वासुदेव लुइँटेल पुरस्कार २०७९ हास्यव्यङ्ग्य लेखक चट्याङमास्टर (कृष्णमुरारी गौतम) ले प्राप्त गर्नुभएको छ । सिस्नुपानी नेपालका संस्थापक अध्यक्ष समेत रहनु भएका उहाँले १ लाख ११ हजार १११ रुपैयाँ नगद पुरस्कार राशीका साथमा सम्मानपत्र र प्रतीक चिह्न प्राप्त गर्नुभएको हो ।
यस्तै, चूडामणि रेग्मी र छन्दकवि रमेश खकुरेललाई वासुदेव लुइँटेल सम्मान प्रदान गरिएको छ । साथमा उहाँहरू जनही नगद १० हजार, दोसल्ला र सम्मानपत्रले सम्मानित हुनुभ‌एको छ ।
वासुदेव शर्माले भैरव अर्यालकै हास्यव्यङ्ग्य पुस्तक प्रकाशनका लागि कौवा प्रकाशन गर्नु भएको थियो । हाल सम्मानका अवसरमा गुठीले त्यही कौवाको प्रतीक चिन्ह प्रदान गर्ने गरेको छ ।
शनिबार वासुदेव शर्माको तस्वीरलाई सभाध्यक्ष स्थापित गराएर सुरू भएको कार्यक्रममा भैरवबहादुर थापाको प्रमुख आतिथ्यता रहेको थियो । बालसाहित्यकार शान्तदास मानन्धरको विशिष्ट आतिथ्यता, वासुदेव–विद्यादेव लुइँटेल गुठीका अध्यक्ष प्रा.डा. सुषमा आचार्य, पत्रकार रोचक घिमिरे, यादव खरेल लगायतको उपस्थितिमा आयोजित पुरस्कार वितरण समारोह नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानको हलमा सञ्चालन गरिएको हो । सो कार्यक्रम सिस्नुपानी नेपालका सचिव सरोज घिमिरेले सञ्चालन गर्नु भएको हो ।