भाद्र २८, मकवानपुर ।
साहित्य संगम मकवानपुरको नवनिर्वाचित कार्यसमितिको बिहिबार बसेको बैठकबाट ५ सल्लाहकारहरू मनोनयन हुनु भएको छ ।
जसमा साहित्य सर्जकहरू तुल्सी घिमिरे, आरसी रिजाल, निमेष निखिल, श्यामकुमार बानियाँ र सुवास खनाल हुनुहुन्छ ।
यस्तै सो बैठकले गजल मञ्च मकवानपुरका उपाध्यक्ष सञ्जित श्रेष्ठ र सिस्नुपानी नेपाल मकवानपुरका सहसचिव संप्रस पौडेललाई सदस्यमा मनोनयन गरेको र आगामी दिनमा सबैको साथ, सहयोग, सल्लाह र सुझावका लागि निरन्तरता मिल्ने अपेक्षा लिएको अध्यक्ष डीबी बर्तौलाले नवसाहित्य अनलाइनलाई बताउनु भयो ।
हेटौँडा उपमहानगरपालिकाको आर्थिक सहयोग तथा साहित्य सङ्गमको व्यवस्थापनमा जिल्लाकै सबैभन्दा ठूलो पुष्पलाल स्मृति पुस्तकालयको प्रमुखमा सचिव मनोज पोखरेललाई जिम्मेवारी प्रदान गरिएको छ ।
आगामी असोज महिनाको दोस्रो शनिबारको दिन ३३५ औं नियमित साहित्य सन्ध्यामा रचना वाचन तथा वि.सं. २०७९ मा मकवानपुरबाट प्रकाशन/विमोचन भएका कृतिका कृतिकारलाई ‘कृति सम्मान’ समर्पण गर्ने निर्णय समेत सोही बैठकले गरेको छ ।
सङ्गमको साहित्यिक गतिविधि र नियमित कार्यक्रम सञ्चालनका लागि सहजता प्रदान गर्न र अक्षयकोषविना समर्पण गराउँदै आइएको सम्मान तथा पुरस्कारको स्थायित्वका लागि दीगो अक्षयकोष निर्माण गर्ने सम्बन्धमा सम्मान तथा पुरस्कार संस्थापकका साथै सम्पूर्ण साहित्यकार, साहित्यसेवी, समाजसेवी तथा इच्छुक सम्पूर्णमा स्वेच्छिक रुपमा सहयोगका लागि अनुरोध गर्ने निर्णय भएको छ ।
साहित्य संगम मकवानपुरको नवनिर्वाचित पदाधिकारीहरूका लागि गत शनिबार निर्वाचन भएको हो ।
