महाङ्‌काल–५, ललितपुरमा जन्मनु भएका कवि रत्न विरही घिमिरे हाल शिक्षण र साहित्यमा क्रियाशिल हुनुहुन्छ । उहाँ सुनगाभा साहित्य सदन, ललितपुरका संस्थापक सचिव हुदैँ हाल सललाहाकार, गोदावरी साहित्य परिषद्, ललितपुरका संस्थापक सचिव र युगकवि सिद्धिचरण प्रतिष्ठानका सदस्य हुनुहुन्छ । उहाँका सत्य सन्देश (भजनमाला सहलेखन/सम्पादन–२०६३), सहारा (उपन्यास–२०६३), बेमौसमी बाजा (गजलसङ्ग्रह–२०७०), स्मृतिका पानाहरूमा सुजाता (स्मृति पुस्तिका लेखन/सङ्‌कलन/सम्पादन–२०७०), सङ्‌कल्प (छन्दकविता सङ्ग्रह–२०७४), समयको रुमाल (छन्दकविता सङ्ग्रह–२०७७)लगायत प्रकाशित छन् । उहाँ हिमशिखर साहित्य सम्मान–२०६५, सहकारी विषयक कविता प्रतियोगितामा प्रथम–२०६९, सुनगाभा साहित्य सम्मान–२०७३, चेतना विस्तार युवा पविार, सोलुखुम्बुद्वारा कदर–पत्र–२०७५, त्रिभुवन विश्वविद्यालय साहित्य प्रतिष्ठानद्वारा कदर–पत्र–२०७५, दियालो साहित्य सरगम काठमाडौँद्वारा कदर–पत्र–२०७६, साहित्य संवाद अमेरिकाद्वारा काव्यसेवा सम्मान–२०७७, नेपाली सेनाद्वारा आयोजित राष्ट्रव्यापी कविता प्रतियोगितामा उत्कृष्ट–२०७७, महानन्द सापकोटा स्मृति विश्वव्यापी कविता प्रतियोगितामा उत्कृष्ट–२०७८, नेपाली साहित्यकार विश्व सञ्जालद्वारा आयोजित विश्वव्यापी कविता प्रतियोगितामा तृतीय–२०७८, साहित्य सङ्‌गम नुवाकोटद्वारा श्री ऋषिराम पौडेल/सरस्वती पौडेल पुरस्कार तथा सङ्‌गम साहित्य सम्मान–२०७९ लगायतद्धारा सम्मान सम्मानित भएसक्नुभएको छ ।

दबेछ विज्ञता कतै म मूर्खमा असाध्य छु
दिएँ स्वयम् सबै हिजो र आज माग्न बाध्य छु
गएछ प्राण न्यायको कुँदेर एक मूर्ति दे
अडेँ म सत्य मागमा बुझेर तथ्य पूर्ति दे !

झिकेर नेल पाउका अझै अगाडि जान दे
बुझी किसानका व्यथा बिहानसाँझ खान दे
अतृप्त चक्षु खोज्दछन् नयाँ हिमाल देख्न दे
भरेर शान्ति बुद्धका पवित्र मन्त्र लेख्न दे !

स्वधर्म कर्ममा रही परोपकार गर्न दे
अमोघ बीज शब्दका शिला चिरेर छर्न दे
रची भविष्य भूतका हजार हार भुल्न दे
म वक्ष थाप्छु सानले यहीँ गुराँस फुल्न दे !

पुछेर रक्तका छिटा अमूल्य स्वेद पोख्न दे
म गर्छु तौल ज्ञानको पढेर माथ जोख्न दे
विदेश जान्नँ खेतका गरा सदैव खन्न दे
स्वदेशमै बसी रमूँ स्वरोजगार बन्न दे !

अझै सयौँ विभेद छन् समाजबाट मेट्न दे
इमान पङ्खमा जडी उडेर चन्द्र भेट्न दे
खिया परेर बिग्रिँदो खुँडा झिकेर भिर्न दे
गरी विनाश दुष्टको जितेर युद्ध फिर्न दे !

चिनेर हात भ्रष्टका कि भाँच्न दे कि काट्न दे
कि आसका बजारमा अदृश्य दर्द साट्न दे
कि हाँस्न दे घृणा पिई कि मूर्त प्रेम भर्न दे
कि बाँच्न दे खुसी भई कि गर्वसाथ मर्न दे !

गोदावरी न.पा.–१२, ठेचो, ललितपुर