भैरव अर्यालको जीवनमा आधारित उपन्यास ‘भग्न भैरव’ हात पर्‍यो । विमोचनको हप्ता दिन नपुग्दै तात्तातै, पनि सिध्याइएको हो । पढेको केही दिनसम्म दिमागमा धेरै ज्वारभाटा उठेका पनि हुन् । त्यसबारेमा केही लेखूँजस्तो लागेको पनि हो तर पनि त्यो विचार निकै दिनसम्म त्यत्तिकै थन्केर बस्यो । ‘भग्न भैरव’मा के त्यस्तो छ र लेख्ने ? — प्रश्न खेल्यो । हालसम्म अरूले भैरव अर्यालबारे थाहा नपाएका कुरा ? वा, अलिअलि थाहा भएका तर गहिराइमा जानकारी हुन नसकेका कुरा ? वा, थाहा पाएका कतिपय कुराको फरक प्रस्तुति ? अथवा, लेखकीय शैली वा विषयवस्तु पस्काइको तरिका ? यावत् कुराले दिमाग गिजोलिरह्यो । यसबीच पाठक प्रतिक्रियाहरू पनि सामाजिक सञ्जालमा आइरहे; पढिरहियो । सामान्यदेखि गहन समीक्षाहरू आए । आफूलाई लागेका धेरै कुराहरू त तिनैले लेखिसके, अब थप किन लेख्नुपर्‍यो र भन्ने पनि लाग्यो । त्यसैले होला सायद, अहिलेसम्म त्यसबारे कुनै प्रतिक्रिया लेख्ने जाँगर चलेन । तर ……
लेख्नु सामान्य कुरा हो । त्यसमा पनि लेख्ने बानी परेकाका लागि त त्यो झन् सहज कुरा हो । विषयगत वा वैशेषिक कुरामा मात्र सीमित नरहेर त्यसभन्दा पर पनि पुगेर लेख्नु वा लेखक स्वयम् पात्र बनेर लेख्नु गाह्रो कुरा हो । हुन त पात्रलाई आत्मसात नगरेको लेखकले गहकिलो लेख्न सक्तैन तर पनि पात्रले भोगेका सामाजिक, मानसिक, भौतिक, आर्थिक पारिवारिक र पारिवेशिक अवस्थाले उत्पन्न जटिलता आत्मसात गरेर तत्–तत् समय र घटनामा आफू स्वयम् उपस्थित भएको महसुस गर्नु, आफू स्वयमले ती सारा कुरा भोगेको आत्मानुभूति गर्नु मेरो विचारमा दुःसाध्य विषय हो । यसरी लेख्नु झन् गाह्रो कुरा हो । यस अर्थमा मलाई प्रोल्लासको ‘भग्न भैरव’ खास लाग्यो । ‘भग्न भैरव’को पानैपिच्छे लेखक भैरव बनेका छन्; भग्न भएका छन् । भैरवका सबै समस्याबाट उनी परिचित छन् । सबै पीडाबाट पीडित छन् । सबै समस्या र सबै ताडनाबाट उनी रन्थनिएका छन् । आत्माभिमानको झिल्कोले उनलाई बिउँझाएको छ, अभावको चोटले घायल बनाएको छ, आत्मबलले उठाएको छ भने मायाप्रेमले पगालेको छ । आफू र आफ्नो पेशाप्रतिको निष्ठाले निडर बनाएको छ । यहाँ लेखक भैरव बनेर जीवनको रनाहा भोगिरहेछन्, तमाम साथीभाइ, इष्टमित्र, बन्धुबान्धव, कुलकुटुम्ब, नातागोता सबैतिरबाट अनपेक्षित तिरस्कार अनुभूत गरिरहेछन् र यसको मूल कारण आफ्नो बँचाइलाई मानिरहेछन् । यसरी प्रस्तुत भैरवको यो रूप भैरवका निकटतम मित्र घनानाथलाई पनि बोध्य थिएन होला । यस्तो लेखाइ लेखकको पैँतीसदिने गुप्तबास र त्यसपछिका करिब चार वर्षको गहन डुबाइको परिणाम हो भन्न सकिन्छ ।
