नेपाली र अंग्रेजी भाषामा कलम चलाउनु हुने अग्रज साहित्यकार एल.बी. क्षेत्रीको कविता संग्रह ‘को हो त्यो मान्छे ?’ सार्वजनिक भएको छ ।
शनिबार प्रज्ञा प्रतिष्ठान, कमलादीमा आयोजित विमोचन कार्यक्रम नेपाल प्रज्ञा प्रतिष्ठान कूलपति भुपाल राईको प्रमुख आतिथ्यतामा सञ्चालन गरिएको थियो ।
पेज टर्नरद्वारा प्रकाशित क्षेत्रीको छैठौं कृति सार्वजनिकीकरण सो कार्यक्रममा कवि तथा समालोचक महेश पौड्याल र कवि भुवन ढुङ्गाना वक्ता रहनु भयो ।
यस्तै क्षेत्रीले यसअघि त्रिशंकुको देशमा (२०६४), भीडमा हराएको मान्छे (२०७१), ईन्द्रमायाको देशमा (२०७१), व्रतभङ्ग (२०७५), द करिडोर अफ सेन्सेस (२०७८) लेखिसक्नु भएको छ । कविडाँडा साहित्य समाजका अध्यक्ष समेत रहनु भएका उहाँको १०० पृष्ठको यस पुस्तकमा तीन दर्जन बढी कविता सङ्ग्रहित छन् ।
पूर्व प्राध्यापक क्षेत्रीले १ लाख २५ हजार रुपैयाँ राशीको आख्यान पुरस्कारको स्थापना गर्नु भएको छ भने विभिन्न साहित्यक विमर्श, गोष्ठी, रचना वाचन कार्यक्रमहरू आफ्नै व्यक्तिगत तथा संस्थागत पहलमा सञ्चालन गर्दै आइरहनु भएको छ । विगत केही समयदेखि अष्ट्रेलियामा स्वास्थ्य उपचारपछि हालसालै नेपाल फर्किनु भएका क्षेत्री विदेशमा रहँदा अनेसासलगायतका संस्थाका कार्यक्रममा रचना वाचन गर्दै भेटिनु हुन्छ भने गृहजिल्ला चितवनमा रहँदा उहाँसँगै साहित्य सर्जकहरूकै सक्रियता बढ्ने गरेको छ ।
यसअघि साहित्यकार क्षेत्रीले प्रकाशित आफ्ना दुईवटा कृति “भिडमा हराएको मान्छे” र “इन्द्रमायाको देशमा” पर्थ, अष्ट्रेलियामा पनि सार्वजनिकरण गराउनु भएको थियो । प्राध्यापन पेशाबाट विदाईपछि आफ्नो जीवनलाई पूर्णरूपमा साहित्यमा अर्पण गरिरहनु भएका उहाँले पुस्तकका अलावा कैयन् फुटकर कथा, कविता आदि प्रकाशन गराइरहनु भएको छ भने उहाँ चरैबेती त्रैमासिक साहित्यिक पत्रिकाका प्रधान सम्पादक समेत हुनुहुन्छ ।
नवसाहित्य परिवार हार्दिक बधाईका साथ उहाँको स्वस्थ र सक्रिय जीवनको लागि शुभकामना प्रकट गर्दछौं ।
