हास्यव्यङ्ग्य अनलाइन ‘फित्कौली अनलाइन मिडिया’ द्वारा हास्यव्यङ्ग्य राष्ट्रिय सम्मान तथा पुरस्कार समर्पण, हास्यव्यङ्ग्य कृति लोकार्पण समारोह एवम् कार्टुन प्रदर्शनी आयोजना गरिएको छ ।
कार्यक्रममा सर्जकहरू विगत चार दशकदेखि हास्यव्यङ्ग्य लेखनमा क्रियाशील पाल्पाका चोलेश्वर शर्मालाई नगद रु. २० हजारसहित ‘फित्कौली हास्यव्यङ्ग्य राष्ट्रिय सम्मान २०८०’, स्याङ्जाकी गायत्री परिरोशनीलाई ‘गोविन्द-विजया फित्कौली हास्यव्यङ्ग्य राष्ट्रिय प्रतिभा पुरस्कार २०८०’, झापाका हास्यव्यङ्ग्य कवि खगेन्द्र नेउपानेलाई ‘फित्कौली हास्यव्यङ्ग्य राष्ट्रिय कविता पुरस्कार २०८०’, गुल्मीका हास्यव्यङ्ग्य निबन्धकार काशीनाथ मिश्रितलाई ‘फित्कौली हास्यव्यङ्ग्य राष्ट्रिय निबन्ध पुरस्कार २०८०’ र भक्तपुरका कवि रामशरण न्यौपानेलाई ‘मुकुन्द-मुना फित्कौली राष्ट्रिय बुढ्यौली साहित्य पुरस्कार २०८०’ बाट सम्मान गरिएको फित्कौली मिडियाका प्रधान सम्पादक नरनाथ लुइँटेलले बताउनु भएको छ ।

यस्तै हास्यव्यङ्ग्य पुस्तकहरू राजेन्द्र कार्कीको ‘खाइराइड’, सुभाषचन्द्र देवकोटाको ‘ग्रहणतन्त्र’, नरेन्द्रराज पौडेलको ‘भ्यागुताको श्‍वेतपत्र’, ठाकुरप्रसाद अधिकारीको बेसारे घुर्की र डा. मुकेश चालिसेका पाका मान्छेका बारेमा पाठ्यसामग्री ‘डाँडाका उज्याला जून’ एकै पटक लोकार्पण गरिएको छ ।
कार्यक्रममा हास्यव्यङ्ग्य सिर्जनाको प्रस्तुतिका साथै बुढ्यौली साहित्यबारे चर्चा गरिएको थियो भने कार्टुन प्रदर्शनीअन्तर्गत राजेश मानन्धरका रोचक कार्टुनहरूको प्रदर्शनी गरिएको छ ।
अग्रज र वरीष्ठ साहित्यकारहरू भैरव रिसाल, शान्तदास मानन्धर, गोविन्दराज भट्टराई, रोचक घिमिरे र चट्याङमास्टर ५ जनाको प्रमुख आतिथ्यता र फित्कौली अनलाइन मिडियाका प्रधान सम्पादक नरनाथ लुइँटेलको सभाध्यक्षतासहित कार्यक्रम आयोजना भएको हो । यस्तै सो कार्यक्रममा डिजिटल प्रविधिबाट  स्क्रिनमार्फत् प्रत्येक पुस्तकहरूको बेग्लाबेग्लै प्रस्तुतिका साथ विमोचन गरिएको थियो ।
कार्यक्रममा सम्मानित स्रष्टा चोलेश्वर शर्माले राजधानीबाट अन्यत्र रहेर ओझेलमा परिसकेको सर्जकलाई फित्कौलीले सम्मान गरेकोमा गद्‍गद् परेको र कुनाकुनाबाट सर्जकलाई खोजेर राजधानीमा राष्ट्रिय सम्मान मिलेकोमा अन्तरहृदयदेखि प्रफुल्लित भएको बताउनु भयो ।
हास्यव्यङ्ग्यका शीर्ष व्यक्तित्व स्व. भैरव अर्यालका सबैभन्दा नजिकका मित्र तथा साहित्यिक पत्रकार संघका अध्यक्ष साहित्यकार रोचक घिमिरेले फित्कौली अनलाइनको यस कार्य अत्यन्त प्रशंसनीय रहेकोले बधाई दिनुभयो ।

हास्यव्यङ्ग्यको खुम्चिने क्रमलाई रोकेर फित्कौलीले नेपाली हास्यव्यङ्ग्यको पुनर्जागरण गरेको र यसै कार्यक्रममा ३ जना स्रष्टाको पहिलो पुस्तक विमोचन गराएकोमा फित्कौली अनलाइनको कामको प्रशंसा गर्दै प्राध्यापक डाक्टर गोविन्दराज भट्टराईले विमोचित ४ हास्यव्यङ्ग्य पुस्तकको समीक्षा गर्नुभयो ।
बालसाहित्य लेखनमा लामो समयदेखि सक्रिय ९३ वर्षीय जगदम्बाश्री शान्तदास मानन्धरले एउटा हास्यव्यङ्ग्य सर्जकले पहिले आफैंलाई व्यङ्ग्य गर्नुपर्ने अनि मात्रै अरूलाई व्यङ्ग्य गर्न सकिने र सहज हुने बताउँदै स्वआलोचना नगरी अरूको आलोचना गर्न नसकिने विचार राख्नुभयो ।
कार्यक्रम हल र २ सय जनाका लागि खाजा व्यवस्थापन सुरेन्द्र सिटौला गर्नुभयो भने कार्यक्रममा वासुदेव लुइँटेल गुठीका अध्यक्ष सुष्मा आचार्य, हास्यव्यङ्ग्य साहित्यकार हरिकला उप्रेती, पोखरेली सर्जक शेषराज भट्टराई लगायतका स्रष्टाहरूको उपस्थिति रहेको थियो । हास्यव्यङ्ग्यको प्रवर्द्धनका लागि सक्रिय यस साहित्यिक अनलाइनको “फित्कौलीको खित्कौली सभा-२” को औपचारिक कार्यक्रमलाई हास्यव्यङ्ग्य सर्जक अनिल पौडेल कीर्तेले सञ्चालन गर्नु भएको हो ।