आश्विन ९, मकवानपुर ।
किताबघर हेटौँडाले पुस्तक प्रदर्शनी यात्रा सुरू गरेको छ ।
मंगलबार ‘किताबघर पुस्तक प्रदर्शनी यात्रा २०८०’ को पहिलो दिन कमाने एकेडेमीमा सुरू गरिएको अभियानमा चन्द्रोदय माविका विद्यार्थीहरू पनि जोडिएका छन् ।
प्रदर्शनी मकवानपुरका विभिन्न विद्यालयहरूमा पुग्ने सञ्चालक छवि अनित्यले बताउनु भएको छ । साथै उहाँले बालबालिकाको किताब मोहले ‘मोबाइल जेनेरेसन’ लाई थोरै भएपनि किताबसँग जोड्ने अपेक्षा रहेको जानकारी नवसाहित्यलाई दिनु भएको छ ।
बुधबार माउन्ट एभरेष्ट कमानेमा प्रदर्शनी गराउँदै विभिन्न निजी तथा संस्थागत हुँदै विविध सामुदायिक विद्यालयहरूमा अभिभावक, विद्यार्थी र शिक्षकहरूको साथ प्रदर्शनी गराइने र सबै पक्षलाई पढ्नका लागि प्रेरित गरिने अभियानको उद्देश्य रहेको छ ।
यसैक्रममा मकवानपुर बाल विद्या सदनका प्रिन्सिपल सुदीपराज गिरीले प्रत्येक विद्यार्थीको घरमा आफ्नो सानो पुस्तकालय स्थापना गर्ने र यस शैक्षिक सत्रको अन्त्यसम्ममा एउटा विद्यार्थीलाई कम्तीमा ७५ थान पुस्तक पढ्ने वातावरण बनाउने गरी विद्यालयले तयारी गरिरहेकोले शुक्रबार विद्यालयमा किताबघरको प्रदर्शनी हुने उहाँले जानकारी दिनु भएको छ ।
साथै किताबघरको यस अभियानमा असोज महिनाभर ८ विद्यालयहरूमा र सोपश्चात् अन्य विद्यालयहरूमा प्रदर्शनी हुनेछ । सोमध्ये जनप्रिय माविमा असोज १६ गते, रेडरोज इङ्लिश बोर्डिङ्ग स्कुलमा असोज १९ गते, प्रगति माविमा असोज २३ गते, बालजागृति इङ्लिश बोर्डिङ्ग स्कुलमा असोज २६ र जीएस निकेतन माविमा असोज ३० गते प्रदर्शनी सञ्चालन गरिने आयोजकले जानकारी दिएको छ ।
