आदरणीय ठुल्दाजु,
मलाई यो देशबारे
भन्नू त धेर छैन,
तपाईंले
नसुन्नुभएको विरगाथा
कथ्नु त केहि छैन ।
तथापि,
हामीले बिर्सिएर
एकीकरण धुन,
विभाजनको
गित गाउँदै गर्दा,
भुँईसँग गरेर सम्बन्धहरूका बिच्छेद,
गाँसेर हावासँग मितेरी,
केही छैन यहाँ,
कोही छैन यसको भनेर,
दौँतरी खोज्न
परदेश धाउँदैगर्दा,
मुरुस्थलमा
पसिनाको खेति लाउँदैगर्दा,
ठुल्दाजु,
गर्भमै तुहिँदा
भाउज्युका रहरको भ्रुण,
बाबैले लाएर पुर्पुरोमा हात,
आमैले समाएर बलेसि खाँबो,
तपाईं फर्किने बाटोमा
एकटकले नजर दौडाउदैँगर्दा,
म,
परिहास गरिएको
इतिहास सम्झिरहेछु,
म,
हिजोले नचिताएको
आजको खबर सुनाईरहेछु ।

“बिसे नगर्चीको युक्ति उक्ति –
चाणक्य समान,
१२ हजार गोर्खाली-
एक धुरी एक दाम,
बडामहाराजको फरमान ।
जब भरेथ्यो
‘एउटै माला नेपाली’ को
लक्ष्य-आकांक्षाले उडान,
तब मुलुक-
महामहिमका साना दुषले,
आर्ज्याको थिएन।
त्यो थियो त केवल,
‘एकताबद्ध नेपाल-
सुनिश्चित भविष्यको आव्हान ।’
रसाइएकोथियो,
कुँद्न बाँकी छ।
हाम्रो कर्तव्य अपुर्ण
यसै थाती छ।”

ठुल्दाजु!
यो देश,
लडाईंबाट भागेको- शेष होइन,
मातृभूमिको रक्षार्थ
काँथर हुनुभन्दा मर्नु जाती,
वीर नेपाली
हुर्किएको परिवेश हो ।
हाम्रो झन्डाका साक्षी
चन्द्र-सुर्यले पनि भन्दाहुन्,
तिनले देखेको सर्वोत्कृष्ट सौन्दर्य-
हाम्रै भाषा र भेष हो ।
खसान देखि लिम्बुवान अनि,
अनेकन विविधताको
उद्यान भो’
हिमाल पहाड मधेश यो-
यो देश,
संसार-
लोभ्याउने सुनाखरी सहलेश हो ।
पहिलो प्रभातिमा,
सगरमाथा चुमी फैलिने
आदि कान्ति किरणको
शान्तिप्रिया संदेश हो ।

यो देशमा,
केचनाकवल झर्दा
कंचनजंघाले डाकेजस्तो,
हामीलाइ त प्रकृतिले सबैभन्दा
धेरै माया गरि राखेजस्तो,
लालीगुराँसले हाम्रै खुसीको
भाकल भाकेजस्तो,
लौ!
डाँफेले पनि नेपालीकै लागि
नौरंगी भै नाचेजस्तो,
सृष्टिको अन्मोल सिर्जना
ट्वाक्क, क्या स्वादसँग चाखेजस्तो ।
हो, ठुल्दाजु !
यो देशमा,
समुन्द्रको आँधि भनि
डराउनुपर्दैन ।
बालुवाको समाधिमा
हराउनुपर्दैन ।
हाम्रो राष्ट्रध्वजले कसैको अधिनस्थ
फहराउनुपर्दैन।
सदैव अटल सार्वभौम छ,
कहिल्यै स्वतन्त्रताको दिवस- मनाउनुपर्दैन ।

मलाई विश्वास छ, दाजै,
देशप्रेम तपाईंको छातिमा
पनि नगढेको होइन ।
हुन त मैले,
तपाईंको छोरो बिरामि पर्दा
अस्पतालले उठाएको
मिटर नपढेको होइन ।
विलक्षण छोरी- जान नपाउँदा,
राम्रो विद्यालय,
उनको सिर्जना र उर्जा
यतिकै खेरगएको नदेखेको होइन ।
परा’र साल पहिरोमा
घरसँगै तपाईंको सपना त्यतिकै लडेको होइन ।
हिम्मतले उभिनखोज्दा-
उसो त,
बाजेले चरण परेकैहुन्-
श्री ३ महाराजको,
बा’ले पनि शाही सरकारको हजूरमा
बिन्ति भरेकै हो,
सरकारका ठेगानामा पत्र-
तपाईंले समेत पठाएकै हो-
भनेर “गरिखाने आधार देऊ,
परिआउँदा स्वामित्व लिईदेऊ,
मरिजाँदा घाटलाने
साखार जुटाइदेऊ” ।
विमुख भएछि राज्य,
तपाईंको साहस ढल्यो, नबुझेको होइन।

परन्तु दाजै!
स्वाभिमानले सिँचेको
खेतमा फलेको आँटो,
परिवारलाई एकसाथ बाँध्ने
प्रेमिल गाँठो,
बालखा छँदा दैडिएको
त्यहि परिचित बाटो,
के अरबका सुन
या खर्बका सहरमा भेटिन्छन् र ?

हिजोआज नि, ठुल्दाजु,
हाम्रा-
डम्फूको तालमा फक्रने
म्होन्दोमाया
ओइलाएकिछिन् ।
लुङ्गास्योकी खिन्न मन देखेर
च्याब्रुङ्ले छोडेको छ- घन्किन ।
झ्याउरेमा
सोल्टिनीको विरह गित सुनेर
मादलले भुलेको छ- रन्किन ।
गोडाहरू नभएपछि हुड्कामा उफ्रिने,
लङ्गडो भएकोछ- हुड्केली ।
अब त निभ्नै आँटेकोछ,
झिँझियाले घैँटो भित्र बालेकी- दियो पनि ।

दाजै,
आऊ, बरू रित्तै आऊ ।
मलाई
“बाबू! तँ विदेश नजा। यहीँ कर्म गर् ।”
भन्ने ढडास लिएर आऊ ।
तर,
आमाको चित्त काटिने,
भाउज्युको सिँउदो फाटिने,
रातो बाकस भरिएर नआऊ ।

ठुल्दाजु,
विछोडिएको प्रेमको
हुनेछ मिलन,
धूमिल आशामा
जाग्नेछ उत्साह,
उजाडिएको वृक्षरूपि यो देशमा,
तपाईं घरफिर्ती सँगै
पलाउनेछ बसन्त।

ठुल्दाजु!
कम्जोरी नसम्झौँ न
हाम्रा रितहरू लाइ,
धनमा नमोलौँ न
मनमित प्रितहरू लाइ,
सानो नठानौँ न
हाम्रा कालजयी जितहरू लाई ।
है, ठुल्दाजु, हुन्छ नि है?

अदित्य राम (रिजन), गोरखा