भैरव अर्यालका एकमात्र आत्मीय मित्र रोचक घिमिरेको मनमा वर्षौंदेखि गुम्सिएर रहेको भावनालाई लेखकले यसमा रोचक बनेरै प्रस्तुत गर्न खोजेका छन् तर यथार्थमा उनी रोचक कम र भैरव ज्यादा भएका छन् । आफ्नो जीवनकालमा भैरव निश्चय भग्न थिए, अझै भनौँ क्षतविक्षत नै थिए । उनले आफू बाँचेको परिवेशलाई आफ्ना रचनाहरूमा प्रष्टसित उतारेका छन् । मास्टर, पत्रकार, लेखक, सम्पादक आदिका अतिरिक्त भैरव सामाजिक जञ्जालमा बाँधिएर विभिन्न नातासम्बन्धमा जेलिएका, विभिन्न जिम्मेवारीले थिचिएका अरूजस्तै सामान्य मान्छे थिए । यथार्थमा समाजका हरेक मान्छे टुक्रा–टुक्रामा विभक्त भएर बाँचिरहेको हुन्छ तर पनि ऊभित्रको जिजीविषाले उसलाई मर्न दिएको हुँदैन ।
आफ्नो पैँतीस दिनको बसाइमा लेखक पटकपटक भैरवले आत्महत्या गरेको ठाउँमा पुगेका छन् । उनले माथिबाट भैरव बजारिएको ढुङ्गा धेरै पटक नियालेर हेरेका छन् । त्यतिमात्रै होइन उनी त्यही ढुङ्गासम्म पुगेर उभिएका पनि छन् । त्यस ठाउँमा उभिइरहँदा मान्छेको मथिङ्गल खल्बलिन्छ । भावनात्मक उद्वेग मडारिन थाल्छ । यस्तो लाग्छ मानौँ आफैँ त्यस ठाउँबाट हाम्फल्न लागेको होस् ! तल एकनाससित बगिरहेको पानीले आफैँलाई बगाउँदै लगेझैँ आभास हुन्छ र जीवनको निस्सारता प्रकट भएर आउँछ । जो–कोहीलाई पनि त्यस्तो सोचाइसाथ त्यहाँ धेरै बेर उभिइरहन गाह्रो हुन्छ । म पनि त्यस ठाउँमा पुगेको छु । भैरव हाम्फालेको ठाउँमा उभिएर तलको खोँच हेरेको छु । म त्यहाँ पुग्दा र भैरवले हाम्फालेको स्थितिको कल्पना गर्दा मलाई निकै गाह्रो भएको थियो । भननन्न रिँगटा लागेझैँ भएको थियो । प्रोल्लासलाई त्यस्तो नभएको हुन सक्ने सम्भावनाको कल्पना पनि गर्न सकिँदैन । अझ भैरव भएरै लेख्न लागेको लेखकलाई जीवनको निस्सारताको गहिरो बोध भएकाले त्यहीँबाट हाम्फालेर अनुभव गरिहेरौँ न भन्ने पनि पक्कै लागेको हुनुपर्छ । त्यही बेलादेखिको वैरागले यथार्थमा उनको दिमागमा गहिरो असर पारेको हुन सक्छ, जसले गर्दा त्यसपछिका दिनहरूमा लेखक जीवनप्रतिको घोर निराशामा बाँचिरहेको महसूस हुन्छ । किताब पढेर होइन, लेखकसँगको व्यक्तिगत सम्बन्ध, सम्पर्कबाट यो कुरा बोध भएको हो ।
