन् उनीहरूको आँखामा
केही काँचका टुक्राहरू
जसलाई वर्षौदेखि
उनीहरूले विभाजित गरेका थिए
एउटालाई कोमल र
अर्की लाई पत्थर भनेर ।
उनीहरूले निर्धारण गरिदिएको
रेखाङ्कनबाट बाहिर निक्लिएपछि
यतिखेर घोषणा गरिदिएका छन्
मेरो मगजलाई
उनीहरूले नै अराजक भनेर
मलाई भने प्रमाणित गर्नु छ
विज्ञानको प्रयोगशालामा
ओखर झैँ फोरेर आफ्नै गिदीलाई
म भित्र पनि एउटा मानव छ ।
विदुर-१, नुवाकोट
