Homeकविताकविता: यस्तै हो थापा सर, जिन्दगानी चल्दै छ / साम्ब ढकाल
कविता: यस्तै हो थापा सर, जिन्दगानी चल्दै छ / साम्ब ढकाल
साँच्ची म्यामलाई कस्तो छ ? भन्नुहुन्थ्यो नि त्यो माथि जङ्गलछेउको चेप्टोढुङ्गामाथि बसेर जाँदाजाँदै बीच्चमै हराएको बनेली बाटो हेर्दै अतीतमा रमाउने
सुरुदेखिकै बाढीजस्तै आउने बितेका कुराहरू सम्झदै / फेरि सम्झदै यतिसम्म कि वर्तमान र भविष्य पूरै भुलेर दिन-दिनभरि आफूआफूमै हराउने अनि, रोगी खाना खाने बास फर्कने !
तपाईंले जिन्दगीभरि तर्नुभएका खोला नाला र जङ्घारले तपाईंका बाँचुञ्जेलका उच्छवास सुसेल्छन् कि सुसेल्दैनन् ?
तपाईंले आजकल टेकेर हिँड्ने बाटा / दोबाटा / चौबाटाहरूमा गामघरका नोष्टाल्जिया अल्भेका छन् कि छैनन् ? पेसमेकरले कुनै ऍठन त थपेको छैन नि ??? सुदूरका चेपाङसँगका अन्तरङ्गता सम्झना र बिर्सनाको चाकाचुलीमा झनै छ्यालब्याल भए होलान्, सँगालेर राख्ने भेट्नुभो त ? मन परेका किताब पढ्न मोतिया बिन्दुले दिन्छ त थापा सर ? सिङ्गो जीवनलाई त एक्कै ठान्नुहुन्थ्यो के जिन्दगी सोचेजस्तो सजिलो रहेछ त थापा सर ? डबडबाउँदा आँखीडिलमा थाम्नुसम्म थाम्नुभो असमेल आँसुका नाजुक ढिक्का वयस्कको टाकुरीमा पुगेर हेर्नुभो – आफूले हिडिआएका उमेरभरिका नागबेली गोरेटा गम्न थाल्नुभो– यहाँसम्म आएपछि कहाँ आइपुगे म ! अझ अगाडि कहाँ जाने ! त्यहाँभन्दा अगाडि कहाँसम्म पुग्ने ! सोधिरहनुहुन्थ्यो- जिन्दगीको अन्तिम टुङ्गो कहाँसम्म हो साम्बजी ? म आफैँले फुकाउन नसकेको यक्षप्रश्न प्रश्नको युगीन गुजुल्टोमा मैलाई फसाउनुभो नि थापा सर ! यस्तै हो- जिन्दगानी चल्दै छ जिन्दगी फनफनी भुमरीमा फस्दै छ !