आश्विन ३, मकवानपुर ।
यस वर्षको भैरव पुरस्कार हास्यव्यङ्ग्यकार मुन पौडेललाई प्रदान गरिने भएको छ । सो पुरस्कारको राशी १ लाख ११ हजार १ सय ११ रुपैयाँ रहेको छ ।
यस्तै १ लाख ११ हजार १ सय ११ रुपैयाँ राशीको भैरव वाङ्मय पुरस्कार प्रा.डा. अभि सुवेदीलाई प्रदान गरिने भैरव पुरस्कार गुठीले जनाएको छ ।
यस्तै ५१ हजार १ सय ११ राशीको भैरव प्रतिभा पुरस्कार व्यङ्ग्यकार बद्रीप्रसाद दाहाल (भस्मासुर) लाई प्रदान गरिने भएको छ ।
साहित्यकार नरेन्द्रराज पौडेलको संयोजकत्वमा साहित्यकारद्वय बाजुराम पौडेल र वसन्त रिजाल सदस्य रहेको चयन समितिले चयन गरी तथा गुठीका अध्यक्ष वरीष्ठ साहित्यकार, सञ्चारकर्मी रोचक घिमिरेको अध्यक्षतामा बसेको बैठकले पुरस्कृत व्यक्तिहरूको नाम अनुमोदन गरेको हो ।
असोज १९ गते भैरव अर्याल स्मृति दिवसको दिन गोकर्णेश्वर-५ स्थित भैरव स्मृति भवनमा एक कार्यक्रम गरी घोषित पुरस्कार वितरण गरिने जानकारी गुठीले दिएको छ ।
वर्ष २०७९ को भैरव पुरस्कार वासुदेव-विद्यादेव लुइँटेल गुठीलाई र भैरव वाङ्मय पुरस्कार साहित्यकार विश्वम्भर चञ्चल तथा भैरव प्रतिभा पुरस्कार कलाकार रामचन्द्र अधिकारीलाई प्रदान गरिएको थियो ।
