रंगेली नगरपालिका–३, रञ्जनी मोरङका स्थायी बासिन्दा कवि रमेशचन्द्र अधिकारी ग्रामीण विकास विषयमा स्नातकोत्तर गरेर कविता संग्रहको तयारीमा हुनुहुन्छ । उहाँ वाणी नवप्रतिभा पुरस्कार–२०६४, नमस्ते साहित्य सम्मान–२०७३ लगायत पुरस्कारबाट सम्मानित हुनुभएको छ । उहाँ आरोहण गुरुकुल विराटनगर र मोतीराम राष्ट्रिय साहित्य प्रतिष्ठान लगायत संस्थामा आबद्ध हुनुहुन्छ ।

 

बर्षातमा रुझेपछि बतासमा
बादलले बोकी ल्याएका गीतहरु पोखिन्छन् ।

सरिदिन्छन्
अल्झिएर अलि वरसम्म
हतारोमा खुट्टाबाट छुट्नै नमानेको चप्पल जस्तै
पानीका अवयबहरु ।

बिच बाटोमै अल्मल्लिएका बादलहरु
बलशाली हुरीको वेगसंगै ठोक्किएर
रुमानी धुन निकाल्दै
बज्रिरहन्छन् मान्छेहरुका मानसपटलमा ,
झरी थामिएपछि पनि ।

एकतमास घचेटीरहन्छन्
सुदुर गन्तव्यतिर ,
बादलका फोक्टाहरुलाई ।
आमाको साडीको फेरलाई
नानीहरूको ढिपीले घचेटीरहे जस्तै गरि ।

यताउता दगुरिरहेका बादलहरु
एक अर्कासंग जुधेपछि
कोही चिच्याएर रुन्छन् ,
कोही आमा/बा पुकार्छन् र रुन्छन् ,
कोही सुक्क सुक्क सुक्सुकाउँछन् ,
त कोही खस्नै नसकेर आखाँबाट
टिल्पिलाइरहन्छन् आँसु ।

ओभाना रहदैनन् बर्षातमा सबै
झ्याल बाहिर पर्नेहरु ।

बर्षातमा रुझेका बतासका पत्रहरु
असामञ्जस्यताबाट गुज्रेका हुन्छन् ।


रमेशचन्द्र अधिकारी , मोरङ