साँझ झमक्कै पर्न लागेको थियो।
हतार हतार दुई दाजुभाइको कदम डेरा तर्फ लम्किँदै थियो ।
लोडसेडिङको तालिकाले गर्दा बिजुली आउने बित्तिकै खाना पकाउने देखि लिएर भोलि बिहानसम्मको लागि सबै कुराको तयारी गर्नुपर्ने एक किसिमको हतारो र तनाव थियो दाजुभाइलाई ।
अचानक भाइको कदम रोकियो ।
“कस्तो लोदर लगायो कालो बिरालोले बाटो काटेर ।”
हिँड्दा हिँड्दै भाइ झस्कियो ।
अरे भाइ ! तँ, कुन जमानामा छस् यो एक्काइसौँ शताब्दीमा आएर नि, यस्तो अन्धविश्वासमा अड्किने हो ? पढेलेखेको मान्छे भएर यस्तो कुराको विश्वास गर्न सुहाउँदैन हिँड् छिटो रुममा बत्ती आउने बेला हुन लागी सक्यो ।
यस्ता अन्धविश्वासले गर्दा नै नेपाल र नेपाली समाजलाई वर्षौं पछाडि धकेल्ने काम गर्छ । यस्तो अन्धविश्वासमा शिक्षित वर्गहरू लाग्न नहुने साथै यसलाई त बिस्तारै निर्मूल गर्दै जानुपर्ने अर्ती उपदेश दिँदै केही बेरको हिडाईपछी, दाजुभाइ आफ्नो डेरामा पुग्छ,आफ्नो कोठामा बिजुली छ कि छैन भनेर, छिमेकीको कोठा तर्फ हेरेर निश्चित गर्छ र कोठामा छिरेपछी, भाईलाई “ओइ बत्ती बाल त” भनेर आफू छेउकै खाटमा बसेर दाईहुनुको फाइदा लिन्छ। भाइले हस भन्दै बत्ती बाल्छ, र दाईतिर हेर्छ, दाइले बत्ती तिर हेरेर तिनचार पटक ढोक्छ।
