मकवानपुरे साहित्य क्षेत्रमा चर्चित नाम हो अप्सरा तिम्सिना ।
२०३० साल कार्तिक २८ गते जन्मनु भएको तिमल्सिना २०७६ श्रावण १२ गते दिवंगत हुनु भएको हो भने उहाँको अभ्यन्तर कथा सङ्ग्रह र किनाराका आवाजहरू गरी २ पुस्तकहरू प्रकाशन छन् ।
हेटौँडा उपमहानगरपालिका बसामाडी, लेवटस्थित बालउज्ज्वल मा.वि. मा शिक्षक पेशामा कार्यरत रहँदा ४६ वर्षको अल्पायुमैँ निधन हुनु भएकी उनै अप्सरा (धनकुमारी) तिम्सिनाले विद्यालयको शैक्षिक तथा जिल्लामैँ साहित्यिक क्षेत्रमा पुर्‍याउनु भएको योगदानलाई सम्झँदै विद्यालय प्राङ्गणमा प्रतिमा निर्माण गरिने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष टेकनाथ शिवाकोटीले जानकारी दिनुभयो ।
साहित्य संगम मकवानपुरको पूर्व उपाध्यक्ष र आँचल साहित्य कला पुञ्ज मकवानपुरकी अध्यक्ष समेत रहनु भएकी उहाँको सम्झनामा हरेक वर्ष संगमले ‘अप्सरा तिमल्सिना स्मृति सन्ध्या’ मार्फत् श्रद्धाञ्जली अर्पण तथा रचना वाचनका कार्यक्रम गर्ने गरेको छ ।
उहाँका सक्रिय जीवनका रचना वाचनहरू एन एस टेलिभिजनको युट्युब च्यानलमार्फत् हेर्न सकिनेछ भने एनएस टेलिभिजन र आँचलले करीब एक घण्टाको वृत्तचित्र ‘सम्झनामा अप्सरा’ निर्माण गरेको छ । जसमा वृत्तचित्रमा प्राज्ञ तथा कथाकार माया ठकुरी, वरीष्ठ साहित्यकार तुल्सी थापा, नारायण ढकाल, नयनराज पाण्डे, सरिता तिवारी, साहित्यक संगमका तत्कालीन अध्यक्ष निमेष निखिल, आँचलकी संस्थापक अध्यक्ष मुना अर्याल तथा उनका श्रीमान प्रकाश लम्साल लगायतले आफ्नो धारणा राख्नु भएको छ ।
नव साहित्य डट कम स्वर्गीय अप्सरा तिम्सिना र यस क्षेत्रमा उहाँले पुर्‍याएको साहित्यिक योगदानलाई सम्झिरहनेछ ।