मकवानपुरका महिला साहित्यकारहरूको संस्था आँचल साहित्य कला पुञ्ज मकवानपुरले हेटौँडा उपमहानगरपालिका वडा नम्बर २, चौकीटोलमा रहेको ओम वृद्धाश्रममा विभिन्न खाद्यान्न सामाग्री सहयोग गरेको छ ।
आउँदै गरेको हिन्दु महिलाहरूको महान पर्व हरितालिका तीजको अवसर पारेर आँचलले शुक्रबार वृद्धाश्रमलाई ७ हजार रुपैयाँ बराबरको खाद्यान्न सहयोग गरेको हो ।
आँचल मकवानपुरकी अध्यक्ष भावना सापकोटाले आश्रममा रहेका वृद्धवृद्धालाई बिहानको खाजा दूध, पाउरोटीका साथै दाल, चामल, नुन, तेल, तरकारी, गेडागुडी लगायत विभिन्न खाद्यान्नका साथै सरसफाइका लागि आवश्यक पर्ने साबुन, सर्फ, मन्जन जस्ता सामान सहयोग गरेको जानकारी दिनुभयो । कार्यक्रममा आँचल साहित्य कला पुञ्ज मकवानपुरका कार्यसमिति सदस्य एवम् आँचलका आजीवन सदस्यहरू, ओम वृद्धाश्रमको सञ्चालकहरूको उपस्थिति रहेको थियो ।
मकवानपुरका सक्रिय साहित्यिक संस्थामध्येकै आँचलले हरेक वर्ष फरक फरक किसिमको सिर्जनात्मक तथा सचेतनामूलक तीज कार्यक्रम गर्दै आइरहेको छ ।
