भाद्र २२ गते, मकवानपुर ।
साहित्य सङ्गम मकवानपुरको १६ औँ अधिवेशन आगामी भाद्र २३ गते शनिबार हेटौँडा क्याम्पस, हेटौँडामा हुने भएको छ ।
नयाँ नेतृत्वका लागि सो अधिवेशन हुन लागेको सङ्गमकी अध्यक्ष अनिता न्यौपानेले बताउनुभएको छ  ।
यो अधिवेशनबाट नयाँ कार्यसमितिसमेत चयन हुने भएकाले कसको नेतृत्वमा सङ्गम अगाडि बढ्छ भनेर चासोका साथ हेरिएको छ ।
अधिवेशनको मिति नजिकिँदै जाँदा सङ्गमको वर्तमान अध्यक्ष अनिता न्यौपाने, सचिव डिबी बर्तौला र प्रलेस मकवानपुरका पूर्व अध्यक्ष पुरुषोत्तम आचार्यको अध्यक्षमा दाबी रहेको छ । नवसाहित्य डटकमको अन्तर्वार्ताका क्रममा उहाँहरु तीनैजनाले अध्यक्षमा दाबी रहेको पुष्टि गर्नु भएको छ ।
यस्तै, सङ्गमकी अध्यक्षसमेत रहनु भएकी अध्यक्षका आकाङ्‍क्षी अनिता न्यौपानेले संस्थाको इतिहासमा नै पहिलो पटक आफू नेतृत्वमा आएपछि दुई पटक साहित्यिक महोत्सव गरेको बताउँदै अबको पटक नेतृत्वमा जाँदा हेटौँडा प्रदेशको राजधानी भएको अनुभूत हुनेगरी काम गर्ने बताउनु भयो । साहित्य सङ्गम मकवानपुरको नाममा सुविधा सम्पन्न नाटकघरसहितको भवन निर्माण गर्ने र आफूसँग केही ठूला योजनासमेत भएकाले ती काम सम्पन्न गर्न पनि अध्यक्षमा दोहोरिने चाहना राखेको बताउनु भयो ।
अध्यक्षका अर्का आकाङ्‍क्षी पुरुषोत्तम आचार्यले लामो समयदेखि साहित्य सिर्जनामा रही आएको नेतृत्व, समन्वयका हिसाबले आफू यस पदका लागि योग्य रहेको हुँदा अग्रजहरूका सुझावलाई मनन गर्दै नवपुस्तालाई पनि सँगसँगै लिएर अघि बढ्ने बताउनुभयो ।
अध्यक्षका अर्का आकाङ्‍क्षी डिबी बर्तौलाले आर्थिक इमान्दारीताका साथ अक्षयकोष निर्माण गर्ने, दिगो आर्थिक विकास गर्ने, सांस्कृतिक तथा साहित्यिक अभिलेखीकरण गर्ने, साहित्यिक उन्नयन र विकास गर्ने, अनुजलाई डोर्‍याउने, समकक्षीलाई साथमा लिएर हिँड्ने र अग्रजको सल्लाहमा संस्थाको उन्नतिमा निरन्तर लाग्ने र साहित्यिक संस्थाहरुसँग सहकार्य गर्दै गाउँ केन्द्रित कार्यक्रम पनि गर्ने योजना रहेको बताउनु भयो ।
यो समाचार तयार पार्ने समयसम्म प्राप्त जानकारीअनुसार वर्तमान समितिमा आवद्धहरूमध्ये सङ्‍गमको उपाध्यक्षमा सानु खनाल, सचिवमा मनोज पोखरेल, कोषाध्यक्षमा मेनु तिमल्सिना, सहसचिवमा सुनिल गौतमलगायतले आकाङ्‍क्षा राख्नु भएको छ ।
सर्वसम्मत नयाँ कार्यसमिति चयन नभए एक पक्ष विगतमा झैँ अलग्गिने समस्या दोहोरिन सक्ने भएकाले सर्वसहमतिको लागि पहल गरिरहेको सङ्गमका निवर्तमान अध्यक्ष निमेष निखिलले बताउनु भयो । सबै पक्षलाई समेटेर नयाँ कार्यसमिति बनाउनुपर्नेमा जोड रहने उहाँको भनाइ छ ।
साहित्य संगममा सङ्गमको हरेक २/२ बर्षमा अधिवेशन हुदै आएको छ ।

अधिवेशनको पुर्व सन्ध्यामा अध्यक्षपदको दाबेदारहरुसंग गरिएको अन्तर्वार्ता