मकवानपुरे साहित्यकार श्यामकुमार बानियाँको नयाँ गीत “ए जिन्दगी” सार्वजनिक भएको छ । मानवीय जीवनका आयामहररूलाई गीतको माध्यमबाट पोख्न खप्पिस बानियाँ का सिर्जनाहरूले नेपाली साहित्यको प्रवर्धनमा महत्त्वपूर्ण भूमिका खेलेको छ । ओसन म्युजिक प्रालिले बजारमा ल्याएको यस गीतमा शब्द श्यामकुमार बानियाँ स्वर नवराज पाराजुलीको रहेको छ । गीतकाे सङ्गीत तथा निर्देशन ओम प्रकाश राईले गर्नुभएको हो । अन्जन तामाङ्ग र सन्जु तामाङ्गको अभिनय रहेको यस गीतमा एरेन्ज र मिक्सिङ्ग रोशन बालुवा र गोविन्द सोनीले गर्नुभएको हो । बिनोद किरातीले छायाङ्कन गर्नुभएको भिडियोलाई संजय कोइरालाले सम्पादन गर्नुभएको छ।
मनहरी–३ बिजौना, मकवानपुर निवासी श्यामकुमार बाँनिया ज्ञानोदय बालवाटिका आवासीय मा.वि. हेटौँडा – ५ पिप्ले मकवानपुरका सञ्चालक रहेर पनि नेपाली साहित्यमा कविता, कथा, समालोचना , गीत लगायतका बिधामा सक्रिय रहनुभएको छ । उहाँका ‘प्रतीक्षा’ (खण्डकाव्य– २०५६ ), ‘अतृप्त खण्डहर’ (संयुक्त कवितासङ्ग्रह– २०६३), ‘अतीतको आँगनीमा’ (खण्डकाव्य– २०६३) लगायतका साहित्यिक पुस्तकहरू प्रकाशित रहेका छन् । उहाँले ‘बारुद’ (साहित्यिक त्रैमासिक), ‘पलाँस’ (साहित्यिक, त्रैमासिक), ‘अक्षय अक्षर’ (साहित्यिक, त्रैमासिक), ‘सौरभ’ (समसामयिक साहित्यिक सँगालो), ‘हेटौँडा टुडे’ राष्ट्रिय दैनिक, ‘बलिदान’ साप्ताहिक, ‘भूमध्यरेखा’ साप्ताहिक आदि साहित्यिक पत्रपत्रिका सम्पादन गर्नुभएको छ । उहाँ साहित्य सङ्गम मकवानपुर, सिस्नुपानी नेपाल, मृगतृष्णा साहित्य डबली, मकवानपुर, जनमत साहित्यिक पत्रिका काभ्रे आदि संस्थामा आबद्ध हुनुहुन्छ । उहाँ उत्कृष्ट पत्र लेखन सम्मान, रेडियो नेपाल (२०५३), रेडियो नेपाल, रश्मि नवप्रतिभा प्रोत्साहन सम्मान, (२०५७), रौतहट, गजलश्री सम्मान (२०६३), गजल मञ्च मकवानपुर, नारायणी वाङ्गमय पुरस्कार (२०६३), नारायणी वाङ्गमय प्रतिष्ठान, भेषनाथ अधिकारी स्मृति सम्मान, साहित्य सङ्गम मकवानपुर आदिबाट पुरस्कृत तथा सम्मानित हुनुभएको छ ।
