भाद्र २४, मकवानपुर ।
चितवन साहित्य परिषद (चिसाप) द्वारा स्थापित चिसाप राजकृष्ण मायादेवी साहित्य पुरस्कार २०७९ बाट रामलाल जोशीको कृति ‘बाआमा’ र चिसाप माधव खनाल साहित्य पुरस्कार २०७९ बाट गोपी सापकोटाको ‘चिसो बाफ’ ले पुरस्कृत हुने भएको छ ।
दुवै पुरस्कारको राशी ३५ हजार ४५ रूपैयाँ रहेको छ भने सो पुरस्कार चिसापले भाद्र ३० गते शनिबार मोती जयन्तीको विशेष अवसरमा नारायणगढस्थित आफ्नै सभाहलमा समर्पण गरिने जनाएको छ ।
सम्मानका लागि छनौट भएका लेखकहरू जोशी धनगढी निवासी हुनुहुन्छ भने सापकोटा गैंडाकोट, नवलपुर/हाल अमेरिका निवासी हुनुहुन्छ ।
परिषद्का पूर्वअध्यक्ष साहित्यकार स्व. राजकृष्ण कँडेलको स्मृतिमा उहाँका परिवारजनद्वारा २०७४ सालमा राजकृष्ण कँडेल साहित्य पुरस्कारबाट स्थापित भई २०७७ मा चिसाप राजकृष्ण मायादेवी साहित्य पुरस्कारमा परिणत भएको हो । यसअघि सो पुरस्कार नेत्र एटमको कविता संग्रह ‘प्रिय मौनता’, डा. नवराज लम्सालको कविता संग्रह अग्‍नि लगायतले पाइसकेका छन् ।
नेपाली भाषा, साहित्य, कला, संस्कृतिको संरक्षणको उद्देश्यले २०४५ सालमा स्थापित चिसापका अध्यक्ष केदारनाथ खनाल रहनु भएको छ ।