साँच्ची म्यामलाई कस्तो छ ?
भन्नुहुन्थ्यो नि
त्यो माथि जङ्गलछेउको चेप्टोढुङ्गामाथि बसेर
जाँदाजाँदै बीच्चमै हराएको
बनेली बाटो हेर्दै अतीतमा रमाउने

सुरुदेखिकै बाढीजस्तै आउने
बितेका कुराहरू सम्झदै / फेरि सम्झदै
यतिसम्म कि
वर्तमान र भविष्य पूरै भुलेर
दिन-दिनभरि आफूआफूमै हराउने
अनि, रोगी खाना खाने
बास फर्कने !

तपाईंले जिन्दगीभरि तर्नुभएका
खोला नाला र जङ्घारले
तपाईंका बाँचुञ्जेलका उच्छवास सुसेल्छन् कि सुसेल्दैनन् ?

तपाईंले आजकल टेकेर हिँड्ने बाटा / दोबाटा / चौबाटाहरूमा
गामघरका नोष्टाल्जिया अल्भेका छन् कि छैनन् ?
पेसमेकरले कुनै ऍठन त थपेको छैन नि ???
सुदूरका चेपाङसँगका अन्तरङ्गता
सम्झना र बिर्सनाको चाकाचुलीमा
झनै छ्यालब्याल भए होलान्, सँगालेर राख्ने भेट्नुभो त ?
मन परेका किताब पढ्न मोतिया बिन्दुले दिन्छ त थापा सर ?
सिङ्गो जीवनलाई त एक्कै ठान्नुहुन्थ्यो
के जिन्दगी सोचेजस्तो सजिलो रहेछ त थापा सर ?
डबडबाउँदा आँखीडिलमा
थाम्नुसम्म थाम्नुभो
असमेल आँसुका नाजुक ढिक्का
वयस्कको टाकुरीमा पुगेर हेर्नुभो –
आफूले हिडिआएका उमेरभरिका नागबेली गोरेटा
गम्न थाल्नुभो–
यहाँसम्म आएपछि कहाँ आइपुगे म !
अझ अगाडि कहाँ जाने !
त्यहाँभन्दा अगाडि कहाँसम्म पुग्ने !
सोधिरहनुहुन्थ्यो-
जिन्दगीको अन्तिम टुङ्गो कहाँसम्म हो साम्बजी ?
म आफैँले फुकाउन नसकेको यक्षप्रश्न
प्रश्नको युगीन गुजुल्टोमा
मैलाई फसाउनुभो नि थापा सर !
यस्तै हो- जिन्दगानी चल्दै छ
जिन्दगी फनफनी भुमरीमा फस्दै छ !

हेटौंडा-४, हुप्रचौर, चिल्ड्रेनपार्क सडक