भाद्र २१, मकवानपुर
भाषा, साहित्य, कला, संस्कृतिको संरक्षणका लागि स्थापित लालबन्धी नगर वाङ्मय परिषद्ले २ पुरस्कारका लागि कृति र कृतिकारको नाम सार्वजनिक गरेको छ ।
राष्ट्रियस्तरमा ख्याति कमाएका कृतिका साथै स्थानीय प्रतिभाहरूको सम्मान तथा प्रोत्साहनका लागि सो पुरस्कार दिइनेछ ।
सोमध्ये रु. ५० हजार राशीको लालबन्दी नगर वाङ्मय परिषद् तथा साहित्य पुरस्कार २०८० (राष्ट्रिय) बाट बाआमा कृतिका सर्जक रामलाल जोशीले प्राप्त गर्नुहुनेछ । वर्ष २०७९ का कृतिहरूमध्ये उत्कृष्ट कृतिका रूपमा जोशीको बाआमा छनौट भएको हो । यसअघि भाद्र ९ गते उत्कृष्ट १० पुस्तकहरू सार्वजनिक गरिएको थियो । जसमध्ये  जोशोको ‘बाआमा’ सँगै रन्जना निरौलाको ‘अनुभूतिको अवतरण’, सिम्रन क्षेत्रीको ‘झुमर’, डा. दामोदर पुडासैनी ‘किशोर’ को ‘डोल्पो ओ डोल्पो’, रमेश क्षितिजको ‘पर्वत पर्वतमा बटुवा घाम’, सन्तोष श्रेष्ठको ‘फरैना’, प्रोल्लास सिन्धुलीयको ‘भग्न भैरव’, युवराज नयाँघरेको ‘याकजी’, डा. विदुर चालिसेको ‘लघु कथालय’, अशोक थापाको ‘सन्तापको धुन’ रहेका थिए ।
यस्तै रु. १० हजार राशीको लालबन्दी नगर वाङ्मय परिषद् स्थानीय प्रतिभा पुरस्कार २०८० बाट देवराज पौडेल (लालबन्दी, सर्लाही) छनौट हुनु भएको छ । पौडेल नेपाली भाषा तथा साहित्य सेवक एवम् अध्यापकका रूपमा कार्यरत हुनुहुन्छ ।
दुवै पुरस्कार २०८० कार्तिक १८ गते शनिबार लालबन्दी नगरपालिकामा वितरण हुने आयोजकले जानकारी दिएको छ ।
वि.सं. २०७७ मा स्थापित यस साहित्यिक संस्थाले विभिन्न साहित्यिक गोष्ठी, वाचन, विमर्श आदि गर्दै आएको छ अध्यक्ष अच्युत अधिकारीले बताउनु भएको छ ।