‘भग्न भैरव’मा भैरवबारेका ज्ञातअज्ञात थुप्रै कुरा छन् । भैरवजीवनका विविध ओझेल पाटाहरू उजागर भएका छन् । यद्यपि, कहीँकहीँ कल्पनाले पनि ठाउँ पाएका हुन सक्छन् तापनि ती यथार्थको चमकले झन् खुलेका छन् । भैरवजीवनका विविधपक्षमा आत्मसंवेगको उपल्लो तहमा पुगेर लेखकले अनुभूति पस्केका छन् । अर्थात्, भैरवको सग्लो प्रतिविम्ब उतार्न लेखकले आफूलाई भैरवमा रूपान्तरण गरेका छन् । यसरी हेर्दा भैरवको जिउँदोजाग्दो भग्न रूप लेखक स्वयम् भएको देख्न सकिन्छ । अर्थात्, भैरवको भग्नता लेखकमा सरेको छ र आफ्नो युगको भग्न भैरव सग्लो बनेका छन् ।
लेखकको यस्तो जटिल रूप प्रतिष्ठापनले यो ‘भग्न भैरव’ उचालिएको छ । यस्तो दुरुह कार्य सम्पादन गर्न सकेकामा लेखकको उचाइ बढेको छ । नेपाली साहित्यमा यस्तो गहकिलो कृति उपलब्ध गराउने लेखकलाई साधुवाद ।
अन्तमा, मलाई लागेको एकाध कुरा यहाँ उल्लेख गर्नु उचित ठानेको छु । किताबका केही प्रसङ्गहरूमा कल्पनाको यथार्थिक प्रस्तुतिले ‘भग्न भैरव’लाई जीवनीबाट आख्यानमा रूपान्तरित गरेको छ । धेरैजसो पाठकलाई पत्तै नहुने गरी गरिएको यस्तो प्रस्तुतिले लेखकको अब्बल लेखकीय खूबी उजागर गरेको छ । आख्यान नै भए पनि भैरव अर्यालसित सम्बन्धित कुनै–कुनै प्रसङ्ग उल्लेख नगरेको भए पनि फरक पर्दैनथ्यो कि भन्नेचाहिँ मलाई लगिरहेको हो । त्यसबारे लेखकसित प्रत्यक्ष भेटेर आफ्नो खुलदुली मेट्ने मन भएकाले यहाँ उल्लेख गर्नु आवश्यक ठानिनँ । कल्पना नै गर्नुपर्ने भएपछि लेखकले भैरव अर्यालले हाम फाल्नुअघि त्यो सुनसान रातमा त्यहाँ उभिएर ‘यस्तो सोचे होलान्’ भनेर आफूलाई त्यस ठाउँमा उभिँदा भएको रोमाञ्चक अनुभव कृत्रिम नलाग्ने गरी समावेश गर्न पनि सकेको भए हुन्थ्यो कि भन्ने मलाई लागिरह्यो ।
त्यसरी नै वर्षौंदेखि मेरो मनमा रहेको एउटा प्रश्न भने अनुत्तरित नै रह्यो– ‘भैरव अर्यालले आत्महत्या गर्नुपर्ने यथार्थ कारणचाहिँ के थियो ? भोगिरहेको विविध विसङ्गतिपूर्ण परिस्थितिबाट उत्पन्न जीवनप्रतिको वितृष्णा, अपरेशनपछिको आफ्नो अनपेक्षित आवाज कि अन्य कुनै …?’
विशेषतः कवितामा बलियो पकड जमाएका सिन्धुलीयको आख्यानमा पनि गतिलो क्षमता भएको कुरा ‘भग्न भैरव’ले पुष्टि गरेको छ । केही दिन हराएर युगको साक्षी बन्ने कृति नेपाली साहित्यमा भित्य्राउन सक्ने प्रोल्लास सिन्धुलीय अहिले पनि सिन्धुलीगढीको यथार्थ इतिहासमा आधारित आख्यानिक कृति ‘फिरङ्गी’ र असाधारण त्यागपूर्ण प्रेमकथा ‘सुन्तलीमाई’ कोरल्नका लागि सिन्धुलीमै ओथारो बसेका छन् । उनको यो तपस्याले चाँडै सकारात्मक परिणाम ल्याओस् र हामीजस्ता पाठकले तिनको रसास्वादन गर्न पाऔँ । अहिले यत्ति नै !

-श्रीराम पाण्डे / ९ भाद्र २०८०, हरिसिद्धि, ललितपुर ।