हुन त अनुवाद साहित्य पढ्दा साहित्यकारको मूल सृजनात्मक रचनाको आनन्द लिन पाइन्न भन्छन् । बेलायतका सर विलियम जोन्सले कालिदासको प्रसिद्ध संस्कृत रचना “अभिज्ञान शाकुन्तलम्” को काव्यानन्द पाउनको लागि भारतमा आएर संस्कृत सिकेका थिए । त्यसपछि त्यसको अंग्रेजीमा अनुवाद गरे । त्यही अंग्रेजी अनूदित रचना पढेर जर्मनीका गेटेले जर्मन भाषामा अनुवाद गरेका थिए ।

विश्व साहित्यमा धेरै चर्चित साहित्य रचनाहरु छन् । यस्ता साहित्यहरु पढ्न कसलाई मन हुँदैन र ? तर मूल रुपमा अंग्रेजी लगायतका अन्य भाषाहरुमा लेखिएका हुँदा यस्ता कृति हाम्रो देशमा हत्तपत्त पाइँदैनन् । यसको लागि हिन्दी अनुवाद पढ्न पाउनु पनि ठूलै उपलब्धि हो झैं लाग्छ ।

विश्व साहित्यको अध्ययनले विदेशी संस्कृति, इतिहास, आख्यान, साहित्य, विचार, वैज्ञानिक तथा प्राविधिक ज्ञानबाट परिचित हुन सकिन्छ । मानव मनका समग्र संवेदनाहरु परस्पर संप्रेषित हुनुको साथै विश्व साहित्यसँग संवाद स्थापित गर्न अनुवाद नै एक सशक्त माध्यम हो । रवीन्द्रनाथ टैगोर, खलिल जिब्रान, सआदत हसन मन्टो, प्रेमचन्द, म्याक्सिम गोर्की, टल्सटय, चेखोव, वर्डस्वर्थ, शेली, इब्सेन आदि थुप्रै नामहरु छन् जसले विश्व साहित्यलाई आफ्नो लेखनबाट बलियो बनाएका छन् ।

रुसी साहित्यकारहरु पुस्किन, चेखोव, गोर्की, तुर्गनेभ, दोस्तोवस्की र बेलायतका महान नाटककार शेक्सपियर, फ्रेन्च साहित्यकार भिक्टर ह्यूगो, चीनियाँ साहित्यकार लु शुन लगायतका अरु युरोपेली, अमेरिकी साहित्यकारहरुको उपन्यास, नाटक र कथाहरुको हिन्दी अनुवाद पनि पठनीय छन् । ती कृतिहरु पढ्दा अन्तरराष्ट्रिय विचार, अभिव्यक्ति, सौन्दर्य र केही हदसम्म साहित्यिक मूल्यहरुसँगसमेत परिचित हुन पाइन्छ ।
गुगल सर्चबाट प्राप्त सआदत हसन मन्टोको कथा संग्रहका कथाहरु फ़ेरि चाख मानेर पढें ।
सआदत हसन मन्टो उर्दूका बहुचर्चित कथाकार हुन् । उनले लेखेका ‘टोबा टेकसिंह’, ‘उपर, नीचे और दरमियां’, ‘ठण्डा गोस्त’ र ‘बू’ जस्ता कथाहरु बिर्सनै नसकिने कथा हुन् ।

एन्टोन चेखोव र सआदत हसन मन्टो मात्र यस्ता साहित्यकारहरु हुन् जसले कुनै उपन्यास नलेखे पनि केबल कथाहरुको माध्यमबाट विश्व साहित्यमा आफ्नो धाक जमाए ।
मन्जिल, दास्तान, बेखबरीका फायदा, करामात, खबरदार, हलाल और झटका, घाटेका सौदा, खोल दो, ठण्डा गोस्त, बू, टोबा टेक सिंह आदि कथाहरु मजेदार छन् । पाठकले कथाको शव्द शब्दलाई आत्मसात गर्नु एक नौलो अनुभव हो । समाजका नाङ्गा सत्यहरुलाई उनका कथाले उजागर गर्छन् । उनको अभिव्यक्ति मनको द्वारबाट प्रवेश गर्छ र सिधै मष्तिष्कमा झंकार दिन्छ ।

अश्लीलताको आरोप लागेर पाकिस्तानमा मुद्दा समेत चलेको मन्टोको एउटा कथा पढेपछि श्लील र अश्लीललाई तौलन मन लाग्छ । आफ्नो कथामा मन्टोले परपुरूष र परस्त्री बीचको यौन प्रसङ्गको उल्लेख गरी लुकेको समाजको उत्खनन गरेका छन् ।
उनले समाज सुधारको कामनाको गर्दै मानव विद्रूपताको चीरहरण गर्छन् ।
उनले कथाको माध्यमबाट मानव मनलाई झक्झक्याउने प्रयास गर्छन् । उनका कथामा प्रसस्तै मानव संवेदना पाइन्छ । उनले मानवको मनोविज्ञानलाई मजाले बुझेका छन् । खरो स्पष्टवादिता देखिन्छ उनका कथामा । सामाजिक विसंगतिप्रति तीखो प्रहार गर्छन् मन्टो ।

उक्त संग्रहमा भएको “करामत” नामको उनको एउटा लघुकथा यस्तो छः
चोरी तथा लुटपीटका सामानहरु बरामद गर्न भनी पुलिसले छापा मार्न सुरु गर्‍यो । पक्राउ पर्ने डरले मानिसहरूले आफूले चोरेका र लुटेका माल सामान रातको अँध्यारोमा लुकाउन र फाल्न थाले ।
एउटा मानिससँग आफूले लुटेका दुई बोरा चीनी थियो । उसले चीनीको एउटा बोरा जसोतसो रातिको अँध्यारोमा घर नजिकैको इनारमा फालेर आयो । तर अर्को बोरा इनारमा खसाल्न लाग्दा उ बोरासँगै इनारमा खस्यो ।
हारगुहार सुनेर मानिसहरू जम्मा भए । इनारमा डोरी खसालेर केटाहरु इनारमा पसी डुबेको मानिसलाई बाहिर निकालियो । तर केही घण्टामा त्यो मानिस मर्‍यो ।
भोलिपल्ट बिहान जब मानिसहरुले आआफ्नो उपयोगको लागि त्यस इनारबाट पानी झिके, पानी एकदम मीठो थियो ।
त्यही साँझ, इनारमा डुबेर मरेको त्यो मानिसको समाधिमा दीपावली गरेको देखियो ।

वत्सराज कोइराला / नवलपुर, नेपाल