आज फेरि एउटा धूवाँको
साक्षी बसेर आएँ ।

वर्षामय थियो बिहान 
जलमग्न थियो नदीकिनार
देवघाटको उच्च ढिकमा
लहरै बनेका थिए चार वटा चिता
पल्लो छेउको चितामा
जल्दै थियो
एउटा भूतपूर्व जीवन
बाँकी तीन वटा चिताहरू
कुर्दै थिए ग्राहक ।

श्मसानमा यसरी
ग्राहक कुर्दै गरेको
एउटा चिता उसको थियो
त्यही चिताछेउ उभिएर
म उसलाई कुर्दै थिएँ
होइन,
त्यो चितामा
उसको पार्थिव शरीर
डढेको हेर्न विवश थिएँ ।

अघि अघि
चार जना मगर पण्डितहरू
पूरा गर्दै थिए आफ्नो विधि
पछि पछि थियो उसको शव
पुरातन विधि पूरा गरेर
चितामा चढाइयो उसको शरीर
आगोले खाँदै थियो ह्वर्ह्वारी
निष्प्राण उसको देह
जसलाई हिजोसम्म
हामी अघ्घोरै सम्मान गर्थ्यौं
जल्दै गरेको उसको शरीर
दानामा रूपान्तरित हुनै सकेन
उसको दाना कविता जस्तो
मुस्लो मुस्लो धूवाँ बनेर
उडिरह्यो सुदूर आकाशतर्फ
साँच्चै अब,
उसलाई कहाँ भेटिएला हँ ?

यसैगरी जीवनमा
कैयौँपल्ट
धूवाँहरूको साक्षी बस्दै आएको छु म
आज फेरि एउटा धूवाँको
साक्षी बसेर आएँ ।

रमेश प्रभात, चितवन । (स्व. तुलसी थापाको स्मृतिमा)