भाद्र २२, मकवानपुर ।
किताबघर हेटौँडाले Gurkha’s Daughter (२०१२) र Land Where I Flee (२०१३) का लेखक प्रज्ज्वल पराजुलीलाई हेटौँडामा साहित्य सर्जकहरूका बीचमा बहसमा सहभागी गराएको छ ।
हाल अमेरिका निवासी लेखक सिक्किममा जन्मिएका हुन् भने उनको दोस्रो कृति Land Where I Flee को नेपाली अनुवाद ‘चित्रलेखाको चौरासी’ (२०२३) लाई नेपालय प्रकाशनले विभु लुइँटेलद्वारा नेपालीमा अनुवाद गराई नेपालभर सार्वजनिक गरेको हो ।
हेटौँडा क्याम्पसमा आयोजित कार्यक्रममा वक्ता उप-प्राध्यापक मनोज पोखरेलले पराजुलीको व्यक्तिगत जीवन र यस पुस्तकभित्रका विषयवस्तुबारे विचार राख्नु भएको थियो । उहाँले समलिङ्गी सम्बन्ध, एउटा भाइले दिदीप्रति प्रयोग गरेका शब्द आफूलाई व्यक्तिगतरूपमा अपाच्य लागे पनि हजुरआमाको चौरासीको विषय र भाषाप्रतिको माया आदिबारे प्रशंसा गर्नुभयो ।
यस्तै शिक्षा विकास शिशु सदनकी प्रिन्सीपल ग्रेस श्रेष्ठले पनि पराजुलीको सो कृतिले आफ्नो माइती सिक्किम दार्जिलिङमा रहँदाका यादहरू सम्झना दिलाएकोले आफ्नै कथाजत्तिकै लागेको बताउनुभयो ।
पराजुलीले बेलायती र अमेरिकीमूलकै अंग्रेजीभाषी पाठकले आफ्नो कृति Land Where I Flee लाई अन्य कुनै भाषाबाट अनुवाद गरिएको कृति जस्तै भनेको सम्झँदै अहिले सोही पुस्तकको नेपाली रुपान्तर ल्याएको बताउनु भयो । साथै उहाँले ‘चित्रलेखाको चौरासी’ पुस्तक आफ्नै घर आएजस्तो अनुभव भएको बताउँदै हेटौँडा आफूले सोचेभन्दा फरक रहेको र यहाँको दृश्यावलोकनले आफूलाई छोएको भन्दै यहाँको डाँडाकाँडा, सफा सहरका कारण आफूले सोचेको फ्याक्ट्रीको सहरभन्दा भिन्न देखिएको समेत जानकारी दिनुभयो । उच्च मध्यमवर्गीय परिवारको ज्येष्ठ नागरिक हजुरआमाको कथालाई लिएर लेखिएको कथा बारे परिचर्चा कार्यक्रमका लागि देशका विभिन्न स्थानमा भ्रमण गरिरहेको नेपालय प्रकाशन समूहसँगै पराजुली शुक्रबार नै नवलपुरको गैँडाकोटमा पुग्नु भएको छ भने शनिबार पोखरामा सोही प्रकृतिको कार्यक्रममा व्यस्त हुनुहुनेछ ।
कार्यक्रमलाई हेटौँडा क्याम्पस नेपाली विषय विभागको आयोजनामा किताबघरले संयोजन गरेको हो भने आजको कार्यक्रमलाई छवि अनित्यले सहजीकरण गर्नुभएको थियो ।
