मेघ गर्जदै उठ्छ बतासको बेगसँगै नदी उर्लिदै बहन्छ बर्षातको थोपासँगै जुन घरि घरि चिहाउँछ फुत्त निस्किएर बादलसँगै
एकनास टुलुटुलु हेर्दाहेर्दै मनले ओठसँग भन्यो त्यो जूनसँगै लुकामारी खेल्दै यसरी नै म जागै बसेँ भने नि ! अध्यारोको त्यो जून आखिर कसको ?
अकस्मात् ! अनुभव गर्छु त्यो कालो रात छाती भारी हुँदै बर्सन्छ मेघ सम्झन्छु, हृदय छिया छिया भएको त्यो पल अनयासै बेसुर बहन्छन् नयन
लाग्छ मुठी बाँधेकै राम्रो मुठी खोल्दा फिँजिन्छ स्मृतिको रूमाल बनी मेरो अतीत मेरो प्रेम कहानी
प्रार्थना गर्छु हरेक साँझ तिमीलाई बिर्सन तर, कसले बन्द गरिदिन्छ मेरो स्मृतिको नीलिम द्वार ?
मलाई थाहा छ किनारको प्रेम बुझ्दैन नदी समुद्र चुम्ने हतारमा आतुर आतुर भै बहन्छ प्रेमको दीप समुद्र रहेछ प्रेम निर्जनताको प्रतीक रहेछ उपेक्षा गर्दिनँ म !
हर रात निद्रा बन्धक राखेर बाँचेका मेरा नयनहरू अहँ ! अझै सकेनन् पुग्न तिम्रो चिताछेउ मान्दैन मनले त्यो मृत्यु स्विकार्न लाग्छ तिमी समीप छौ र चिहाइरहेछौ मलाई जून झैँ घरि घरि !