भरतपुर । बाह्रघरेको ‘द ग्रिनपार्क रेस्टुरेन्ट’मा गजलकार परिविक्रमले तबलाका तालमा यी शेर सुनाउँदै गर्दा भर्खर दर्के पानी परेर आकाश उज्यालिएको थियो । बाहिर आँगनमा गजल सुनाउने तयारी गर रहेका आयोजकहरू पानी ह्वार्रै वर्षेपछि आत्तिँदै हलभित्र कार्यक्रम गर्ने चाँजोपाँजो मिलाउन लागे ।
तर क्षणभर पानी दर्केर आकाश सफा बनेको देखेपछि फेरि बाहिरै कार्यक्रम गर्ने भए । पानीको छिटाले कतै तबला बिगार्छ कि भन्ने संशय राखे पनि गजल कार्यक्रम चलेसम्म पानी परेन । विष्णु तिवारी उषा, निर्दोष जीवन, अपेक्षा गिरी, प्रमिला सानु, सपना रैला अर्याल र परिविक्रमले लगालग गजल गाउँदै सुनाउँदै गए ।भरतपुर–१५, फूलबारीकी प्रमिला बिहीबार साँझ आफ्ना केही थान गजल लिएर मञ्ज उक्लिइन्।
आठ वर्षपछि आफ्ना सिर्जना सुनाउन मञ्च उक्लिएको बताउँदै उनले गजल सुनाइन् :
चञ्चले यी नयनका नानी खराब छन्
बेपरवाह बेफिक्री छु बानी खराब छन्
नियत जानेकै हो जहिले लडखडाउने
बोली लरबराउने पानी खराब छन्
गजल साँझमा गजल गाउँदै गायिका सपना रैला अर्याल,सपनाले बिगतका दिनमा आफ्नो सांगीतिक यात्रा गजल मञ्च चितवन बाटै सुरु गरेको बताउदै आफ्नो आगामी गजल कै एल्बमको तयारीमा पनि रहेको जानकारी दिइन्। उनको मिठो आवाजले जो सुकेको मन तान सफल बनेको छ आजको गजल साँझमा चितवनका गजलकार रामकृष्ण अनायासको गजल शब्द र राज सागरको संगीतमा आफ्नो सांगेतिक प्रस्तुति राखेकी थिइन्। उनको प्रस्तुति सबैभन्दा उत्कृष्ट रहेको थियो ।
आखिर खुशि हराएर हार मानिसक्दा
तिम्रो जितमा मलाई अबिरको के अर्थ ।
मुर्ति बिना सुनसान मन्दिरको के अर्थ
मुटु लग्यौ मेरो अव,शरिरको के अर्थ ।
परिविक्रमले हार्मोनियम र तबलासँग पहिलोपटक नजिक भएको भन्दै आफ्ना सिर्जना सुनाए। ‘म गजल कोर्छु तर गाउँदिनँ,’ उनले भने, ‘आज पहिलोपटक हार्मोनियम र तबलासँग नजिक हुने प्रयास गरेको छु। जस्तो लाग्छ प्रतिकृया दिनु होला। किनकि म गायक होइन। सामान्य गजल लेख्ने व्यक्ति हुँ।’
पछिल्लो समय गायनमा सक्रिय अपेक्षा गिरीले अञ्जु पन्तद्वारा स्वरवद्ध केही चर्चित गजल ट्रयाकमा सुनाइन्। अपेक्षासँगै निर्दोष जीवनले पनि आफ्ना रेकर्डेड गजल ट्र्याकमै सुनाए।
सबैले सांगीतिक धुनसँगै विभिन्न खालका गजल सुनाए। मायाप्रेम, सामाजिक बेथिति, सामाजिक यथार्थ आदि विषय समेटिएका गजल सुनाउँदै गर्दा दी ग्रीन पार्कको मैदान रङ्गीन बनेको थियो। आयोजक संस्था गजल मञ्च चितवनका अध्यक्ष लेखराम सापकोटाका अनुसार स्थानीयस्तरमा बलियो साहित्य सिर्जना गर्नेहरुका लागि यसपटकको मञ्च तयार पारिएको थियो।
सबै स्रष्टाहरुले आफ्ना र अरुकै गजलमा स्वरवद्ध गरेर सुनाए। यो कार्यक्रमबाट गजल लेख्नेहरुमा गाउन सक्ने क्षमता पनि छ भनेर प्रष्ट पार्न सफल भएको गजल मञ्च चितवनका अध्यक्ष सापकोटाले बताए। ‘यस्ता खालका कार्यक्रमकै कारण गजल मञ्च चितवनको गरिमा बढ्दै गएको छ,’ उनले भने। करिब ३५० जनाको हाराहारीमा गजल सुन्न गजलानुरागी ग्रीन पार्क पुगेका थिए।
चितवनको गजल सिर्जनालाई माथि उकास्न निकै ठूलो योगदान दिएको गजल मञ्च चितवनले कार्यक्रम गर्दैगर्दा स्रष्टा, सिर्जना र सम्भावनाको खोजी हुने गरेको अध्यक्ष सापकोटाले जानकारी दिए। महानगर प्रज्ञाप्रतिष्ठानसहित सम्पूर्ण किताब, आरम्भ कलेज, दी ग्रीन पार्क र कनेक्ट अस्ट्रेलियन एजुकेसन एण्ड भिजा सर्भिसको प्रायोजनमा कार्यक्रम आयोजना गरिएको हो।
कार्यक्रम गजल मञ्चकाे अध्यक्षता लेखराम सापकोटाले गरेका थिए भने कार्यक्रममा आउने सम्पूर्ण अतिथि ज्यूहरुलाई सस्थाका उपाध्यक्ष रामकृष्ण अनायास ले स्वागत मन्तब्य राख्दै कार्यक्रम सञ्चालन सचिव पारु खरेलले गरेकि थिईन ।
कार्यक्रममा गजल मञ्च चितवनका पूर्व अध्यक्षहरु किसान प्रेमी, धनराज गिरी, रमेश प्रभात, साहित्यकार एल.बी.क्षत्री, भरतपुर महानगर प्रज्ञा प्रतिष्ठानका सदस्य-सचिव लगायतका जिल्लाका उल्लेख्य साहित्य अनुरागीहरुको उपस्थिति रहेको थियो।
२०६३ सालमा स्थापना भएको गजल मञ्च चितवनले त्यसयता विभिन्न खालका कार्यक्रम आयोजना गरेर पुराना स्रष्टाप्रति सम्मान र नयाँ स्रष्टालाई अवसर प्रदान गर्दै आएको छ। विशेषगरी, गजल मञ्चले श्रृङ्खलाबद्ध कार्यक्रम ‘गजलसँग…’ आयोजना गरेर संस्थाकै परिचय फराकिलो बनाउन सफल भएको थियो। उक्त कार्यक्रमले अहिले पनि निरन्तरता पाउँदै आएको छ।
