सँस्कृतिविद् प्रा.डा. जगमान गुरूङ र लघुकथाकार विदुर चालिसे साथ प्रमुख संरक्षक मुक्तिगोविन्द वैद्य, प्रमुख सल्लाहकार देवराज खरेल र संरक्षक हयग्रीव आचार्य सम्मानित

आश्विन ६, मकवानपुर ।
मातृभूमि साहित्य समाज हेटौँडाले २५औँ स्थापना दिवस मनाउँदै महाकाव्यकार मुना अर्यालको महाकाव्य ‘महाकाश’ लोकार्पण गरेको छ ।
माननीय मन्त्री कुमारी मोक्तानको प्रमुख आतिथ्यता र मातृभूमिका अध्यक्ष माधवबहादुर पोखरेलको अध्यक्षता रहेको कार्यक्रममा सँस्कृतिविद् जगमान गुरूङको विशिष्ट आतिथ्यता रहेको थियो । सर्जक सञ्जाल मकवानपुरका संयोजक निमेष निखिल, प्रमुख संरक्षक मुक्तिगोविन्द वैद्यको आतिथ्यता रहेको कार्यक्रममा संस्थाका अर्का प्रमुख सल्लाहकार देवराज खरेलले संस्थागत परिचय तथा स्वागत गर्नुभएको थियो ।
यसै क्रममा संस्थाको आफ्नो वेबसाइट समेत सार्वजनिक गरिएको छ भने आजको कार्यक्रममा प्रतिनिधिमूलक रचनाहरू वाचन गरिएका छन् । सिस्नुपानी नेपाल मकवानपुरका अध्यक्ष राजकुमार लामिछाने, साहित्य संगम तथा मुक्तक मञ्च मकवानपुरका अध्यक्ष डीबी बर्तौला, देवराज तिवारी, सुशिल पराजुली र सर्जक सञ्जाल मकवानपुरका संयोजक निमेष निखिललगायत स्रष्टाहरूले रचना वाचन गर्नुभयो भने लालकाजी परियार र स्वस्तिका दाहालले गायन गर्नुभयो ।
कार्यक्रममा नगद रू. २५ हजार राशीको “मातृभूमि राष्ट्रिय पुरस्कार २०८०” वरीष्ठ संस्कृतिविद् तथा प्रज्ञा प्रतिष्ठानका पूर्व उपकुलपति प्रा.डा. जगमान गुरुङलाई समर्पण गरिएको छ । यसै अवसरमा संस्थाका कार्यसमिति सदस्य किशन पौडेलद्वारा स्थापना भएको नगद रु. ११ हजार १ सय ११ राशीको मातृभूमि लघुकथा रत्न सम्मान-२०७९ ‘लघुकथालय’ का सर्जक लघुकथाकार डा. विदुर चालिसेलाई समर्पण गरिएको छ ।
मन्तव्यका क्रममा महाकाव्यकार मुना अर्यालको दोस्रो महाकाव्य ‘महाकाश’ ओशोको जीवनी र व्यक्तित्वबारे लेखिएको विश्वकै पहिलो महाकाव्य रहेको संस्थापक अध्यक्ष तथा संरक्षक हयग्रीव आचार्यले बताउनुभयो । वर्षेनी थुप्रै साहित्य सर्जक तथा विभिन्न क्षेत्रमा महत्वपूर्ण योगदान दिनुहुने व्यक्तित्वहरूलाई सम्मान तथा पुरस्कार दिने यस मातृभूमिको आजको कार्यक्रममा साहित्य सर्जकहरू सुवास खनाल, केशव समर्पण, घनश्याम घिमिरे, जनार्दन खनाल, रजनी पौडेल, कुबेर पराजुली, स्वस्तिका बानियाँ, भावना सापकोटा, भवानी तिमल्सिना, चिरञ्जीवि लामिछाने आदिको उपस्थिति रह्यो ।
वडा नं. ४ हेटौँडा उपमहानगरपालिकाद्वारा प्रायोजन गरी पल्पसा प्याराडाइजमा सम्पन्न उक्त कार्यक्रमलाई मातृभूमिका महासचिव हेमन्त ढुङ्गेलले सञ्चालन गर्नु भएको हो ।